IMG-LOGO

स्व. राजेन्द्रगोबिन्द जोशी सरको जीवन कथा

 मंगल, फागुन १०, २०७८  – प्राध्यापक डा. उत्तमकृष्ण कर्माचार्य

      २०७२ चैत्र ३० गते मंगलबार स्व. रामभक्त कोष श्रेष्ठ स्मृति सिरपा प्रबन्ध समितिको १५ औं वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम अध्यक्ष हरिभक्त भोछिभोयाको अध्यक्षतामा पूर्व उप–प्रधानमन्त्री नेपाली काँगे्रसका वरिष्ठ नेता माननीय रामचन्द्र पौडेलज्यूको प्रमुख आतिथ्यतामा बनेपा नगरपालिका सभा भवनमा सम्पन्न भयो । प्रबन्ध समितिको उद्देश्य अनुसार प्रत्येक वर्ष बनेपा र काभ्रे जिल्लाको उन्नती र प्रगतिको लागि स्वार्थविहिन सुसुप्तरुपमा नदेखिने गरि समाजमा दीर्घ सेवा गर्नुभएका व्यक्तिहरुलाई सम्मान गर्ने परम्परा चल्दै आएको छ । यस अन्तर्गत १४ जना समाज सेवीहरुलाई सम्मान गरी सकेको छ । उपरोक्त सभामा यस वर्ष समाजसेवी स्व. राजेन्द्रगोबिन्द जोशी (बनेपा) र स्व. मद्दतमान श्रेष्ठ (नाला) सम्मानीत हुनुभयो । सम्मानीत व्यक्तित्वद्वय मध्येस्व. राजेन्द्रगोबिन्द जोशीज्यूको जीवनी मैले सभामा प्रस्तुत गरेको थिएँ । वहाँसंग भएको छलफलको आधारमा वहाँको ५४ वर्षको सेवा अवधिको अनौठो जीवनी र कार्य विवरण यस प्रकारको छ ।       स्व. राजेन्द्रगोबिन्द जोशी सरको जन्म १९८० मार्ग १५ गते पाटनमा भएको थियो । वहाँको पिताको नाम स्व. नरेन्द्रगोबिन्द जोशी र आमाको नाम स्व. चम्पा देवी जोशी हुनुहुन्थ्यो । वहाँको आमाको स्वर्गिय भएपछि वहाँ २ वर्षको उमेरमा बनेपा आउनु भएको थियो । वहाँको मामा स्व. आशाकाजी कायस्थ र मामा बाजे स्व. हिराकाजी कायस्थको हेरचाहमा २२ वर्ष बनेपामा नै बिताउनु भएको थियो । २२ वर्षको उमेरमा वि. सं. २००२ मा वहाँको विवाह नाला निवासी नानी मैयाँ श्रेष्ठसंग भएको थियो । विवाहको बेलामा नानी मैयाँको उमेर १४ वर्ष मात्र थियो । स्व. राजेन्द्रगोबिन्द जोशी सरको बुबा आमा सानैमा परलोक हुनु भएको हुनाले दुलही भित्राउने काम स्व. भक्तीमाया कर्माचार्य र स्व. कृष्णमाया कायस्थ गर्नुभएको थियो ।स्व. राजेन्द्रगोबिन्द जोशी सरले कुनै किसिमको औपचारिक शिक्षा पाउनु भएको थिएन । वहाँले शुरु शुरुमा गुरु स्व. टिका नारायण भैलबाट अनौपचारिक शिक्षा पाउनु भएको थियो । वहाँले बनेपाको तीन धारा भाषा पाठशालामा नेपाली र संस्कृत अध्ययन गर्नु भएको थियो । त्यस बेला वहाँको गुरु स्व. जगनाथ बाजे र स्व. रुद्रनाथ बाजे हुनुहुन्थ्यो ।       वि. सं. २००४÷५ साल तिर काठमाण्डौमा महाबीर विद्यालय खोले पछि स्व. हंसराज श्रेष्ठ र स्व. राजदास बादे श्रेष्ठको अगुवामा बनेपामा पनि महाबीर विद्यालयको शाखा खुल्यो । सो शाखा खोले पछि वहाँले साधारण अंग्रजीको अध्ययन गर्नु भयो । विभिन्न राजनैतिक कारणले सो विद्यालय संचालनमा ल्याउन सकेन । त्यसपछि स्व. दलानकाजी राजवंशीबाट साधारण शिक्षा प्राप्त गर्नु भयो । स्व. दलानकाजी राजवंशी पछि धुलिखेलको संजीवनी हाईस्कूलमा कार्यरत हुनु भयो । वि.सं. १९९६ मा बनेपामा पहिलो पटक बालबाटिका विद्यालय स्थापना भयो । वहाँले सो विद्यालयको शिक्षकको रुपमा पहिलो नियुक्ति पाउनु भयो । तर पारिश्रमिककोभने कुनै व्यवस्था थिएन । वि.सं. २००७ साल चैत्र ११ गते काभ्रे जिल्लाकै पहिलोआजाद हाईस्कूलको स्थापना भयो । वहाँले सो हाईस्कूलमा प्राथमिक शिक्षकको रुपमा मासिक रु. २० पारिश्रमिक पाउने गरि नियुक्ति पाउनु भयो । २००७ साल देखि २०२८ साल सम्म सो हाईस्कूलमा काम गर्नु भएपनि कुनै किसिमको औपचारिक प्रमाण पत्र नभएको कारण नयाँ शिक्षा योजना कार्यक्रम लागु भए पछि वहाँले कुनै किसिमको काम गर्ने मौका नभएकोले त्यस बेलाका प्रधानाध्यापक स्व. रामभक्त कोख श्रेष्ठको सहयोगमा लेखाशाखाको दरवन्दि कायम गरि लेखा तर्पmको खरिदार दरवन्दि पदमा नियुक्ति पाउनु भयो । यसरी वहाँले वि.सं. २०५९ साल फाल्गुणमा अवकाश पाउनु भयो । वहाँको २०५९ साल सम्मको नोकरी अवधिमा २ पटक शिक्षा पुरस्कार पाउनुभयो । पहिलो पल्ट २० वर्षको नोकरी अवधिमा पहिलो शिक्षा पुरस्कार र दोश्रो पल्ट ३४ वर्षको नोकरी अवधिमा अर्को शिक्षा पुरस्कार पाउनु भएको थियो । यसरी वहाँले ५४ वर्ष शिक्षा सेवामा काम गर्नु भयो । तर ५४ वर्ष पछिको अवकाश भए पछि कुनै किसिमको सुविधा तथा निवृतिभरण पाउनु भएन । वहाँ संगको छलफलको क्रममा पारिश्रमिकको कुरा गर्दा ५४ वर्षको नोकरी अवधिको अन्तिम पारिश्रमिक रु. ४००० पाउनु भएको कुरा ज्ञात हुन आएको थियो । उक्त ४,००० पारिश्रमिक पाउनु भएकोमा साह«ै नैखुसि व्यक्त गर्नु भई रु. ४,००,००० पाएको सरह खुसि प्रकट गर्नु भयो । तर निवृतिभरण नपाएकोमा दुखेसो भने पोख्नु भयो । वहाँसंग भएको छलफलको अन्तिममा उपरोक्त सिरपा समितिले बनेपाको १ जना ९२ वर्षिय वयोवृद्ध समाजसेवीको नाताले सम्मानीत भई केहि आर्थिक सहयोग पनि प्रदान गर्नु भएकोमा अति खुसि मान्नु भई यो सम्मानले वहाँको आयु १० वर्ष बढ्ने आशा व्यक्त गर्नु भयो ।       वहाँले खुशियालि व्यक्त गर्ने क्रममा हाल सम्म वहाँको ५४ वर्षको सेवा अवधिमा वहाँले प्राथमिक विद्यालयमा पढाएका हजारौं÷हजार बनेपा निवासिहरु विभिन्न ठूलठूला पदहरुमा बसि विभिन्न सेवामा कार्यरत भई बनेपा मात्र नभई नेपाल कै विशिष्ठ व्यक्तिको रुपमा हेर्न पाउँदा वहाँलाई धेरै गर्व लागेको कुरा पनि व्यक्त गर्नु भयो । छलफलको क्रममा वहाँले केहि व्यक्तिहरुको नाम सम्झनु भयो । जस्तै स्व. मणिराज कायस्थ, स्व. केदानाथ प्रधान, स्व. कृष्ण गोपाल श्रेष्ठ, टोक बहादुर तौजले, नारायण तौजले, मुक्तिनाथ कर्माचार्य, हरिभक्त भोछिभोया, प्राध्यापक डा. उत्तमकृष्ण कर्माचार्य र अन्य देशविदेशमा कार्यरत विशिष्ट व्यक्तिहरुका बारेमा कुराकानी गर्नुभयो ।       स्व. राजेन्द्रगोबिन्द सरको दोश्रो विवाह २०१६ सालमा बनेपा कै राधिका देवी श्रेष्ठसंग भएको थियो । हाल वहाँको ५ छोरा र ६ जना छोरीहरु रहेका छन् । वहाँहरुको नामवली यस प्रकार रहेको छ । छोराहरुमा १) नीभराज जोशी २) लभराज जोशी ३) शुभराज जोशी ४) रामराज जोशी र ५) शितुराज जोशी (स्व. राधिका देवीको तर्फबाट) रहेका छन् । छोरीहरुमा १) मिरा अमात्य २) हिरा प्याकुरेल ३) निवारण श्रेष्ठ (स्व राधिका देवीको तर्फबाट) ४) इन्दिरा जोशी, ५) मीरा जोशी (स्व राधिका देवीको तर्फबाट) र ६) सुनिरा के.सी. मैले हालसम्म माननीय मन्त्रीज्यूहरु, सचिवज्यूहरु, उपकुलपतिज्यूहरु, सम्माननीय राजदुतज्यूहरु समेत धेरै जना महोदयहरुको छोटो परिचय गर्ने मौका पाएको थिएँ । अनुकरणीय व्यक्तिसंग भएको अनौपचारिक छलफलको आधारमा स्व. राजेन्द्रगोबिन्द जोशी सरको सामान्य जीवनी छोटकरीमा मैले सिरपा प्रबन्ध समितिको कार्यकारी सदस्यको हैसियतले प्रस्तुत गर्ने मौका पाउँदा धेरै खुशि लागेको थियो ।       मान्छेको जीवन मरणशील हुन्छ । दुर्भाग्य, आदरणीय सर २०७८ माघ २२ गते शनिवार विहान ९ः३० बजे दिवंगत हुनुभई ब्रम्ह्लीन हुनुभयो । यो खबरले म लगायत वहाँका सम्पूर्ण शुभचिन्तकहरु अत्यन्त मर्माहत र स्तब्ध भएका छौं । शरीर नासवान्भएपनि आत्मा अमर रहन्छ । तसर्थ वहाँको आत्माको बैकुण्ठमा बासको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै सम्पूर्ण शोक सन्तप्त परिवार जनमा गहिरो समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा ईश्वरले सम्पूर्ण परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन्भन्ने कामना गर्दछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्