पानी जीवन हो र जीवन सधैँ पानी बनी बग्दछ पानीका लहरीसँगै लहरिँदै यो जिन्दगी चल्दछ कैले पङ्कजतुल्य जीवन सदा देखिन्छ पानीनिर मानौँ चुम्बकले फलाम सहजै तान्दै छ आफूतिर । कुण्ठा हृत्पटमा जमेर रहँदा खुल्दैन मान्छे जब पानी आँसु भएर नेत्रपुटमा बर्सन्छ आई तब पानीले मन–कल्मषादि पनि ता धोई सफा गर्छ रे पानीबाट वियुक्त जीवन त्यसै वैलाउँदै मर्छ रे । गोली लाग्दछ ढल्छ वीर सहसा त्यो युद्ध–मैदानमा पानी ! फुट्दछ शब्द क्षीण स्वरमा बाँच्ने नयाँ आसमा पानी जीवन साथसाथ रहँदा फक्रन्छ रे सिर्जना वासन्ती नवपालुवा सँगसँगै जन्मन्छ रे कल्पना । पानी ब्रह्मस्वरूपमा रहिदिँदा थिग्रन्छ रे जिन्दगी पानी अद्भुत प्राणतत्त्व नभए सिद्धिन्छ रे जिन्दगी जिस्क्याए विषरूपमा बदलिई पानी स्वयं हिंस्रक बन्दै जीवन हर्छ रे सकलको मान्दै नमानी धक । पानी दूध बनेर मातृउरमा प्रच्छन्नतापूर्वक ख्यालैमा नवजात चारु शिशुको त्यो गर्छ रे स्वागत पानी बग्छ शरीरमा रगत भै आजन्म उस्तै गरी पानीभित्र रहेछ अद्भुत कला भन्नै नसक्ने गरी । पानी बीज भएर सृष्टिपथमा यात्री बनी हिँड्छ रे पानी प्रेम र कर्ममा हरपला संयोजना गर्छ रे पानीभित्र असीम शक्ति नभए के जिन्दगी चल्दथ्यो ! मातामा यदि दुग्धकुण्ड नभए यो सृष्टि के गर्दथ्यो ? जिब्रो शुष्क भएर बोल्न नहुँदा पानी छ बोलाउने प्रीति–प्लावन वक्षमा भइदिँदा पानी छ लोलाउने पानीमा हिउँ हाँस्छ रे अनि उता उल्लासमा निर्झर गर्छन् स्वागत रे अजस्र दिलले फर्केर हामीतिर । पानीका कणबाट शुभ्र रङमा विद्युच्छटा बल्दछ त्यै विद्युन्मय ज्योतिमा चहकिँदै यो जिन्दगी चल्दछ पानीले तनका शिरा र धमनी छन् सर्वदा सिञ्चित पानी प्राण रहेछ भूमितलको भन्ने छ एकै मत । भन्छन् पण्डितवर्ग वीर्य–रजको संयोग हो जीवन पानीकै त रहेछ युग्म–सुखको संहेतु वा कारण पानी बादल रूपमा गगनको शोभा बढाईकन फर्की झर्दछ फेरि भूमितलमै रक्षार्थ यो जीवन । पानी प्रेम बनेर बग्छ दिलमा आनन्द बर्साउँदै पानीले सिँचिई चराचर जगत् बन्दो छ चोखो सधैँ पानीको जब हुन्छ आगमन ता हच्किन्छ आगो पनि पानी नै नित वन्दनीय छ भनी हुङ्कार्छ यो लेखनी ।
