सानो हातमा घडी ठूलो हातमा घडी समयको ज्ञान दिने सबैको हातमा घडी । सानो होस् ठूलो होस् घडीभित्र सूई घुम्छ सेकेन्ड अनि मिनेट हुँदै अर्कोले घण्टाको सङ्केत दिन्छ । साठी सेकेन्डको एक मिनेट साठी मिनेटको एक घण्टा यसरी नै उड्दै जान्छ हाम्रो जीवन–चङ्गा । चौबीस घण्टाको एकदिन सात दिनको एक हप्ता जानी राखौँ बुझि राखौँ नत्र पछि परिन्छ मित्र । तीस दिनको एक महिना बाह्र महिनाको एक वर्ष जीवन छँदै बाँड्न सिकौँ हाम्रो दुःख र हाम्रो हर्ष । त्यसैले सम्झ भाइबहिनी समय त्यसै पाइँदैन आजको काम भोलि नभनौँ बगेको खोला र्फकँदैन ।
