आँखाको नानी मुटुको टुक्रा देश यो महान आहुती दिई बचाई राख्ने पुर्खालाई सम्मान अमर सिंह बलभद्र अनि भीमसेन लडेर देशको माटो पवित्र राखे रगत दिएर ।१। देशको माटो बैरीले कुच्दा देशभक्त जाग्दछ खुकुरी हातमा लिएर वीर शिर तिम्रो ताक्दछ कुटिल बीज रोपेर यहाँ महान नबन विषवृक्ष रोपी सखाप बन्ने खाडल नखन ।२। व्वाँसोझैँ बनी सर्वस्व हर्ने कुचेष्टा तिम्रो छ छिमेकी छाती कुल्चने यत्न निष्फल बन्दछ पिएर पानी ओकल्छ आगो अस्मिता रक्षार्थ कुदृष्टि अनि कुकर्म सारा बन्दछन् अनर्थ ।३। अभिमान अति बढेमा सबको दुर्दिन आउँछ गुमाई विवेक हिंस्रक बन्दा मान सान गुम्दछ बुद्धको भूमि शान्ति दीप बाली सन्देश छर्दछ गौरव गाथा बचाई राख्न अगाडि सर्दछ ।४। (अर्याल पोलर स्टार आवासीय मावि भरतपुर–८ गौरीगञ्जका प्राचार्य हुन् ।)
