जिन्दगीको जस्केलोमा अल्झिएर अहिलेसम्म अलिकति बाँकी रहेको आफ्नो अद्वितीय अनमोल अस्तित्वको जमानत जफत हुनबाट जोगाउनैका लागि अरुको अलिखित अस्तित्वलाई अस्वीकार गर्दै संवेदनशील समयको आँखिझ्यालमा बल्झिएर तामसिक षड्यन्त्रका गोटीहरु चालिरहेका छौं ‘ओभरलोड’ भएकै कारण ‘फ्युज’ गएको इज्जतसङ्गै ‘ब्ल्याकहोल’लाई नै चटक्कै बिर्साइदिने गरी क्रमशः भ्वाङ पर्दै गइरहेको आफ्नै जिन्दगीका सदैव अति व्यस्त भइरहने राजमार्गहरूलाई हुरीले सोहोरेर नलगेका पातपतिङ्गरहरूले टालिरहेका छौ ! अहिलेसम्म आफुले चाहेर पनि एउटै माखो मार्न नसकेपछि अरु कसैले केही गरिरहेको देखेर हुनुसम्म औडाहा भएसङ्गै माखीपित्ते चित्तमा असीमित कुण्ठित साँढे पालिरहेका छांै बगरको बालुवामा चिसो पानी खन्याएर अहिलेसम्म पनि चाहिनेभन्दा नचाहिने कुराहरूमा हात हालिरहेका छौ ! हावामा हल्लिरहनेगरि आलिसान महल खडा गरेर बरफ बनेर बसिरहेको पानीमा आगो बालिरहेका छौ र, आफ्नै जिन्दगीको सर्वाधिक अमूल्य समयलाई अहिलेसम्म पनि त्यत्तिकै खेर फालिरहेका छौ ! प्रिय दुश्मन ! त्यसैले अचेल मलाई यस्तो लागिरहेको छ – तिमी त साँच्चिकै बौलाउन थालिरहेका छौ ! सानोतिनो कुरामा अल्झिएर निहुँ खोज्न थालिरहेका छौ पाइलैपिच्छे बल्झिएर झगडाको बीउ खोज्न थालिरहेका छौ ! नदुखेको कपाल डोरी लगाएर दुखाउन थालिरहेका छौ खहरे जस्तै सम्झिएर होला आँधिखोलालाई दुवाली थुनेर चिप्रिक्कै सुकाउन खोजिरहेका छौ सबैलाई आफुजस्तै सम्झिएर चुकाउन खोजिरहेका छौ ! आस्थाका सतिसालहरूलाई झुकाउन खोजिरहेका छौ आत्मियताको डोरीका पोयाहरू फुकाउन थालिरहेका छौ जाँगरिलो जोगीले जस्तै दुनियाँका दैलाहरूमा चहारेर बिनाकारण भोटे कुकुरहरूलाई भुकाउन थालिरहेका छौ र, पनि फेरि बिरालोले आफ्नो आची लुकाए जस्तैगरि तीतो यथार्थलाई भ्रमको पर्दाभित्र लुकाउन थालिरहेका छौ ! प्रिय दुश्मन ! त्यसैले अचेल मलाई यस्तो लागिरहेको छ – तिमी त साँच्चिकै बौलाउन थालिरहेका छौ ! सानै उपलब्धिमा पनि खुबै रमाउन थालिरहेका छौ बकम्फुसे कुरोको चुरो समाउन थालिरहेका छौ क्रमशः धुमिल हुँदै गएपछि आफ्नै नामको इतिहास दिनप्रतिदिन बदनामी कमाउन थालिरहेका छौ लगौटिया यारहरुको भजन मण्डलीहरुमा मात्रै आफ्नो असीमित प्रभाव जमाउन थालिरहेका छौ ! प्रिय दुश्मन ! त्यसैले अचेल मलाई यस्तो लागिरहेको छ – तिमी त साच्चिकै बौलाउन थालिरहेका छौ ! अन्धभक्त लम्पटदास झोलेहरूलाई मात्रै मनैदेखि औधी मन पराउन थालिरहेका छौ आलोचना शब्द देखेरै डराउन थालिरहेका छौ आफ्नै जिन्दगीका प्रत्येक पल प्रतिपलहरूसङ्गै आफ्नो सुरमा आफैँ हराउन थालिरहेका छौ आफ्नै छाया देखेर डराउन थालिरहेका छौ ! प्रिय दुश्मन ! त्यसैले अचेल मलाई यस्तो लागिरहेको छ– तिमी तँ साँच्चिकै बौलाउन थालिरहेका छौ !
