गद्यात्मक संरचनामा पर्ने कथामा अन्तरमनको अभिव्यक्तिलाई प्रस्तुत गरिन्छ । आख्यानमा पर्छ कथा । मानव जीवनकै सचित्र प्रस्तुत गर्नसक्ने खुवी हुन्छ कथामा । संसारलाई देख्न सक्ने दुर्विन हुन्छ कथामा । नेपाली साहित्यको लोकप्रिय विधा कथा आफैंमा पूर्ण संरचना हो । पनौतीकी मीरा चापागाई(पौडेल) काभ्रेको महिला शसक्त हस्ताक्षर हुन् । उनी कथा,कवितामा कलम चलाउँछिन् । लामो समयको शिक्षण सेवावाट अवकाश लिएर हाल विभिन्न संघसंस्थामा समेत आवद्ध भई सक्रिय सार्वजनिक जीवन विताइरहेकी छन् । देखेको कथा मीराको पहिलो कथा संग्रह हो । देखेको कथा भित्र कालीदेखि केरासम्म गरी ३० वटा कथाहरु समावेश भएका छन् । समाजको विभिन्न पक्षहरुले उनको कथामा स्थान पाएका छन् । समाजका विभिन्न जीवनशैलीको झाँकी कथामा भेट्न पाइन्छ । उनका कथामा महिलाको कुरा छ ,पुरुषको कुरा छ । गरिवी र अभावका जिन्दगी जिउनेको ब्यथा छ । कथाकार आफु भोगेको सिंगो जीवनका उज्याला र अध्याँरा पक्षहरु राख्छिन् कथा मार्फत । गरिवी बोल्छन् कथाले । अभावलाई ओकल्छन् तिनले । काली एक आम नेपाली नारीको प्रतिनिधित्व गर्ने कथा हो । पच्चीस बर्षकी लक्का जवान काली उसको पति गोरे महिला हिंसा गर्ने पात्र । उसको हिंसा सहन गर्न नसकी घर त्याग्छे काली अर्कैको मायामोहमा फस्न पुग्छे । उसको गोरे पट्टीको छोरा सहित स्वीकार गर्छ अर्धवैसले । कालीले छोरी पाउँछे पहिलेको छोरालाई कुटपिट र यातना दिन्छ । फेरी दोजिया हुन्छे काली । लगेर भिडियो एक्सरे गर्दा छोरा रहेछ । यदि छोरा नभएको भए एभोर्सन गर्ने अर्धवैसको चाहको रहस्य खुल्छ उसका पहिले नै पाँच जना छोरी भएको । छोराको चाहमा कालीलाई विहे गरेको रहेछ उसले । यो कथाले समाज अझै पितृसत्तात्मक सोचबाट ग्रस्त भएको बताउँछ । धनीबाट जवरजस्तीमा परेकी नावालिका सान्नानीको कथा हो समाज । हाम्रो नेपाली समाजमा थुप्रै सान्नानीहरुले त्यो अवस्था बेहोर्नुपरेको छ । प्रेम नजानिदै हुन्छ,हेर्दा हेर्दै हुन्छ तर समयमै अभिव्यक्त गर्न सकिएन भने आफुले मन पराएको मान्छे अर्काको भैजान्छ भन्ने भाव छ दुखेको मनमा । अर्काे कथा होटल धनीको छोरी र कामदारको सफल प्रेम कथा हो । धनभएपछि सातखत माफी पाइने भन्ने नेपाली समाजको यथार्थतालाई यसले उजागर पनि गरेको छ । यौनप्रतिको आशक्ति छ शर्मिलामा । जवानीमै विधवा हुनुको पीडा छ । यस्ता घट्ना नेपाली समाजमा हजारौं छन् । बाल विधवा कान्छीको कथा छ मनपरेपछि मा । बाबु आमा बाल्यकालमै गुमाएकी ठूलीमैयाँ आन्तरिक मनको सन्तुष्टीको लागि धर्मको सहारा लिन्छे । तर आत्मसन्तुष्टी पाउँदिन । एकातिर भाईबहिनी सहितको पारिवारिक जिम्मेवारी अर्काे तिर चञ्चले जवानी । जागिरको खोजीमा हिडेकी उसले एक महिला भेट्छे । जागिर लगाइदिने मेडम सँगै बस्छे । उनीहरुको मिल्ति प्रेमिप्रेमिकाको भन्दा चर्काे छ । तर जव विहा हुन्छ ठूलीमैयाँको तव मेडम तनावमा हुन्छे । ठूलीमैयाँ कथाले उनीहरुको सम्बन्ध बारे पाठकलाई सोच्न वाध्य गराउँछ । अनुमान गर्न पाठकलाई नै छोड्छ । उनीहरु समलिंगी थिए ?या अरु नै केही ? रहस्यमय कथा हो यो । अनमेल विवाहको कथा हो दोष कसको ?जवानीमै श्रीमानको मृत्यू भएपछि सरिता आफ्नो बालसखा सँग नजिकिन्छे र अन्तत्वगोत्वा सँगै बस्छन् । तर समाज कुरा काट्छ । मुखिनीको निर्णय कथा महिलाको पुर्नविवाहसँग सम्बन्धित छ । हाम्रो संस्कार अचम्मको छ पतिले पत्निको मृत्यु हुनासाथ अर्की पत्नि विहा गर्न हुने तर पत्निले गर्दा आलोचनाको पात्र हुनुपर्ने कुरालाई कथाको विषयवस्तु बनाइएको छ । मान्छेभित्रको लालचीपनाको कथा हो लोभ । ढोंगी चरित्रका हरिबा को कथा छ यसमा । घरेलु हिंसा पिडित महिलाको कथा हो डिपो । भागी विवाह गरेर पनि लोग्नेको अत्याचार सहन नसकी बच्चाहरु लिएर शहर पस्छे शान्ती । दुःख गरेर बच्चा पढाउँछे ,उसको जिन्दगीमा बिर्खेको आगमन हुन्छ उसैसँग बच्चा सहित बस्छे । तर छोरीलाई पनि विर्खेले आँखा लगाएको सहन नसकी त्यहाँबाट अर्कै ठाउँमा बच्चा सहित बस्छे तर डिपो सूई लगाइहन्छे । यस कथाले महिलाको यौनइच्छा कस्तो हुन्छ भन्ने कुरालाई उजागर गरेझैं लाग्छ । उपचार गर्न आर्थिक अभावमा गाह्रो हुने भन्दै नेपालको स्वास्थ्य क्षेत्रको स्थितिलाई रोग कथामा चित्रण गरिएको छ । विरामी रोगले भन्दा खर्च गर्न पर्ने पैसा जुटाउन नसक्दा गल्दै जाने कुरालाई कथाले समेटेको छ । बर्तमान नेपाली राजनीतिको तीतोसत्य उजागर गरेको छ नेता कथाले । यसमा राजनीतिमा लागेर सम्पन्न बनेका नेपाली नेताप्रतिको तीखो ब्यँग छ । जोगिनी आमाको कथा हो जोगी । कोरोना कहरको समयको कथा भोक जसमा एउटा बालिकाले खाना खान नपाउँदाको पीडा पोखिएको छ । अनौठो प्रेम र चाहको कथा हो सहमति । पाठकलाई अनौठो लाग्न सक्ने कथा छ यसमा । बाजे कथाले एउटा लालची र रुढीबादी पंडितको चरित्र चित्रण गरेको छ । मन मनै हो जस्तो सोच्यो त्यस्तै हुन्छ अर्काको सन्तान पनि आफ्नै जस्तो मानेर माया ममता लालनपालन गरिएको कुरा छ यसमा । कमाइ कथाले श्रीमानलाई काम गर्न दवाव दिइरहने महिलाको ब्यवहार प्रस्तुत गरेको छ । महिला अधिकारकर्मी आफ्नै पतिवाट हिंसामा परेको कुरालाई उजागर गरेको छ समानताले । जातिय पर्खालको कुरा गर्छ जात कथाले । आफ्नै परिवारको मान्यवरले नातिनी बुहारीलाई लगाएको गिद्दे नजरको कथा गिद्दे आँखा । अबुझ कथाले यथार्थ नबुझी गरिएको सोचाइ र काम सफल हुन्न भन्छ । साहु नाम जस्तै मन भएको हुन्छ भन्ने भाव दिन्छ । धनीलाई धनको लोभ धेरै हुन्छ भन्ने कुरालाई चित्रण गरिएको छ यसमा । मायाप्रेम रुप,धन दौलत र बैभव भन्दा माथि हुन्छ भन्ने कुरालाई दर्शाउन खोजेको छ माया कथाले । जहाँ सुन्तलीको शारीरिक अशक्तता हुँदा पनि नितेशले उसलाई माया गरेको हुन्छ । पीडा कथामा पत्निको पछिल्लो ब्यवहारको कारण दुखित हरिभक्तको कथा छ त्यहाँ । सौतेलो मामला भएपनि बच्चाहरु आफ्नै सरह गरेर हुर्काएकी गोमा पछि विग्रेको ब्यथा छ । नेपाली समाजमा अप्ठ्यारो पर्दा आर्थिक सहयोग गर्नेले फिर्ता नगरेका धेरै उदाहरण मध्येको एक हो सापटी हो । अनाथ बालकको कथा हो पश्चाताप जहाँ कथाकारले एकछाक खान नदिएकोमा पछुताउ मानेकी छन् । केरा कथा स्वप्न कल्पना जस्तो लाग्छ मीठो छ । कुनैपनि विषयबस्तुलाई सहज ढंगले,सरल शब्दहरुको प्रयोगबाट कथा संरचना गर्नसक्ने खुुवी भएकी कथाकार हुन् मीरा । साना साना घट्ना वा दृष्यलाई कथामा अनुवाद गर्न सक्ने सिपालु लाग्छिन् उनी । विविधतायुक्त नेपाली समाजका सामाजिक, राजनीतिक, पारिवारिक, साँस्कृतिक लगायतका पक्षहरुलाई कथामा उन्न सकेकी छन् । उनको कथा प्रस्तुतीमा मार्मिकता झल्कन्छ । समय बोल्छ । सत्यताको प्रकटिकरण गर्छ । मानवियता दर्शाउँछ । दुःखले पिरोल्छ उनलाई । आम भुँइमान्छेको कथा ओकल्छिन कतै त कतै विद्रोहको राँको बाल्छिन् । धेरै जसो कथा संवेदनात्मक र ह्रदय छुने छन् । देखेको कथालाई कथाको फूलबारी मान्न सकिन्छ किनकी समाजका विभिन्न अवयवहरुको विभिन्नताको छनक पाउँन सकिन्छ । समाजभित्र देखे भोगेका र नजिकबाट नियालेका विषयबस्तुलाई कथामा बदल्न सकेकी छन् मीराले । मीरा चापागाईका कथाहरु हेर्दा लाग्छ जुन कुराले उनलाई चिमोट्छ,जुन कुराले उनको मन छुन्छ त्यहि कथानकता टपक्क टिपेर कथा बुन्छिन् उनी । सामाजिक कथा भन्न सकिन्छ उनका कथा । कथाको भाषा पात्र ,समय र परिवेश अनुकुल नै देखिन्छ । कथाले पाठकलाई तान्छ । सरल भाषाशैली भएको हुँदा सामान्य लेखपढ गरेकाले पनि कथालाई बुझ्न सक्छन् । पात्रहरुको चरित्र निर्माण र प्रस्तुतीकरण राम्रै छ । कथानकको बुनोट मध्यम लाग्छ । घट्नाहरुको प्रधानता पनि मध्यम नै लाग्छन् । लघुकथा जस्तै लागेपनि लघुकथा भन्दा अलिक लामा छन् कथा । छोटा कथाहरु एकै निमेषको बसाईमा पाठकले पढिसक्छन् । समयको अभावमा पनि कथा पढ्न सकिने छुट छ पाठकलाई । सरल बनबाटिकामा विचरण गरेजस्तो लाग्ने, जीवनचेतले भरिएका, समसामयिकतालाई लछप्पै डुवाएर कोरिएका कथा छन् । लाग्छ कथाकारले आफु बाँचेको समयलाई राम्रैसँग नियालेर हेरेकी छिन् । समयको घाउलाई कोट्याएकी छिन् । विषयगत विविधतायुक्त कथाहरु समय सन्दर्भलाई उजागर गर्छन् । यहाँ जीवनप्रतिको आशा छ । महिला हिंसाका उदाहरण छन् । धर्म र संस्कृतिका प्रहार पनि छन् । मायाप्रेमका कुरा,संघर्षका पीडा सबकुरा कथाहरुमा अटेका छन् । विकृति र विसंगतिमाथि कथाले बोलेका छन् । सबैजसो कथाहरु यथार्थवादी धारमा बगेका छन् । लघुकथा झैं लाग्ने छोटा कथाहरुको माला देखेको कथाकी कथाकारलाई हार्दिक सुभेच्छा सहित बधाई ।
