विश्व पशुपन्क्षी दिवसको अवसरमा पनौती नगर कृषि तथा पशुपन्क्षी शाखाले किसानको गोठ मै पुगेर सोमबार दिवस मनाएको छ । पनौती नगरपालिका वडा नं ८ मा रहेको मल्पी पशुपालन कृषक समूहले गरेको पशुपालन फर्ममा पुगेर विश्व पशुपन्क्षी दिवस मनाएको हो । प्रमुख अतिथि पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले सम्वृद्ध नगर बनाउन कृषि र पशुपालनलाई जोड दिएको भन्दै स्वदेशमै केहि गरौँ भन्ने चाहना भएका युवाहरुलाई नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । वडा नं ८ का वडा अध्यक्ष केशब बञ्जाराले विकास निर्माण र उद्यमशीलतामा राजनीतिकरण ह्ुन नहुने धारणा राख्नुभयो । पनौती नगरपालिका कृषि तथा पशुपन्छि शाखा प्रमुख मणीप्रसाद सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्ले, पत्रकार मधुसुदन गुरागाईले सम्वोधन गर्नुभएको थियो । कार्यक्रममा फर्मलाई आवश्यक पर्ने औषधी, जइघासको विउ वितरण गरिएको थियो । वैदेशिक रोजगारीबाट फर्किएका २२ जना युवाहरु, ५ जना इन्जिनियरहरु, अन्य गरी जम्मा ३० जना युवाको सहभागितामा उक्त फर्म सञ्चालन गरिएको समुहका अध्यक्ष भिमसेन बस्नेतले जानकारी दिनुभयो । उक्त फर्ममा १८ वटा भैँसी, एक गाई, ११ वटा पाडापाडी रहेका छन ।
