IMG-LOGO

ऊ अर्थात् म

 मंगल, मंसिर ६, २०७९  लोकेन्द्र शाह

सबैले विश्वासघात गरे सडकमा ऊ एक्लै करायो उसको बोलीमा कसैले ‘हो’ भनेन जसले पहिलो ‘हो’ भन्ने गर्दथे आफ्ना घरका झ्यालहरूबाट लुकेर उसलाई हेर्न थाले ऊ फेरि एक्लै सडकमा थियो। तपाईंले उसलाई चिन्नुभएन ? ऊ भनेको मै हुँ म एक्लै थिएँ सपनाको खोजीमा, सडकमा ।   सपना खोज्नेहरू कोही थिएनन् सबै मीठा सपनाहरू देखिरहेका थिए सडकमा ऊ चिच्यायो ऊ नाङ्गिएको थियो— सर्वाङ्ग । उसले लुगा लगाएको थिएन टाउकामा टोपी थिएन खुट्टामा जुत्ताहरू थिएनन् सबै आङ नाङ्गै थियो ऊ एक्लै थियो, सडकमा तपाईंले उसलाई चिन्नुभएन ? ऊ भनेको मै हुँ, म एक्लै थिएँ जिन्दगीको खोजीमा, सडकमा ।   यस पटक पनि उसले निकै मजासँग लाचारी खप्यो बर्सातहरूमा पनि ऊ तृषित रह्रयो प्यास बुझेन उसको नदीहरूकै बीचमा भएर पनि ऊ गर्मीले अत्तालिएको थियो र अन्त्यमा ऊ कराउन बाध्य भयो कराउँदै ऊ सडकहरूमा आयो सायद तपाईंहरूले पनि उसलाई निकै नजिकबाट देखेको हुनुपर्छ बाटोमा, चोकमा कराउँदै हिँडेको हुन सक्छ, तपाईंहरूले उसलाई पागल सम्झनुभएको होस् ऊ भनेको मै हुँ चेतनाको खोजीमा÷चोकमा, बाटोमा ।   सुकेका पातहरूको सरसराहट मन पराएन कोइलाहरूबाट निस्केको आगोले ऊभित्रको जाडो मेटिएन । मसिनबाट निस्केका बरफका टुक्राहरूले उसको मुटुभित्रको गर्मी कम भएन । ऊ रोयो, करायो र उसले जीवन माग्यो ऊ अझैपनि जिन्दगी खोजिरहेछ र कुनै पनि दिन तपाईंहरूको आँगनमा आउनेछ । उसले भिक्षा माग्नेछ चामलका दानाहरू नदिनुहोला सुनका असर्फीहरू माग्नेछैन उसले तपाईंहरूसँग मन माग्नेछ उसले तपाईंहरूसँग जीवन माग्नेछ उसको माग पूरा गर्नुहोला सम्भवतः तपाईंहरूले उसलाई चिन्नुहुनेछैन ऊ भनेको म हुनेछु भविष्यको खोजीमा, मनहरूमा ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्