नेपालमा छापा पत्रिकाले अनवरत रुपमा २५ औं वसन्त पूरा गर्नु चानचुने कुरा होइन । झन काभ्रे जस्तो सानो परिधि र राजधानीका सञ्चारमाध्यम तीन आँख्ले नउदाउँदै बनेपा आइसक्ने बजारमा अनवरत रतज वर्षसम्म यात्रा गर्नु आफैमा एउटा विशिष्ट र युगीन कालखण्ड हो । यो सु अवसरमा जिल्लामा पत्रकारितालाई संस्थागत गर्ने काभ्रे टाइम्स र यसका परिवारलाई हार्दिक बधाई एवं थप सफलताको शुभकामना । यो २५ वर्षमा काभ्रे टाइम्सले खेलेको सकारात्मक भूमिकाले नेपालमा गणतन्त्र, संघीयता, समावेशिता जस्ता मुद्धा स्थापित हुन ईंटा थपिएकै छ नै यसका साथै देशको राष्ट्रिय एकता मजवसत पार्दै संविधान कार्यान्वयन गर्ने प्रक्रियामा होस् या कला, भाषा, सस्कृँतिको श्रीवृद्धि । यी ऋतुका हर याम र आयाममा सत्तिसाल बनेको छ काभ्रे टाइम्स । काभ्रे टाइम्स र यसको विगत इतिहासका कारण पनि आफ्नो अन्योन्याश्रित पाठकमाझ लिएर गएको छ नै यसका अलावा पाठकसामु जाँदा उ सँधै असल नियत तथा निष्पक्षताका साथ प्रस्तुत हुनु नै काभ्रे टाइम्सको ब्राण्ड हो । उसले काभ्रेली सञ्चार वृत्तमा बसालेको रीति थिति हो । यसका लागि काभ्रे टाइम्सको मुक्त कण्ठले प्रशंसा गरिहन्छौं । टाइम्सले निरंकुशताका विरुद्ध र लोकतान्त्रिक आन्दोलनका पक्षमा सधै आवाज उठाएको इतिहास छ नै यसका अलावा लोकतन्त्र र प्रजातन्त्रको पक्षमा निगरानी गर्न कत्तिपनि विमुख नभई उसले गरेका कर्म तारिफ योग्य छ । विभिन्न आरोह र अवरोहका विचमा स्थापनाको २५ औ वर्ष पुगेको अवसरमा म के भन्न चाहन्छु भने कुनै पनि संस्थाको प्रगति उन्नति तथा यसको जिवन्तताका लागि एकल व्यक्ति भन्दा पनि सम्पूर्ण कर्मचारीको उत्तिकै महत्व हुने कुरालाई नकार्न सकिन्न । काभ्रे टाइम्सका अब्बल टिम मेम्बरलाई पनि बधाई छ । काभ्रे टाइम्स एक सामान्य साप्ताहिक मात्र किमार्थ होइन । उसले उत्पादन गरेका सञ्चारकर्मीहरु आफै सञ्चारका मालिक भएका, उम्दा कोटीका सञ्चारमाध्यममा सञ्चारकर्ममा भेटिनु सामान्य हो । विगतदेखि वर्तमानसम्म आएका अनेकौं आरोहअवरोहका बीच पनि पत्रिकाले सञ्चारकर्मी, पाठक तथा शुभचिन्तकमाझ आफ्नो निरन्तर उपस्थिति, संग्रहणीय विषय वस्तु पस्किनुले पनि उसको लोकप्रियता आज पर्रान्त १० को ९ भएको छैन । यो नै उसको कमाई हो । यो कमाइ दिन दुई गुना रात चौ गुना बढ्दै जाओस् । नेपाल पत्रकार महासंघ यही कामना गर्दछ । सूचना र प्रविधिले दिन दिनै नयाँ फड्को मार्दै गर्दा काभ्रे टाइम्सले अब उसको साजसज्जा र छपाईको स्तरलाई बढाउँदै लैजान नितान्त जरुरी देखिन्छ । यस्तै उत्कृष्ट वेभसाइट र सञ्जालहरुमा पनि काभ्रे टाइम्सको गर्विलो उपस्थितिको अपेक्षा गर्दछु । काभ्रे टाइम्स काभ्रेली पत्रकारिताको इतिहास भएकोले जिल्लाका सञ्चार गतिविधिहरुमा उसले नेतृत्व गर्दै, विगतदेखि नै दिशा निर्देश गरेको छ र आगामी दिनहरुमा पनि यही कामना गर्दछौँ । यसले सबैको विचार, भावना बोक्दै साझा सञ्चारमाध्यम बन्ने प्रण लिएको छ । समाजका सबै वर्ग, पेशा र विचार भएकाहरुको साझा थलो बनेको छ । मुलतः स्वतन्त्र प्रेस र नागरिकको सूचनाको हकको प्रत्याभूतिका लागि आवाज बिहिनहरुको आवाज सम्प्रेषण गर्न लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसाथ गर्दै साझा चौतारी बनाउने कुरामा उ प्रतिबद्ध छ । मुलुकमा संस्थागत भएको लोकतान्त्रिक पद्धतिको विकास, विधिको शासन, प्रेस स्वतन्त्रता, नागरिक अधिकार जस्ता महत्वपूर्ण पाटो नै काभ्रे टाइम्सको पत्रकारिताको साझा आँगन बन्नेछ भन्ने अपेक्षा सदैव रहिरहने छ । उसले खोज, अनुसन्धान एवं स्थानीय जन चासोका विषयप्रति केन्द्रित हुँदै जनताले खोजेका र रोजेको पत्रकारिता बनाउने सदैब प्रयत्नरत रहने प्रण गर्न सकोस् । पछिल्लो समय प्रकाशकमुखी बन्दै गएको हाम्रो पत्रकारितालाई पाठकमुखी र प्रविधिमैत्री बनाउनु यतिखेरको आवश्यकता हो । जबसम्म मोफसलको पत्रकारितालाई स्तरीय र ग्रामीणमुखी बनाउन सक्दैनौं तबसम्म मिडियाको मुख्य धर्म र मर्म पुरा हुँदैन । आचारसंहिंता परिपालना, पीडीतको गोपनियताको हकको ग्यारेण्टी, पार्टीकारिताको चङगुल र चाटुककारिता र कैंची पत्रकारिताबाट माथि उठ्दै आवाजबिहिनहरुको सच्चा साथी बन्न सकोस्, लोकतन्त्रको जिम्बेवार पहरेदार बनोस् काभ्रेटाइम्सलाई यो युगीन अवसरको धेरै शुभकामना । लेखक–नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष हुनुहुन्छ ।
