बनेपा, बनेपा बचत तथा ऋण सहकारी संस्था लि. को २२ औँ साधारण सभा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले नीति, विधि, पद्धती र प्रविधिको उच्चतम प्रयोग गरी संस्थामा आवद्ध रहेका सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता परिपूर्ति गरी जीवन सुखमय बनाउन सक्नु पर्ने धारणा राख्नुभयो । जहाँ शहर, जहाँ उच्च वर्ग त्यहाँ मात्र सहकारी सञ्चलन गर्ने हैन ग्रामीण भेगका कुनाकन्दहरामा सहकारी सञ्चालन गरेर निम्न वर्गीय, श्रमजीवी वर्गहरुको आर्थिक उन्नतीमा सहयोग सु¥याउन लाग्नु पर्ने तर्क जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माले गर्नुभयो । बनेपा नगरपालिका सहकारी शाखाका प्रमुख धु्रवराज नेपालले बनेपामा २ सय २० वटा सहकारी सञ्चालन रहेको अभिलेखीकरण रहेको बताउँदै सहकारी ऐन कार्यान्वयनमा आउँन एकै प्रकृतिको सहकारीमा एक सदस्य कार्यान्वयन गर्नुपर्ने र सहकारी संस्थाहरु पनि गाभिदै लग्नु पर्ने धारणा राख्नुभयो । कार्यक्रममा सचिव जितेन्द्र नकर्मीले प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना र कोषाध्यक्ष सुविन मानन्धरले आ.व. ०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन तथा प्रस्तावीत बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरीवेक्षण समिति संयोजक जगदिप पलाञ्चोकेले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । २ हजार ३५ सदस्यबाट २ करोड १३ लाख २७ हजार शेयर पूँजी संकलन गरेको छ । २१ करोड १७ लाख ७७ हजार १ सय ५९ बचत निक्षेप संकलन, २१ करोड ९१ लाख ३१ हजार ८ सय ५६ ऋण लगानी गरेर २ करोड ८६ लाख १८ हजार ५ सय १८ व्याज आम्दानी, २ करोड ९६ लाख ४३ हजार ६ सय ८५ रहेको छ । कार्यक्रमको सञ्चालन सह प्रवन्धक रविना प्रधानले गर्नुभएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष अमन पोटेले गर्नुभएको थियो ।
