कविता म मेरी आमालाई बिक्री गर्न सक्दिनँ आफ्नो भोक मेट्न म मेरी आमालाई भोकै राख्न सक्दिनँ आफ्नो आङ ढाक्न म मेरी आमालाई नाङ्गै पार्न सक्दिनँ आफ्नो घरबारका लागि म मेरी आमालाई घरबारविहीन पार्न सक्दिनँ आफ्ना क्ष्ँणिक खुसीका लागि आफ्ना मिथ्या आकाङ्क्षाका लागि अरूका सामु सम्पन्न छु भनेर देखाउनका लागि म मेरी आमालाई बेच्न सक्दिनँ नेपाल मेरी आमा हुन् म मेरो नेपाललाई बेच्न सक्दिनँ । भोकभोकै मर्न सक्छु नाङ्गो रहेर बाँच्न सक्छु खुला आकाशमुनि निदाउन सक्छु विपन्न जिन्दगी जिउन सक्छु साँच्चै भन्ने हो भने म मेरी आमाको सतित्वका लागि म मेरी आमाको अस्तित्वका लागि हाँसीहाँसी मर्न सक्छु डढीडढी खरानी हुन सक्छु जो कोहीसँग भिड्न सक्छु जुध्न सक्छु टुक्राटुक्रा हुन सक्छु आगोमा कुद्न सक्छु पानीमा डुब्न सक्छु यसरी नै म मेरा सन्तानले भरिया भएर भारी बोक्दै हिँडेको हेर्न सक्छु हली भएर हलो जोत्दै हिँडेको हेर्न सक्छु पाले भएर पेट पालेको सहन सक्छु मजदुर भएर खटेको सहन सक्छु । तर, डाक्टर, इन्जिनियर, पाइलट तथा विभिन्न विधाका ठुला ठुला विद्वान् बनाउने लोभमा प्रतिष्ठित व्यक्ति बनाउने मोहमा म मेरी आमालाई बेच्न सक्दिनँ ठुला ठुला महल निर्माण गर्ने लोभमा चिल्ला चिल्ला राम्रँ गाडीहरूको मोहमा कुनै पनि आशमा कुनै पनि लोभमा कुनै पनि मोहमा म मेरी आमाको सतित्व बेचिएको हेर्न सक्दिनँ म मेरी आमाको अस्तित्व लुटिएको हेर्न सक्दिनँ म मेरी आमालाई बिक्री गर्न सक्दिनँ बिक्री भएको हेर्न सक्दिनँ बिक्री भएको सुन्न सक्दिनँ । व्यर्थैमा कसैले मेरी आमाको मूल्य तोक्ने भूल नगर म नेपाली हुँ जति नै चर्को मूल्य पाए पनि म मेरी आमालाई बिक्री गर्न सक्दिनँ म मेरो नेपाललाई बिक्री गर्न सक्दिनँ ।
