बनेपा, समुदायमा आधारित बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.ले नीति, विधि र प्रविधिको प्रयोग गरी ४९ हजार ५ जना सदस्य तथा शैक्षिक बचतकर्तालाई सेवा प्रदान गरेको छ । संस्थाले आ.व. ०७७÷०७८ मा ३ अर्व ७४ करोड ३३ लाख ३८ हजार कारोवार गर्न सफल भएको छ । चार वर्ष भित्रमा १ लाख ५ हजार सदस्य तथा सेवा ग्राहीहरुलाई १० अर्ब १२ करोड ५१ लाख बराबरको कारोबार गर्ने लक्ष्य लिएको संस्थाका अध्यक्ष प्रदिप थापाले बताउनुभयो । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिको २८ औँ साधारण सभाको उद्घाटन बागमती सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाले गर्नुभयो । कार्यक्रममा थप प्रष्ट पार्दै प्रमुख अतिथि देवकोटाले नेपालमा ७३ लाख सहकारीकर्मीहरु र बागमती प्रदेशमा मात्रै ४० प्रतिशत सहकारीले हिस्सा ओगटेको कुरा बताउनु भयो । जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मा, बागमती सहकारी विकसा बोर्डका सदस्य रामशरण घिमिरे, ज्ञानवहादुर तामाङ, उद्धव सापकोटा, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिवसराज खड्का, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा उच्च छवि बनाएको संस्थाको शेयर पूँजी ६६ करोड ५६ लाख ६२ हजार ७ सय रहेको छ । ५८ करोड ९१ लाख १३ हजार ९ सय जगेडा तथा अन्य कोष रहेको छ । ४ अर्ब २७ करोड ७६ लाख ६५ हजार ४ सय १४ बचत निक्षेप संकलन गर्न सकेको छ । ५७ हजार ४ सय १० सदस्य संख्या रहेको छ । २ अर्ब ७८ करोड ६६ लाख ४२ हजार लगानी गरेर ३८ करोड १४ लाख ८० हजार ७० खुद आय र सञ्चालन नाफा ९ करोड ७२ लाख २६ हजार ७ सय ३३ रहेको संस्थाका प्रमुख व्यवस्थापक केवी लामाल बताउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष सन्तकुमार श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा सचिव रामशरण भण्डारीले कार्यक्रमको सञ्चालन गर्नुभयो ।
