IMG-LOGO

भ्यु टावरबाट

 मंगल, फागुन १३, २०८१  सविता बिमली

भ्यु टावरबाट पर–पर मात्र देखिन्छ नजिक हेर्न त जमिनमै पर्छ ओर्लिनु   ओर्ल र टेक जमिन !   तिम्रो अहंकारको भ्यु टावर बनाउन खनेका खाल्डा मात्र छन् यहाँ वर्षामा पानी भरिन्छ बालिका, किशोरी र नवयौवनाका चीत्कार, आँसु, रगत भरिन्छ   जमिन नसम्याई भ्यु टावर बनाउनु भनेको खुट्टा काटेर दौडिनुजस्तै हो ।   जुन दौडले पुर्‍याउँदैन कहीँ ! !   जहाँबाट घोराही, पिली, दोरम्बा देखिँदैन माडी, खलंगा, होलेरी, साँफेबगर, बेनी, कोटवाडा… केही केही देखिँदैन मुक्तिनाथ अधिकारी, काजोल खातुन, मैना सुनुवार, डेकेन्द्र थापा… कोही कोही देखिँदैन   सुस्ता देखिँदैन लिम्पियाधुरा देखिँदैन मिचिँदै गएका सीमा र दशगजा देखिँदैनन्   कोसीको कहरमा माटो नभेटेको कमलु सदाको एक फुटको लास देखिँदैन ।   भूकम्पका चोट र पहिरोका दंश देखिँदैनन्   संसारकै सर्वोच्च भ्यू टावरमा उभिएका तिमीले बनाएको भ्यू टावरबाट केचनकलन देखिँदैन, रतुवाको डुबान, बादीका पीडा, निर्मलाहरूका चीत्कार,   बुहारीमाथि आगो लगाइरहेका हातहरू, सिमानामा लुटिइरहेका यात्रु बाआमाका सुस्केरा, चिरा परिरहेका सम्बन्धका घाउ, विमानस्थलबाट भित्रिँदै गरेको सुन, मासिँदै र हराउँदै गएका सरकारी जमिन, डडेल्धुराका भिर, मनहराको मैलो पानी, राजधानीको ढलमा बगिरहेकी बालिका केही केही देखिँदैनन्‌   मात्र देखिन्छन् दलाल, ठेकेदार कम्बोडिया, भियतनाम, भेनेजुयला, क्युवा, स्विस बैंक, भर्जिन आइल्यान्ड   भ्यु टावरबाट भ्यु टावर उभिएकै जमिन देखिँदैन   भ्यु टावरबाट पर पर मात्र देखिन्छ ! ! नजिक हेर्न त जमिनमै पर्छ ओर्लिनु   ओर्ल र टेक जमिन !    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्