भकुण्डेवेशी÷जिल्ला सहकारी संघ लि.काभ्रेपलाञ्चोकले सदस्य सहकारी संस्थाहरुको विकास, प्रवद्र्धन र विस्तार गरी सेवा प्रवाह गर्ने उद्देश्यका साथ भकुण्डे बेशी चोकमा सेवा केन्द्रको सुरुवात गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सेवा केन्द्रको विधिवत रुपमा उद्घाटन गर्नुभएको छ । कार्यक्रममा बागमती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाबल्दभ सापकोटा, संघका सल्लाहकार तथा निवर्तमान अध्यक्ष विनोद पराजुली, कोअपरेटिभ मेनेजर्स क्लव काभ्रेका अध्यक्ष विवेकराज ठकुरी लगायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सहकारी आफैंमा आम नागरिकहरुको खरखाँचो टार्ने, दुःख सुखको सहाराको रुपमा रहेको हुँदा उत्पादनमूलक क्षेत्रमा स्थान दिँदै जीविकोपार्जनमा सहज गर्ने खालका योजना बनाई दुरदराजमा रहेका किसान तथा शेयर सदस्यहरुको जीवनस्तर उकास्न लाग्नुपर्ने धारणा राख्नु भयो ।
तेमाल, महाभारत, रोशी गाउँपालिका तथा नमोबुद्ध नगरपालिकामा रहेका २ सय ६९ वटा सहकारी संस्थाहरुको लागि सेवा विस्तार गरी सहकारीलाई आवश्यक खातापाता, नीति, नियम, विधि, प्रविधि र क्षमता विकास लगायतका कार्यक्रममा सहयोग गर्ने संघको नीति अनुरुप सेवा केन्द्रको रुपमा जिल्ला संघ यस क्षेत्रमा आएको कुरा बताउँदै संघका अध्यक्ष दिलिप शर्माले सबैको साथ र सहयोगको लागि अनुरोध गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन संघका सचिव निरञ्जन विष्टले गर्नुभएको थियो भने स्वागत संघका सञचालक तथा सेवाकेन्द्र व्यवस्थापन उप समितिका संयोजक सुदर्शन अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा चार ओटा पालिकाका करिब ६० जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।
