प्रष्ट गन्तव्यको अभावमा एक आयु यात्रा त फेदीमा पुग्दा-नपुग्दै सकिँदो रहेछ उकालो अस्मेल छ भन्छन् आज पनि यतै रात पर्यो क्यारे उच्च उज्वल हिमशैलहरु मलाई सम्भोग गर एउटा घाम ब्याउँछु कि हेरौँ- दीप्ति कस्तो हुन्छ तृप्ति कस्तो हुन्छ । कुन्नि कहाँ पुगे सहयात्रीहरु बुद्धि दौडेर म पाइला हिँडेको अन्योलमा बियाँलो हुने नै भयो कुन गतिमा भन्ज्याङ्ग पुग्ने हो गाइडले केही भनेन पनि (सायद थाहा छैन) मूलबाटो कतै छुट्यो फर्केर त्यो पछ्याउने कि पर्खेर मृत्यु चिच्याउने ज्योतिर्मय अक्षरहरु मलाई सम्भोग गर आँखा ब्याउँछु कि हेरौँ- शिखर कस्तो हुन्छ समृद्धि कस्तो हुन्छ । सिँगौरी खेलिरहेछन् सामन्त साँढेहरु सन्त्रस्त संसार विभ्रान्त म भोगिरहेको वर्तमान त यस्तो छ आगत कसरी भनूँ कस्तो छ- सायद मेरो गोडामा अब टिमुरको काँडा बिझ्दैन विकिरणका शूलीहरु कुल्चेर रोबोटका पाइला कता हिँडौँ शुद्धोदन मलाई सम्भोग गर बुद्ध जन्मिन्छ कि हेरौँ- शान्ति कस्तो हुन्छ ।
