आफ्नै स्पन्दनहरूले रचेर गीत जिन्दगीको आफ्नै ढुकढुकीले हालेर संगीत जिन्दगीको आफ्नै गुन्गुनाहट्ले गाइरहेछु गीत जिन्दगीको कुनै धूर्त ईश्वरले भरेकोभए धून जिन्दगीको कुनै पातकी राजाले गाएकोभए गीत जिन्दगीको कहाँ पाउँथेँ आफैँले गाउँन मेरो गीत जिन्दगीको? ठीकै गरेछु, नदिएर नांगो देउतालाई संगीत भर्न जिन्दगीको राम्रै गरेछु, नदिएर कालो शासकलाई गाउँन गीत जिन्दगीको नत्र, मैले घाम-छायाँसँग लाप्पा खेल्दाको लय र ताल सुनिन्थे’न संगीतमा यो जिन्दगीको नत्र, पसिनाको देउरालीमा टाँगेको झण्डाजस्तो फर्फराउँथे’न आरोह-अवरोह यो जिन्दगीको धेरैभयो गाएको तीतो-पीरो र अमिलो जिन्दगीको दुःखको हिमाल बोकेर त दिनरात गाउँनै पर्थ्यौ सुखको रक्तचाप पनि गाउँनै पर्यादछ गीत जिन्दगीको कहिले साथीभाइसँग प्यालाको रक्सिझैँ छचल्किँदै कहिले पाखण्डीहरूसँग पौँठजोरीका मुठभेडमा हार-जीतको तरवार-युद्ध पनि लडेँ जिन्दगीको जताततै फैलिएका अचाडु नियत विरुद्ध इन्क्लाबको दावानल पनि गाएँ यही जिन्दगीको मानेँ कि हार्मोनियमको कुनै शास्त्रीय नोटमा ठ्याक्क मिलाएर गाउँन सकिन होला के भो त? मैले आफ्नै स्वर-स्केल गाएँ जिन्दगीको पीडाको मौसमी कुहिरोभित्र निसास्सिएको बखत चट्याङको अग्निझिल्को पनि गाएँ जिन्दगीको था’थिएन, लडाइँ त जीवनभर खेल्नुपर्ने खेल रै’छ तर, किमार्थ टेक्न दिईन कतै घुँडा जिन्दगीको हो, कदापी गाईन पीठ फर्काई भाग्ने गीत पनि जिन्दगीको
