मायाको रसले भरेर मनको ढोका उघार्नू छिटो तीतो जीवन लाग्न सक्छ कहिले माया सदा नै मिठो छर्दै मग्मग त्यो सुवास अहिले आफू रमायौ कता मेरो जीवनमूल्य कत्ति नबुझी हातै समायौ कता । तिम्रो दिव्य मुहारको झलझली छन् सम्झना नेत्रमा तिम्रो जीवन मस्कियो मगमगी त्यो फूलको पत्रमा मेरो हालत सोध्छ हेर कसले प्यारी तिमी छौ कहाँ माया घट्छ कहाँ र एकछिनमै प्यारी भई दूरमा । झल्केको रविझैँ दुई अधरमा बाँकी छ त्यो चुम्बन जाऊँ भन्छ त्यतै त्यतैतिर अहो धड्केर यो धड्कन तड्पी बाँच्नु र मर्नुमा फरक के छुट्याउनू ईश्वर तिम्रो आउँछ याद एकसुरमा हे बैँसकी सागर । गालामा छ गुलाबको रहरिलो सम्झिन्छु लाली त्यही लालीको पछि दौडिएँ तर अहो झेली र जाली त्यही जे होस् आउँछ सम्झना हृदयमा एकान्त टोलाउँछु निन्द्रामा कहिले झल्याँस्स बिउँझी प्यारी म बोलाउँछु । बिर्सेको छु कहाँ डुली असनमा माया लुकी लाइयो यो माया रमाइलो छ कि भनेँ झन् दुःख पो पाइयो एकाएक अहो कुनै समयको यौटा कहानी गयो तिम्रो चुम्बन पर्खिईकन बसेँ आधा जवानी गयो तिम्रा कोमल अङ्ग छुन्छु कहिले लाग्यो गुलाबी परी मेरो यो गुँडमा लुकीकन कतै आऊ न रानीचरी मायाको जुन देश होस् अब छिटो उड्दै त्यहीँ आउँछु माया हुन्छ र भूतपूर्व कहिल्यै भन्दै म चिच्याउँछु ।
