कठै जिन्दगी ! धारसित दोधार छ किनकि जीवनसित बहकिने मन छ धारभित्र ममता खोज्दै हराएको माया बटुल्दै रमाएको अनपत्यारिलो छ जीवन धारको निर्दोषिता मन मान्दैन दिक्भ्रमित मन द्विधामा बाँडिन्छ धारले नकाटेको इतिहास कतै छ र ! उफ ! यो पागल मन उस्को निर्दोषिता खोज्दैछ । मनको औजारभित्र अनगिन्ती बहुरुपी धारहरू छन् जो देखिंदैनन् र लेखिएनन् संसारको विचित्रतामा जावो मान्छे असहाय बबुरो बन्छ कहिले नामोनिशान मेटाउने चोटहरूबाट त कहिले मृदुवाणीका छद्मी स्नेहबाट प्रताडित छ मायारुपी जालको पंजा अदृश्य छ र पनि रेट्न सक्षम छ अचम्म छ ! देखिनेभन्दा नदेखिने धार कति गुना शक्तिशाली छ र त उसको राज अनवरत् छ समीप आउनु पर्दैन उ टाढैबाट धार लगाउन सक्षम छ र पनि यो मन पत्याउँदैन । भन्छन् जिन्दगी खुकुरीको धारमा छ मानौं त्यो एक बिम्व हो खुकुरी मात्र हैन अनेकौं औजार छन् जो दृश्यरुपमा मानव शरीर टुक्राटुक्रा पार्छन् तर यहाँ हजारौं अदृश्य धारहरू साँध लागेर बसेका छन् तिनीहरू चोटरहित धार चलाउँछन् ए मानवहरू ! तिमीहरूको मानवता माया, ममता र अनन्य स्वधर्मिता गिल्लि गर्दै धारीलो धारले धारेहात लगाउनेछ । धारको बहुरुपी आवरणबाट जोगिन शदिऔ ंदेखि प्रयासरत छ धारसित दोधार नबनौं गर्दन काटिने धारभन्दा मन काटिने धार शक्तिशालि छ र पनि मनको बिर्को खोलेर पत्याउने मन अझै बेखबर छ ।
