शब्द–जाल बुन्नेहरूले असत्यलाई सत्य र सत्यलाई असत्य भन्नेहरूले जे भने त्यो पत्याउनु हुन्छ भने तपाईं पत्याउनु होस् तर, बाँण प्रहारको शिक्षा लिन बाँण युद्धमा प्रवीण हुन जात अनुसार विभेद गर्ने केवल क्षत्रीय राजकुमारलाई शिक्षा दिने आचार्य द्रोणको सम्मानमा मैले उनको प्रतिमा स्थापान गरेको होइन । मात्र, आचार्य द्रोणबाट अपमानित भएर उनीमाथि नै विजय हासिल गर्न उनलाई नै चुनौती मान्दै त्यो चुनौतीको हरपल स्मरण गर्न उनको प्रतिमा मैले स्थापना गरेको हो । हो, उनको प्रतिमाले नै मलाई प्रत्येक दिन प्रेरित गरेर उनीमाथि नै विजय प्राप्त गर्ने अविचलित लक्ष्यतिर डो¥याएर महान् धनुर्धर एकलव्य बनाएको हो । अचम्म ! मेरो प्रतिशोधको इतिहासलाई बङ्ग्याएर मर्यादाहीन कौरहरूको शिविरमा बस्ने पद लोलुप आचार्य द्रोणलाई महान् बनाइदिए सत्यलाई असत्य तुल्याउनेहरूले इतिहासको दिशा बदलिदिए कठै ! तपाईंहरूले पत्याउनु भयो पनि । हालः–अमेरिका
