खियाऔं कर्मका नंग्रा, बिबेक मनमा रहोस् दयाको पात्र बन्दै, मायाको खानीमा रहोस् । तिखारौं हातका नंग्रा, काँधमा जो मिलाइकन पौरखी बल विद्या छन्, तिम्रा नव जीवन।। टुसाओस प्रेमको आँकुर, दुःखीमाथि दया रहोस् राष्ट्र र अन्तराष्ट्रमा, नाम उँचा सधैं रहोस् । कीर्ति अर्ति यहीं बस्छन्, राम्रो कर्म ग¥यौं भने श्रीकृष्ण पनि रम्नेछन, गीता ज्ञान लियो भने ।। कुकर्म गर्ने होइन, बाचुन्जेल कतै पनि परिएलानी फन्दामा, फेरि नर्कलोकमा पनि । हेक्का मनमा राखी, जसले गर्छ सुकर्म यो सफल जीवनको लक्ष्य, बन्छ है सब कामको ।। नंग्रा हुन्जेल गरे काम, परिश्रमको फल मिल्दछ बाँचुन्जेल गरी खाने, ठूलो सफल मिल्दछ । विवेक बुद्धिको भारी, सधैं बोकी हिँडौं अब कर्मको हात खुट्टालाई तन्काउँ सधैं अब ।। सम्पूर्ण कलह क्लेश, त्यागी सबैले जब मात्र हुन्छ व्यक्तिको सफल जीवन सार्थक । झगडा लफडा हुन्छ सेवाको कर्ममा सधैं मिलनको सिन्धुमा डुबौं सुखपूर्ण डुबौं मनै ।। तसर्थ दया माया बिबेक मनमा रहोस् सबै हाम्रा कर्मका हात सधैं कर्ममा रहोस् ।।
