IMG-LOGO

म हुनुको साँचो अर्थ तिमी

 मंगल, सावन ९, २०८०  – सुष्मा दाहाल

तिमीसँग छुट्टिनु भनेको म आफैसँग अलग हुनुरहेछ..... हराउनु रहेछ.... गन्तव्यहीन झैं निस्सार, निस्सार उड्नु रहेछ निर्जन आकासमा कुनै उन्मुक्तिको उल्लास बिना नै बेग मार्दै उडेको काकाकुल जस्तै .... च्यातिनु रहेछ धक्क धक्क धड्किरहेको मुटु बिचबाटै धाँजा फाट्नु रहेछ ।   यदि होइन भने , तिमीसँग छुट्टिएपछि किन बिहान सदा झै ब्यूटिफूल मर्निङ बनेर आएन ! ? दिन किन शुभ दिन बनेर आएन ! ? साँझ किन सुन्दर गोंधुलीको यादगार समय बनेर आएन ! ? रात किन सदा झैं आनन्द , निन्द्रा र सपना लिएर आएन ! ? मेरो भान्छाघरबाट देखिने त्यो पारिको क्षितिज किन सधै झै लालम्य बनेर खुलेन ! ? मेरो शिरमाथिको आकाशले किन वायुपङ्खी बुट्टा भरेन ! ? किन रिमझिम असारे झरीको लयमा गाएनन् किरकिटी र झ्याउँकिरीहरु ! ? किन फर्रर रङ्गीन पङ्ख फिजाएर नाचेन मयुर,रानीवनमा ! ? किन बोलेन कोइलीले कुहुकुहु आवाज ! ? किन तप्किएन कर्कलाको पातमा मोति झैं टलपल टलपल शीतको थोपा ! ? किन अडिएन मेरो मन तिमीसँग थकाइ मारेको चौतारीमा ! ?।   तिमी साथ हुँदाको समय भन्दा किन बेग्लो अनि फरक अनुभुतिको महसुस भयो मलाई ??।   भन प्रिये के तिमी म थियौ ! ? म हुनुको आभाष थियौ ! ? मैले टेकेको जमिन र देखेको आकास थियौ ! ? यदि यो प्रश्न निरुत्तरित रह्यो भने‘। हराएको म भेट्टाउन फेरि तिमीलाई खोज्नुपर्नेछ,हराउनुपर्नेछ म फेरि आफैंबाट धेरै टाढा जहाँबाट फर्किने कुनै निश्चितता रहन्न, यदि यसो होइन भने फेरि समयले उत्सर्गित बनेर तिमीलाई मसँग मिलाउनु पर्नेछ ! नत्र म अस्तित्व र इतिहास दुबैबाट मेटिनेछु ।   त्यसैले त प्रिये मेरा हर प्रश्नहरुको सहज र सटीक जवाफ बनेर मेरो सामु टुप्लुक्क झुल्किदेऊ है जसरी औंशीको अँध्यारो चिर्न जून झुल्किन्छ...... सुन्दर दिनको आभाष दिन घाम झुल्किन्छ ।।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्