वरिपरी सब घेरी जाल राम्रो बुनेर नजर गरि चनाखा चाल राम्रो सुनेर, दलिन मनि कुनामा माकुरो एक बस्थ्यो, घरिघरि घुमी हेरी प्वालमा फेरि पस्थ्यो । १ “भ्रमर पुतलि जिङ्गा जालमा आइ पर्छन्, लटपट भइ चाँडै जालमा नै ति मर्छन, अरुहरु पनि पर्छन् जालमा धेर हेर, बसि बसि अनि खाँला मासुको भोज धेर ।“ २ यति भनिकन भित्र प्वालमा गै लुकेर– वरिपरि पनि हेर्दै माकुरो त्यो ढुकेर, दिनभरि अनि बस्थ्यो आसको खास दास– पुतलिहरु नपर्दा दुष्ट हुन्थ्यो उदास । ३ भ्रमर वर नआई जालको चाल पाई परपरतिर जान्थे जाल देखी डराई, अरुहरु पनि उड्थे जाल मागी उडेर, रस पनि अनि चुस्थे फूलमा ती भुलेर । ४ सरल सरल मौरी मस्त भै गान गाई, फुल फुल रस खाई फेरि खाई अघाई, घुनुनु घुनुनु गर्दै जालमा पर्न आयो, लटपट भइहाल्यो प्राण त्यल्ले गुमायो । ५ झटपट गरि निस्क्यो जालमा माल पाई, लटपट अरु पार्योय जालमा माललाई, विष पनि अनि हाल्यो हात खुट्टा समायो, चुसि चुसि अनि खायो माकुरो त्यो अघायो । ६ विषय रस कुनंमा एकहोरो नलागी, अघि पछि पनि हेर्दै ज्ञानिले हिंड्नु पर्छ, अघि र पछि नहेर्ने हुस्सु हो त्यो अभागी, अतिशय दुःख पाई मूर्खले मर्नु पर्छ । ७ प्रकृतिसित म मिल्छू भाव लिन्छू उसैको, भनिकन कवि जस्तै भै उसै तम्सिएको, हुन त कवि म कैले सक्तथे बन्न ऐले । तर पनि कविता यो लेखि–हेरें बलैले ८
