‘ग्रामीण विकासका लागि सञ्चार कर्म’भन्ने उद्घोषका साथ आरम्भ भएको काभ्रे जिल्लाको स्थानीय अखबार ‘काभ्रेटाइम्स’ले २५ हिउँदपार गरेको थाहा पाउँदा खुशी लागेको छ । यसका शुरूवा ती दिनमा आपूm पनि संलग्न भएको नाताले मंगलबार यो पत्रिका प्रकाशनका लागि सोमबार साँझ भोटाहिटीका ओसिला गल्ली भित्र समाचार लेखेका, सम्पादन गरेका र डिजाइनमा बसेका क्षणहरू सम्झनामा आइरहेका छन् । मध्यरातमा प्रेसबाट छापिई सकेपछि पत्रिका बोकेर आर. एल. श्रमजीवी, इश्वरी ओझा र ढकालसरसँगै महाबौद्धका भद्दालजहरूमा भौँतारिएको र कहिले पत्रकार मित्र प्रभात किरणको कोठामा तातो भात पकाएर खाएका यादहरू पनि झल्झली आइरहेछन् । यी २५ वर्षमा हामी कताकता पुग्यौँ तर खुशीको कुरा ‘काभ्रेटाइम्स’ निरन्तर छ । काभ्रे जिल्लालाई कर्म क्षेत्र बनाई काभ्रेली जनतालाई सुसूचित बनाउन निस्केको योे पहिलो अखबार अब लक्का जवान भएको छ । २६ औँ वर्ष प्रवेशका अवसरमा सर्व प्रथम त यसमा संलग्न साथीहरूलाई हार्दिक बधाईं तथा शुभ–कामना भन्छु र यस अवसरमा यो आलेख लेख्ने क्रममा ‘काभ्रेटाइम्स’ को एक वर्ष यताका अङ्कहरू हेर्दा आपूmलाई लागेका केही कुरा पस्कन चाहन्छु । अढाई दशकको यो यात्रामा साच्चै ‘काभ्रेटाइम्स’काभे्र र काभ्रेलीका अनेक परिवर्तनहरूको साक्षी बनेको छ । ‘काभ्रेटाइम्स’ भन्दा पछि काभ्रेमा थुप्रै पत्रिकाहरू शुरू भए र अहिले पनि छन् तर ती सबै जसो कुनै न कुनै राजनीतिक अभिष्टबाट उत्प्रेरित छन् । यद्यपि ‘काभ्रेटाइम्स’ को विशेषता भनेको यो कहिल्यै पनि कुनै राजनीतिकअभिष्टका लागि थिएन र स्वतन्त्र सञ्चार संस्थाको रूपमा रह्यो । भलै कुनै बेला जानी नजानी कुनै राजनीति, कुनै कुटनीतिमा यो प्रयोग भयो होला तर यसको दीर्घकालीन नीति भनेको सञ्चार कर्म नै रहेको देखिन्छ । यसले काभ्रेका राजनीतिक, सामाजिक, व्यवसायिक, सांस्कृतिक सबैखाले विषयवस्तु पस्कँदै आएको छ । यही विविधताले यो काभ्रेको एक लोकप्रिय अखबार हो । काभ्रेमा स्थानीय पत्रिका प्रकाशन गर्नु र यतिलामो समय निरन्तरता दिन सक्नु सहज विषय होइन किन भने राजधानीका ब्रोड सिट रंगीन दैनिक अखबारहरू हरेक दिन सबेरै यहाँ आइपुग्छन् । राजधानीमा छापिएपछि एक घन्टामै तात्तातै यहाँ आइपुग्ने ती अखबारका बीचमा मंगलबार झुल्कने ‘काभ्रेटाइम्स’अझै उही श्यामश्वेत कलेवरमा रहेको छ । यसलाई समसामयिक र समृद्ध बनाउनका लागि गर्नुपर्ने कार्यका अनेक पाटाहरू छन् । ‘ग्रामीण विकासका लागि लागि सञ्चार कर्म’ को स्लोगन बोके पनि यसको मुखपृष्ठको मुख्य समाचार सधैँ राजनीतिक विषयको देखिन्छ । मलाई लाग्छ अब यसमा परिवर्तन गर्नु पर्छ र काभ्रेको विकास, सामाजिक सवाल, पर्यावरण, कृषि आदि विषयलाई यसले मुख्य समाचार बनाउन सक्नु पर्छ । यसको सबैभन्दा कमजोर पक्ष भनेको परम्परागत र भद्दा ले–आउट, डिजाइन हो । यसमा २५ वर्ष अघिकै अवस्था देखिन्छ । समाचार, लेख छोटामीठा, चुस्त सम्पादन भएका, सबै क्षेत्र र विधा समेटिएका हुन सके यो अझ पठनीय बन्न सक्छ । प्रथम पृष्ठमा विज्ञापनका लागि निश्चित स्थान मात्र दिनु पर्छ । पाइयो भन्दैमा प्रथम पृष्ठमै जति पनि विज्ञापन छाप्नु हुँदैन । पेजको एक चौथाइ भागसम्म यसका लागि छुट्याउनु पर्छ । सम्पादकीय पृष्ठमा यस वर्ष काभ्रेटाइम्सले पस्केको प्रसिद्ध स्रष्टाका कविता, महान् उद्गार र नेपाली समसामयिक अभिव्यक्ति तथा विभिन्न विषयमा लेखिएका सम्पादकीय महत्वपूर्ण छन् । साथै यसका सम्पादक तथा प्रकाशक आर.एल. जीले नियमित लेख्दै आउनु भएको महाभारत, रामायण तथा वैदिक ग्रन्थमा आधारित प्रसंगहरू पनि पठनीय रहेका छन् । वैचारिक पेजको मुख्य लेखका लागि प्रसिद्ध लेखकका लेख उद्धरणगरी छाप्नु भन्दा या राजनीतिक विषयलाई प्राथमिकता दिनु भन्दा काभ्रेकै विकास र सामाजिक मुद्दा तथा राजनीतिक नै भएपनि स्थानीय राजनीतिमा आधारित स्थानीय विश्लेषककै लेख भए अभ mराम्रो हुन सक्छ । विभिन्न पालिकाका विकास बजेट र नीति, कार्यक्रमलाई यसले दिएको स्थान प्रंशसनीय छ । अझ विभिन्न पालिकाका वडा अध्यक्षहरूको सानो सानो अन्तरवार्ता विकास निर्माणमा केन्द्रित रहेर प्रस्तुत गर्ने हो भने यसले पत्रिका र पालिका दुवैलाई फाइदा हुनुका साथै जनताले सुसूचित हुने अवसर पनि पाउँछन् । आजका पाठक अति व्यस्त छन् । लामा लेख, समाचार पढ्ने धैर्य र समय तिनमा हुन्न । त्यसैले तस्बिरबाटै धेरै कुरा दिनका लागि तस्बिर ठूलो छाप्नु वेस हुन्छ । समाचार पनि छोटो र हाइलाइट, ब्रेकर निकालिएको भएमा पढ्न सहज हुन्छ । यसलाई अनलाइन संस्करणमा विकास गरी निरन्तर अपडेट गरिरहनु पनि अब जरुरी भइसकेको छ । श्यामश्वेत साप्ताहिक अखबारमा अब पाठकको आकर्षण गर्न असंम्भव प्रायः छ । त्यसैले यसलाई रंगीन छपाइमा ढाल्नु आवश्यक छ । यसमा छापिने विषवस्तुमा विविधता भए पनि ती एकैखाले र परम्परागत खालकाछन् । किसानका सफलताका कथा, उद्यमीयुवाका कथा, जीवनशैलीमा आएको परिवर्तन, भौतिक विकास, विकासले ल्याएका परिवर्तन, जलवायु परिवर्तनको असर, महिला सशक्तिकरण, बालबालिकाको अवस्था, युवा नेतृत्व, सांस्कृतिक रूपान्तरण जस्ता विषयलाई अब लेख र समाचारमा स्थानदिनु आवश्यक छ । भित्री पेजमा प्रकाशित समाचार टुक्राटुक्रा छरपस्ट र अनाकर्षक देखिन्छ । हरेक पेजमा एउटा राम्रो तस्बिर र क्याप्सन, अनि अलि ठुलो समाचार र साना समाचार डिजाइन मिलाएर सरर एक, दुई कोलममा दिँदा आकर्षक हुने थियो । अब निरन्तरतामा मात्र गर्व नगरी यसको गुणस्तर वृद्धिमा लाग्नु नै ‘काभ्रेटाइम्स’ को अबको बाटो हुनु पर्छ । सम्पादनमा र डिजाइनमा सुधार गर्नुपर्ने अनेक आयामहरू छन् । यसलाई सुधार गरी चुस्त, पठनीय बनाउँदै र काभ्रेली जनताको आवाजका रूपमा‘काभ्रेटाइम्स’अझ अगाडि बढाउन सक्नुहोेस् । हार्दिक शुभ– कामना छ ।
