चैतन्यस्वरुप आत्मा सायद हामीभित्रको बिजब्रह्म होनि त्यही, ब्रह्माण्डीय ध्वनी र चालको अनुभुति गराउंछ स्थुल शरीरमा रही, आदेश दिन्छ त्यसैले मनलाई यो चाहिं कर्म गर् वा नगर् है भनि, सत्कर्म या कुकर्म जे गर्दछौं ब्रह्मको आदेश पालना हो त्यो पनि, आत्मा हो परमात्माको अंश पावरहाउसबाट घरमा ऊर्जा पुगेसरी, विजब्रह्मभै हामीभित्र यसैले काम गर्छ अदृष्य त्यो करेण्टलेझैं गरी त्यही ब्रह्मनै हो हाम्रो यो अन्तर्मनलाई शान्त वा विचलित बनाउने, जगतसंग साक्षात्कार हुंदा कित रमाउन वा मुन्टो बटार्न सघाउने, जब दैवीभाव अंगाल्छ यही ब्रह्मले हामी लाग्छौं सत्कर्म गर्नेतिर, आशुरीभाव अंगाल्दा उद्दत हुन्छौं र गर्छौं कर्म पछि निहुरिने शीर, हेर्दा ब्रह्म र मन एउटै होकि जस्तो लाग्दछ तर छ दुइमा भिन्नता, ब्रह्मले नै मन वुध्दि र विवेकलाई चलायमान गर्न पुर्याउंछनि मद्दत, चोरी गर्नु झुठो बोल्नु अधर्म हो तथापी ब्रह्मले जब उचित देख्दछ, त्यस्ता कर्म गर्न उद्दत हुन्छौं हामी जब हाम्रो ब्रह्मले आदेश गर्दछ, ब्रह्मको मूलरुप हरेक प्राणीमा एकै हो तर काया अनुसार भिन्न छ, हाम्रो वातावरण खानपान अनि संगतलेनै यहां काया पृथक बन्दछ, फुल एउटै हो कुनै चढ्छ मुर्तिमा कुनै लासमा त कुनै नेताको गलामा, हाम्रो ब्रह्मले पनि यसो गर् उसो गर् भनि अर्हाउंछ मौका हेरी बेलामा, आफुभित्रको ब्रह्मले जे गर् भन्छ त्यहीनै गर्न हौसिन्छन् मानिस सबै, ब्रह्मकै नित्य निर्देशन र नियन्त्रमा रहने रहेछ मन वुध्दि विवेक दुबै, सत्संग साधना र असलआचरणले स्व–ब्रह्मको पालन पोषण गरेर, तन र मनलाई शुध्द पारौं ब्रह्मले संधै डोर्याओस् सकारात्मक भएर ।
