‘सबैका लागि योग । सधैंका लागि योग ।।’ भन्ने मुल नाराका साथ विगत सात वर्षदेखि मनाईदै आईएको अन्तर्राष्ट्रिय योग दिवस प्रत्येक वर्ष अंग्रेजी तारिख अनुसार जुन २१ मा मनाईने अन्तर्राष्ट्रिय योग दिवस यो वर्ष पनि असार ७ गते अर्थात आज परेको छ । आज वर्षभरीकै सबै भन्दा लामो दिन हो । वर्षभरीकै लामो दिन भएकोले जसले योग गर्दछ उसको आयु पनि लामो हुन्छ भन्ने विश्वास लिईन्छ । अन्तर्राष्ट्रिय योग दिवस पहिलो पटक सन २०१५ जुन २१ देखि मनाउन थालिएको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउँने प्रस्ताव सन २०१४ मा संयुक्त राष्ट्रियसभाको बैठकमा भारतका तत्कालिन प्रधानमन्त्री नरेन्द्र मोदीले र समर्थन नेपालका प्रधानमन्त्री सुशिल कोईरालाको गरेका थिए । संयुक्त राष्ट्रसभाले प्राप्त प्रस्तावलाई तिन महिनामै निर्णयार्थ पेश गर्दा १७७ राष्ट्रले सो प्रस्ताव अनुमोदन गरेका थिए । संयुक्त राष्ट्रसभामा पेश भएको छोटो समयमा अनुमोदन भएको यो नै पहिलो प्रस्ताव थियो । योग साधना तथा जडिबुटी एवं आयुर्वेद नेपालका उच्च हिम श्रृंखलाबाट विकास भएको कुरा ईतिहासमा प्रसस्त पढ्न पाईन्छ । यो मानव जीवनका लागि अमूल्य सम्पत्ति पनि हो । योगले मानव जीवनलाई स्वास्थ मात्र नभै सुन्दर पनि बनाई राख्दछ । यसले शारिरिक एवं मानसिक रुपमा पनि फाईदा पु¥याएको हुन्छ । मनको एकाग्रता एवं शरिरलाई प्रकृतिसंग जोड्ने काम पनि गर्दछ । निरन्तर योग साधनामा रम्ने एक योगी संयम, विश्वासी एवं सहयोगी भावनाले प्रेरित भएको पाईन्छ । एक योग साधकले लोभ, मोह र अहंकारलाई नियन्त्रणमा राख्दछ । सबै प्रकारका ईन्द्रियहरुलाई बाँध्न सक्दछ । आफुले जस्तो चाह्यो त्यस्तै जीवन पनि व्यतित गर्न सक्दछ । योगलाई आत्मसात गर्ने योगीले आफ्नो शरिरलाई मौसम अनुसारको हावापानीमा रुपान्तरण गर्न सक्दछन् । निरन्तर योग साधना गर्ने व्यक्ति कुनै प्रकारको मौसमी, बेमौसमी तथा अन्य अवस्थामा समेत आफुलाई निरोगी राख्न सक्षम हुनेछ । योगीहरु अन्य बिमारीहरु जस्तो जुनसुकै बेलामा पनि औषधि खाई हाल्न मन पराउँदैनन् । दैनिक खानपानदेखि अन्य खानेकुराहरुमा समेत सावधानी अपनाउँन सक्छन् । जथाभावी नखाने र खाएको कुरालाई नियमित र शरिरको आवश्यकताको आधारमा खाने हुनाले शरिरलाई स्वस्थ राख्न मद्दत पुगेकै हुन्छ । निरन्तर योग साधना गर्ने सक्ने व्यक्तिले बाहिरी मात्र हैन भित्री रुपमा गढेर रहेको हरेक प्रकारको रोगलाई समेत नियन्त्रमा लिनसकेको घटनाहरुको उदाहरण हाम्रा सामु प्रसस्त छन् । हामीले हाम्रो स्वास्थ्य विगार्नु हुन्न भन्दाभन्दै पनि अस्वस्थ प्रतिस्पर्धाका कारण हाम्रो स्वास्थ्य अरु कसैले नभै हामी आफैले विगारी रहेका छौं । आज हामीलाई साग र ढिंडो मन पर्न छोडेको छ । मोही र मकैको रोटी मन पर्न छोडेको छ । हाँडीमा भुटेको स्थानीय मकै मन पर्न छोडेको छ । रैथाने बाली भनेर आफ्नै बारीमा उत्पादन भएको अनाज मन पर्न छोडेको छ । आफ्नै हातलै सजिलै पकाएर खान सकिने खाजाहरु पनि हामीलाई मन पर्न छोडिसकेको छ । शरिरलाई सन्तुलनमा राख्ने तथा सामान्य बिमारी पर्दा खान सकिने औषधिजन्य जडिबुटिहरु पनि मन पर्न छोडिसकेको छ । अहिले हामीलाई चाउचाउ, बर्गर, पिजा, मः मः, चाउमिन, कोल्ड ड्रिंक्स, बिस्कुट लगाएत मैदा तथा त्यसबाट बनेका खानेकुरा मन पर्न थालेको छ । त्यस्ता चिजहरु सजिलै बजारमा किन्न पाईन्छ । पाकेट खोलेर क्वाप्प खान पाईन्छ । त्यसलाई स्वादिलो बनाउँन र लामो समयसम्म टिकाईराख्न केके केमिकल्स प्रयोग गरिन्छ ? यस बारेमा कसैलाई पनि सोच्ने फुर्सदनै छैन । किनकी हामीलाई अरु भन्दा हुनेखाने र सम्भ्रान्त देखाउनु छ । अरुका अगाडी देखासिखी गर्दा आफ्नै स्वास्थ्य र सम्पत्ति गुमेको थाहा पाउादैन मान्छे । वर्षको एकपटक योग दिवस मनाएर स्वस्थ बनिदैन । हरेक दिन विहानको उज्यालो हुनुभन्दा सके ४० मिनेट अगाडि वा नसके आधा घण्टा अगाडि उठेर २ देखि ३ गिलास मन तातो पानी पिएपछि आफ्नो शरिरको अवस्था अनुसार योगाभ्यास गर्ने हो भने आफ्नो जीवनलाई चंगा बनाउन सकिन्छ । हामीले जीन्दगीभर कमाएको सम्पत्ति अरुकाका लागि हो । त्यसैले भोली देखि नै प्रत्येक दिन १ देखि २ घण्टा गरिने योग साधना मात्र आफ्नो लागि हो । लेखकः नेपाल योग खेलकुद संघ काभ्रेका अध्यक्ष हुनुहुन्छ ।
