यो आकास च्यातिए के हुन्छ, नयाँ आकास बनाउँछु । यो धर्ती फाटिए के हुन्छ, नयाँ धर्ती बनाउँछु । यो जीवन व्यर्थ भएर के भयो, नयाँ जीवन खोज्नेछु । मेरा साथीसंगी छुटे त के भयो, नयाँ साथीसंगी बनाउँछु । किनकि म मा आत्मबल जागृत भएको छ । म त्यो पंक्षी पनि त होइन, जो नउडी जीवन बिताउने । म त्यो पंक्षी हुँ जो उडेरै नयाँ जीवन बिताउने । मेरो आत्मबलको अभ्यासबारे मलाइ नसोध । यस भित्र म के के पाउँछु । यस भित्र अरु त होइन म संसार पाउँछु । फेरि संसारमात्र हैन ब्रम्माण्ड पाउँछु, किनकि म भित्र आत्मबलको उद्बेग पाउँछु । यसैमा एउटा नयाँ संसार खोज्ने प्रयाश गरिरहेकोछु । किनकि म मा आत्मबल र बिश्वाश बढेको छ । तसर्थ यो भब सागर छुटे त के भयो?नयाँ सागर खोज्नेछु । म त्यो डुंगा होइन जो तैरिन सक्तैन त्यो किनारा पनि होइन जो किनारा लगाउन सक्तैन । निरन्तर अभ्यासले म भोलि संसार हैन ब्रम्माण्ड छोप्छु । अब युद्ध र झगडा नगर्न म शान्तिका घोडा दौडाउँछु । संसार मधुशाला बनी रहोस, म सधैं गरीबको साथ रहन्छु । कसैले गर्न नसक्ने काम गर्छु, संसार चकित पारिरहन्छु । एक्लो छु मानिसको भिडमा, तर आत्मबिश्वास छ मनमा । त्यसैले म एक्लो भएपनि संसारलाई हेर्छु र देख्छु । तर संसार भने मदेखि धेरै टाढा छ, म भित्रको “म” लाई बुझ्न नसक्ने भएको छ । मलाई थाहै भएन म भित्रको आत्मतत्व, कुनबेला साधक बनिसकेको रहेछ । हिजोसम्म आत्मालाई पछ्याउँदै हिँड्ने म मान्छे, आज त्यही आत्माले मलाइ पछ्याउँदै हिँड्न थालेछ । मेरो आत्मबिश्वास आज ठूलो भएको छ । बलियो भएको छ, बलियो भएको छ । यसैको जोडले म गरिबलाई धनी र पापीलाई धर्मात्मा बनाइ दिन्छु । सारा समुद्र सुकाई अफ्रिकाको उजाड मरुभुमी पानीले भरी दिन्छु । भोका नांगा म जस्तै कसैको छोरा छोरीहरुलाई टन्न खान दिन्छु । एक ठाउँमा बस्न दिन्छु र सिपको तालीम दिन्छु । किनकि म मा आत्मबल छ । त्यही आत्मबलले बुद्ध ‘बुद्ध’ भए, लाओत्से ‘लाओत्से’ भए । कबीर कबीर’ बने भने, क्राइष्ट क्राइष्ट’ बने । र, विश्वलाई मार्ग दर्शन गर्न सफल बने । मेरो आत्मबलको बुझाइले पनि मलाइ त्यो बिन्दुमा नर्पुयाउला भन्न सकिन्न । किनकि आत्मबल स्वयम परमात्माको शक्ति हो । जसले सबैकुराहरुको जीत हासिल गर्न सक्तछ । तसर्थ संसारका मानिसलाई आत्मबलले यो भन्दछ कि, एकचोटी मलाइ जीतेर त हेर, विश्वमा तिमि कति शक्तिशाली बन्दछौं । त्यसैले त म आजकल पानीमा हिँड्न थालेको छु । आगोमा दौडिन थालेको छु । हावाखाएर बाँच्न थालेको छु । प्रेम र करुणामा रुन थालेको छु । बिशाल आकास निल्न थालेको छु । बिशाल ज्ञान ओकल्न थालेको छु । बिशाल हृदयको गुफामा लुकी, बुद्धिको पराकाष्ठामा पुग्न खोजेको छु । कहिलै पनि नदेखिने सत्यको खोजी गरी, दुनियाँलाई दिने प्रयास गरिरहेको छु । समयले म सबै भयबाट टाढा भएको छु, मनमनै म बिशाल पृथ्वी देख्दछु । सारा संसारलाई एकै ठाउँमा राख्ने प्रयाश गर्दछु । अन्त्यमा म आफू जन्मेको भूमिमात्र होइन । आफू जन्मेको बिश्वनै खोज्दछु । किनकि उदेश्य के लिनु उडी छुन चन्द्र एक’ आज मेरो आत्मबल र विश्वाशले, सारा देशहरुलाई एक देख्दछु । सारा मानवलाई पनि एकै देख्दछु । सबैलाई अभागी हैन भाग्यमानी देख्दछु । किनकि म आत्मबलको शिष्य होइन साधक बनेको छु । तर यो मेरो आत्म विश्वाशको घोडाले, एक दिन मलाई कहाँ पु¥याउने हो त्यो हेर्न बाँकी नै छ ।
