आदिम, सभ्यताको घाँटीबाट अविरल बग्दै आएको म निर्मल पवित्र बागमती तिम्रा दुष्कर्मका पापहरू पखाल्दा–पखाल्दै दुषित भएको छु । तिम्रा पितृहरूलाई पिण्डपानी पिलाउँदा– पिलाउँदै काकाकुल भएर तड्पिरहेछु । मसँग अहिले जीवनको वेग छैन मेरा बहावमा कुनै उमङ्ग छैन मेरो जीवनको लय सकिएको छ म गतिहीन र निस्तेज भएको छु । मेरो काखमा आएर पौडिने स–साना भुराहरू खै कहाँ गए ? मेरो आँगनको डिलमा आएर साँझपख टरटर कराउने भ्यागुताहरूको सङ्गीत खै किन सुनिदैन ? मेरो छातीमा टेकेर तनतन पानी पिउन किन आउँदैन काकाकुल कौवाहरू ? तिम्रो सभ्यताको बुल्डोजरले मेरो स्निग्ध छातीमा लात हानेर उठाएको सम्पन्नताको महलभित्रबाट किन खस्छ मेरै आँगनको बलेँसीमा असभ्यताको लेदो ? किन विसर्जन हुन्छ मेरो वक्षस्थलमा दुषित वीर्यका थैलीहरू ? मेरो सार्वभौम अस्मिता माथि किन हुन्छ बारम्बार बलात्कार ? मेरो सौन्दर्यलाई तेजोवध गर्ने ती हातहरूलाई किन लाग्दैनन् हतकडी ? मेरो पाश्ववर्ती नीलकण्ठ किन मौन छन् किन बोल्दैनन् श्रापित बिरुपाक्ष ? हे ! नगरका शालीन भद्रहरू हो ! हे ! सिंहदरबारका मान्यवरहरू हो ! मलाई बाँच्न उन्मुक्त आकाश देऊ मलाई हाँस्न अलिकति सास देऊ म उत्कट जिजीविषा बोकेर बिरुप समयको भेन्टिलेटरमा धड्की रहेको यो इतिहासको एउटा जिउँदो साक्षी तिम्रो सभ्यताको धरोहर बूढो बागमती हुँ ! हेटौंडा–४
