IMG-LOGO

अजिबको अनुशासित कर्म हो लेखन’

 मंगल, असोज २३, २०८०  – प्रज्वल पराजुली

     प्रज्वल पराजुली सिक्किममा जन्मेर बेलायतमा उच्चशिक्षा प्राप्त गरेका अनि अंग्रेजी भाषामा नेपाली परिवेशका आख्यान लेख्ने स्रष्टा हुन् । उनले बेलायती प्रकाशनबाट ‘द गोर्खाज डटर’  कथासङ्ग्रह र ‘ल्यान्ड ह्वेर आई फ्ली’ उपन्यास प्रकाशन गरेका छन् । उनको ‘द गोर्खाज डटर’ कथासङ्ग्रह बेलायतको ‘डिलन थोमस प्राइज’ र अमेरिकाको ‘द स्टोरी प्राइज’ को मनोनयनमा परेको थियो  ।      त्यसैगरी उपन्यास ‘ल््यान्ड ह्वेर आई फ्ली’ फ्रान्सका ‘इमिल गिमेट प्राइज’ र ‘डेब्यु नोभल प्राइज’ को अन्तिम सूचीमा परेको थियो । पब्लिकेसन्स नेपालयले ‘द गोर्खाज डटर’ को नेपाली रूपान्तरण ‘गोर्खाकी छोरी’ प्रकाशनमा ल्याइसकेको छ भने ‘ल्यान्ड ह्वेर आई फ्ली’ को नेपाली अनुवाद ‘चित्रलेखाको चौरासी’ पनि भर्खरै प्रकाशन भएको छ ।  लेखक प्रज्वल पराजुलीसँग साहित्य सन्दर्भमा दिलीप ढकालले गरेको स्रष्टा–संवाद तपाईं सिक्किममा जन्मनुभयो । अक्सफोर्ड विश्वविद्यालयमा पढ्नुभयो । बेलायती प्रकाशनबाट कथासङ्ग्रह तथा उपन्यास प्रकाशन गर्नुभयो । यस सन्दर्भमा लेखकीय सङ्घर्ष अर्थात् प्रयन्तका सन्दर्भ बताउनुस् न ।      सबैभन्दा कठिन लेख्नु नै हो । लेखन सजिलो छ भन्नु खतरनाक कुरा हो । पढ्ने धेरैलाई लेख्न सजिलो लाग्न सक्छ । लेखनमा अजिबको अनुशासन चाहिन्छ, जुन जो कोहीमा हुँदैन । लेखक जबरजस्ती बन्न सकिँदैन । मैले लेखनमै पूर्णतः मिहिनेत गरें । प्रकाशनको यात्रा त्यति कठिन भएन । यो मामलामा आफूलाई भाग्यमानी ठान्छु ।      विदेशको व्यस्त दैनिकीबिच लेखन समय कसरी छुट्टयाउनुहुन्छ? तपाईंलाई मन पर्ने लेखकीय समय छ ? लेख्ने जाँगर चल्दा अरू केही काम गर्दिनँ । भरे डिनर प्लान छ भने पनि लेख्ने भाव आएको बेला छोडेर जान्नँ । मैले १६ घण्टा लगातार पनि लेखेको छु, ६ महिनासम्म लेख्दै नलेखेको पनि छु । लेख्नुअगाडि म यति धेरै सुत्छु कि लेख्ने क्रममा निद्रा मबाट टाढा भागोस् । मलाई मन पर्ने लेखन समय रात नै हो । लेखेरै रात बिताएका धेरै उदाहरण छन् ।      तपाईंको उपन्यास ‘ल्यान्ड ह्वेर आई फ्ली’ को नेपाली रूपान्तरण–कृति ‘चित्रलेखाको चौरासी’ आज बजारमा आउँदै छ । ‘ल्यान्ड ह्वेर आई फ्ली’ भित्र के छ, जसले पाठकलाई तान्छ ?      सिक्किममा बसोबास गरेर नेपाली भाषा, संस्कार–संस्कृतिको अवलम्बन गर्ने परिवारको कथा हो–ल्यान्ड ह्वेर आई फ्ली । यस उपन्यासमा मलाई मन पर्ने चरित्र ८४ वर्षकी चित्रलेखा न्यौपाने छिन् । हजुरआमाको चौरासीमा संसारभर छरिएर रहेका छोराछोरी, नातिनातिना जम्मा हुन्छन् । उपन्यासमा मसलेदार कथा छ । उपन्यासले समाज बोलेको छ । चित्रलेखाका माध्यमबाट पैसा हुनेहरूले कसरी राजनीतिमा प्रभाव पारेका हुन्छन् भन्ने पनि देखाइएको छ । चौरासी पूजा पूर्णतः नेपाली संस्कार हो । चौरासी पूजाको महत्वलाई पनि यहाँ देखाउन खोजिएको छ । त्यसैले नेपाली पाठकका लागि ‘ल्यान्ड ह्वेर आई फ्ली’ अर्थात ‘चित्रलेखाको चौरासी’ अत्यन्त सान्दर्भिक छ ।      विदेशमा बसेर अंग्रजी भाषामा लेखिएको उपन्यास हो ‘ल्यान्ड ह्वेर आई फ्ली’ । उपन्यासभित्र नेपाली सन्दर्भ, नेपाली पात्र, नेपाली संस्कार–संस्कृति प्रशस्त पाइन्छन् । विदेशमा बसेर नेपाली संस्कृति अनि नेपाली पात्रलाई लेख्न केले प्रेरणा दिन्छ ? धेरै लेखौं, अनगिन्ती देश, ठाउँ र सन्दर्भका कथा लेखौं जस्तो लाग्छ तर जहाँ सुकैका कथा लेख्न मान्छेले सक्दैन । बाहिरी विषयका बारेमा मान्छेको अध्ययन पनि पुग्दैन । आफूले जाने बुझेको विषय सहज रूपमा लेख्न सकिन्छ । मलाई पनि त्यही भएको हो । मैले हजुरबा, हजुरआमाको चौरासी देखेको छु । फेरि मलाई नेपाली संस्कार–संस्कृतिप्रतिको मोह छुट्टै भएकाले पनि मेरो लेखनको विषय वस्तुमा नेपाल पहिलो रोजाइमा पर्छ ।      तपाईंका नेपाली भाषामै लेखिएका लेखरचना प्रशस्त छन् । फेरि पनि किन अङ्ग्रेजी भाषाप्रति नै तपाईंको मोह ? मूल कृति नै नेपालीमा लेखेर अङ्ग्रेजीमा अनुवाद गर्दा के फरक पर्छ र ?      यो महत्वपूर्ण प्रश्न हो । मेरा कृतिका पात्र नेपालीमा बोल्छन् तर मैले अंग्रेजीमा लेख्नुपरेको छ । मलाई नेपाली भाषा भाषिक दक्खलतामा कमीका कारण जटिल लाग्छ । मलाई अंग्रेजीमा लेख्न सहज लाग्छ । भाषा जुनसुकै हुन सक्छ । भाषाभन्दा ठुलो कुरा कृतिभित्रको विषयवस्तु हो । विषयवस्तु नेपाली नै छ, पात्र नेपाली नै छन् । अंग्रेजीमा लेख्दा पनि नेपालीपन जीवित राख्ने प्रयत्न रहन्छ ।      तपाईंको कथासङ्ग्रह ‘द गोर्खाज डटर’ कस्तो कृति हो ? यो युरोप–अमेरिकामा धेरै पुरस्कारको मनोनयनमा प¥यो । यसको शीर्षकले नै नेपाली सन्दर्भ बताउँछ । अलिकति यस कृतिका बारेमा बताइदिनुस् न ।      ‘द गोर्खाज डटर’ कथासङ्ग्रह हो । मैले नेपालका नेपालीका बारेमा धेरै पुस्तकमा पढेको छु तर भारत, भुटान, लन्डन, अमेरिकाजस्ता देशमा बस्ने नेपालीका कथा पढेको थिइनँ । यस सङ्ग्रहमा यस्ता विदेशी भूमिमा बस्ने नेपालीका कथा लेखेको छु । यसमा मुख्य पात्र नारीलाई बनाइएको छ । मलाई फिमेल चरित्र लेख्न मजा लाग्छ । मैले भारतीय धेरै उपन्यासमा निरीह नारीका सङ्घर्ष धेरै पढेको छु । यस्ता पात्रको कथा पढ्दा मलाई सबल नारी पात्रको कथा लेखौंजस्तो लाग्यो । मेरो त्यही उत्कण्ठाको उपज हो‘द गोर्खाज डटर’ ।      विश्व साहित्यको परिप्रेक्ष्यमा नेपाली साहित्य कहाँ छ ? नेपाली साहित्यको गुणस्तरीयता कस्तो पाउनुहुन्छ ?      नेपाली साहित्य एकदम गुणस्तरीय छ । यहाँको पठन संस्कृति राम्रो नै छ । नेपाली भाषा(साहित्यको विकास हेर्दा खुसी लाग्छ । नेपाली साहित्यका लागि यो उर्वर समय हो । मलाई योभन्दा अझै राम्रो समय आउँछ जस्तो लाग्छ । नेपाली पुस्तकका आवरण, लेआउटमा पनि विदेशी पुस्तकमा भन्दा बढी गुणस्तर तथा मिहिनेत देखिन्छ । नेपाली साहित्य सिरियस छ । यो राम्रो कुरा हो ।      पश्चिमा पुस्तकका पाठक अनि त्यहाँको बजार र नेपाली प्रकाशनका साहित्यिक पाठक र यहाँको बजारमा के अन्तर पाउनुहुन्छ ?      सबै पश्चिमालाई एउटै बास्केटमा राख्नुहुँदैन । पश्चिमा देशलाई हेर्ने हो भने अमेरिकामा भन्दा युरोपमा पठन संस्कृति राम्रो छ । फ्रान्स, जर्मनीलगायतका युरोपेली मुलुकमा पठन संस्कृति अत्यन्त राम्रो छ । त्यहाँ अनलाइनमा पुस्तक किन्दैनन्, घण्टौं लगाएर पुस्तक नै खरिद गर्छन । यस्तो कल्चर अमेरिकामा मैले भेटिनँ ।      नेपालमा पनि अनलाइनले पठन संस्कृतिमा केही प्रभाव त पारेकै छ तर यहाँ गहन पाठ्यपुस्तकको पठन राम्रो भएको पाएको छु । टेक्नोलोजीको विकासले खास अध्येतालाई फरक पार्दैन । युरोपमा बस, ट्रेनमा यात्रा गर्दा अधिकांशले पुस्तक पढिराखेको पाइन्छ । यहाँ त्यसरी पढेको पाइँदैन । युरोपका तुलनामा नेपालमा पठन संस्कृति कम छ तर यहाँको सम्भावना राम्रो छ ।      तपाईंले पढेका कृतिमध्ये नेपाली साहित्यका मन पर्ने पुस्तक बताइदिनोस् न ? किन मन प¥यो  यी पुस्तक ?      मलाई इनद्रबहादुर राईका कृति मन पर्छ । मनपर्ने उपन्यास ‘आज रमिता छ’ हो । सानु लामाको ‘ज्योतिबिनाको उज्यालो’ कथासङ्ग्रहले गम्भीर प्रभाव पारेको थियो । नारायण वाग्लेको ‘पल्पसा क्याफे’ राम्रो लाग्छ । मलाई मिठो अनि सजिलो भाषामा लेखिएका कृति मन पर्छ । नेपाली कृतिमा देश अनि समाजको यथार्थको प्रस्तुति राम्रो लाग्छ ।      नेपाली पाठकलाई पठनका लागि सिफारिस गर्नुप¥यो भने कुनकुन पुस्तक सिफारिस गर्नुहुन्छ ?      यस्ता पुस्तक धेरै छन् । अरून्धती रोयको ‘गड अफ स्मल थिंग्स’ उपन्यास पढ्न सल्लाह दिन्छु । यसमा भाषाको सुन्दरता अद्भुत छ । त्यसैगरी आरएफ क्वाङको ‘यल्लो फेस’ सुन्दर छ । यसमा प्रकाशन उद्योगका जटिलताको यथार्थ राम्रोसँग देखाइएको छ ।      अहिले के लेख्दै हुनुहुन्छ ? अब तपाईंको कस्तो कृति पाठकले पढ्न पाउँछन् ? मेरा पुराना पुस्तक आख्यानमा केन्द्रित रहे । अब गैरआख्यान लेखनको क्रममा छु । यसमा पूवीर्य सभ्यताकै चिन्तन प्रस्तुत गर्ने छु । साभार ः (नागरिक दैनिकमा दिलिप ढकालले लिएको अन्तरर्वातावाट)    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्