IMG-LOGO

पनौतीको बाह्रवर्षे मकरमेलाको महत्व

 मंगल, पौष २७, २०७८  – सूर्यप्रसाद लाकोजू

     माघ महिना विस्तारै जाडो कम हुँदै गर्मी चढ्ने महिना हो । माघ महिना लाग्ने वित्तिकै सूर्य धनु राशीलाई छोडेर मकर राशीमा प्रवेश गर्दछ । यसरी सूर्य मकर राशीमा प्रवेश गरेको माघ महिनाको पहिलो दिनदेखि अन्तिम दिनसम्म बाह्रवर्षको एकपल्ट पनौतीमा मकरमेला लाग्ने गर्दछ । यो मेलालाई बाह्रवर्षे मकरमेला भनिन्छ । मकर शव्दको अर्थ माघ महिना पनि हो । माघ महिना भर लाग्ने मेला भएकाले पनि पनौतीको त्रिवेणीघाटमा बाह्रवर्षको  एकपटक मनाइने मेलालाई मकरमेला भनिएको हुनसक्दछ । माघ सुरु भएको दिनदेखि महिनाको अन्तिम दिनसम्म पनौतीको पवित्र तीर्थस्थल  त्रिवेणीघाटमा बाह्रवर्षको एकपल्ट मनाइने हिन्दूहरुको ठूलो पर्वका रुपमा पनौतीको बाह्रवर्षे मकरमेला रहेको छ । मकरमेला लाग्ने माघ महिनाको पनि ठूलो छ । माघको पहिलो दिनदेखि नै पृथ्वीको गोलाद्र्धमा सूर्य उत्तरतर्फ ढल्कने  गर्दछ । सूर्य उत्तरायण भएपछि न्यानोपनमा बृद्धि भई पुषको कठ्याङग्रिदो जाडो क्रमश कम हुँदै जान्छ । यसै महिनादेखि दिनहरु पनि लामो हुँदो जाने गर्दछन् । यो महिना स्वस्थ्यका दृष्टिले उपयुक्त महिनाको रुपमा मानिन्छ । धार्मिक दृष्टिले यसको ठूलो महत्व रहेको छ ।      पनौतीको त्रिवेणीमा मनाइने यो बाह्रवर्षे मकरमेला सम्पूर्ण हिन्दुहरुका लागि महत्वपूर्ण मेला हो । यस्तै बाह्रवर्षको एकपल्ट ललितपुरको गोदावरीमा पनि मेला लाग्दछ । पनौतीमा मनाइने बाह्रवर्षे मकरमेलप्रति हिन्दु मकरमेलाप्रति हिन्दु धर्मावलम्वीहरुको ठूलो धार्मिक आस्था र विश्वास रहेको हुन्छ । त्यही धार्मिक आस्थाका कारण हरेक बाह्रवर्षको एकपल्ट  मकरमेला लाग्दा लाखौँको संख्यामा यहाँ मेला भर्न भक्तजनहरु ओइरिन्छन् । पनौतीको त्रिवेणीलाई उत्तरप्रयाग,, शचीतीर्थ, पावनधाम भनी मानिसहरु श्रद्धा गर्दछन् । यस स्थलमा पाईला मात्र टेक्दा पनि मोक्ष पाइने जनविश्वास अझै घटेको छैन ।      मकरमेला लाग्दा देशका कुनाकाप्चाबाट मानिसहरु ठूलो संख्यामा यहाँ आई मेला भर्दछन् । ‘मकरमेला लागेको समयमा यहाँ आई त्रिवेणी संगमस्थल (पद्मावती, लीलावती र रुदावती)मा  नुहाई देवीदेवताको पूजा गरेमा सम्पूर्ण पापबकाट मुक्ति मिल्दछ भन्ने धार्मिक विश्वास रहेको छ । यही विश्वासका कारण त्रिवेणी संगमस्थलमा मकरमेला अवधिभर स्नान गर्ने भक्तजनहरुको ठूलो घूइँचो लाग्ने गर्दछ ।’’ असंख्य दवीदेवताका मन्दिरहरुले भरिएको त्रिवेणी क्षेत्र बास्तवमै एउटा महत्वपूर्ण तीर्थस्थल हो । देवताका राजा इन्द्र, शची, विरुपाक्ष जस्ता देवताहरुले समेत यस त्रिवेणी संगमस्थलमा आई मोक्ष प्राप्त गरेका थिए भने जनश्रुति रहेको छ । पनौतीका बाह्र वर्षको एकपल्ट मकरमेला लाग्दा मेला भर्न आएका श्रद्धालुहरु त्रिवेणी संगमस्थलमा श्रद्धापूर्वक स्नान गरी त्रिवेणी क्षेत्रमा रहेका देवीदेवताहरुको दर्शन गर्दछन् । त्रिवेणी संगमस्थलमा बास गर्ने बासुकी नागलाई जल चढाउने गरिन्छ । गोरखनाथ डाँडाको काखमा, त्रिवेणी किनारमा अवस्थित् ब्रह्मायणी देवीको मन्दिरलाई काभ्रे जिल्लाका शक्तिपिठहरुमध्येको एक मानिएको छ । यस मन्दिरभित्र रहेको खाल्डोमा मकरमला प्रारम्भ भएपछि जल आइरहन्छ । जल आउने क्रम मकरमला अवधिभर रहन्छ । भक्तजनहरु श्रद्धापूर्वक ब्रह्मायणीको दर्शन गरी जल ग्रहण गर्दछन् । बाह्र वर्षे मकरमेलामा मात्र निस्कने यो जलको प्रतापले ठूलो पुण्य कमाइने जनविश्वास रहेको छ । पनौतीको त्रिवेणीघाटसँगै गोरखनाथको डाँडा रहेको छ । यस डाँडालाई कुञ्जगिरी पर्वत पनि भनिन्छ । त्रेता युगमा राम र रावण बीच युद्ध हुँदा रावणका छोरा इन्द्रजितले रामका भाइ लक्ष्मणलाई नागपासले मुर्छित पारेपछि हनुमानले संजिवनी बुटीसहितको ठूलो पहाड उठाएर ल्याउँदा पनौती पुगेपछि पर्वतको सानो अंश तल झर्दा यो पहाड बनेको हो भन्ने जनश्रुति छ । यस डाँडामा गोरखनाथको मन्दिर छ । त्रिवेणीघाटमा नुहाई पूजाअर्जना गरेपछि डाँडा चढ्न सक्नेहरु त्यहाँ गई गोरखनाथको दर्शन गर्दछन् । गोरखनाथको मन्दिरमा पुगेका भक्तजनहरुले उत्तरतर्फ हेर्दा हिमालयका मनोरम दृश्यको स्वादसमेत लिन भ्याएका हुन्छन् । त्यस्तै त्यहाँबाट पूर्व हेर्दा नमोबुद्धको मन्दिरको दर्शन गर्न सकिन्छ । यसको पश्चिमबाट फूल्चोकी देवीको मन्दिर देखिन्छ । गोरखनाथ मन्दिर जाँदा कसैकसैले आफ्नो दायाँ हातको बुढी औलाको खोपिल्टोमा त्रिवेणीघाटको जल राखेर लगी गोरखनाथ मन्दिरमा चढाउने गर्दछन् । यसो गर्दा आफूले मनले चिताएको मनोकाँक्षा वा चाहना पुरा हन्छ भन्ने जनविश्वस रहेको छ । गोरखनाथको दर्शनपछि भक्तजनहरु इन्द्रद्वारा स्थापना गरिएको जनविश्वास रहेको  इन्द्रेश्वर महादेवको दर्शन गर्दछन् । इन्द्रेश्वर महादेवको मन्दिर पनौतीको मात्र नभई नेपालकै महत्वपूर्ण  मन्दिरहरुमध्यको एका हो । नेपालका प्राचीन मन्दिरहरुको पंक्तिमा रहेको यो मन्दिरको महिमा ठूलो छ । मकरमेलामा त्रिवेणीमा स्नान गरी श्री इन्द्रेश्वर महादेवको दर्शन गर्नाले मेला भरेको सिद्ध हुने जनविश्वास छ । इन्द्रेश्वर हाताभित्र इन्द्रेश्वर महादेव लगायत उन्मत्त भैरव, तोला नारायण, नौवटा ग्रहसहितको सूर्य, चारहात सहितको कृष्ण, नारायण, उमामहेश्वर, विश्वेश्वर महादेव लगायतका मनिदरहरु रहेका छन् । धार्मिक दृष्टिले इन्द्रेश्वर हाता निकै महत्वपूर्ण छ ।      यसरी मकरमेला लागेको समयमा पवित्र तीर्थस्थल मानिएको त्रिवेणी संगममा आई स्नान गरी यहाँका देवीदेवताहरुको पूजाअर्चना गर्ने विभिन्न बस्तुहरु दान गर्नाले ठूलो पुण्य कमाइने जनविश्वास रहेको छ । मकरमेलाको समयमा नुन दान गर्दा सनु दान गरेको सरह फल पाइन्छ भन्ने कुरा स्थानीय बृद्धजनहरु बताउँछन् ।      प्रामाणिक रुपमा यो मकरमेला कहिलेदेखि प्रारम्भ भएको हो भनि यकिनका साथ भन्न नसकिए तापनि लिच्छविकालीन राजा मानदेवको समयदेखि चल्दै आएको भन्ने भनाई यहाँका बूढापाकाहरुको रहेको छ । मकरमेलासँग सम्वन्धित किंवदन्तीहरु ः      सृष्टिकर्ता ब्रह्माजीले संसारको सृष्टि गरिसकेपछि मानवको पनि सृष्टि गरे । मानवकै सृष्टि गर्ने क्रममा ब्रह्माजीले अहिल्या नम गरेकी कन्याको पनि सिर्जना गरे । अहिल्या परम् सुन्दरी थिइन् । रुप र यौवनका कारण अहिल्या पुरै ब्रह्माण्डमा चर्चित थिएन । यो देखेर स्वयम् सृष्टिकर्ता ब्रह्माजी पनि आफ्नो सृष्टिमाथि छक्क परेका थिए  । अहिल्याको सुन्दर रुप र यौवन देखेर देवताहरु समेत मोहित भएका थिए । अहिल्याको सौन्दर्यको बयान चारैतिर फैलिँदै गयो । अहिल्याको अनुपम सौन्दर्यको अवलोकन गर्न देव, दानव र मानव लालायित् हुन थाले । यस्तो अवस्थाको सिर्जना भए पछि सृष्टिकर्ता ब्रह्माजीलाई आफ्नाी पुत्री समानकाी अहिल्यालाई पुरुषहरुको कुदृष्टिबाट बचाउनु पर्ने अवस्था आयो । अहिल्याको विवाह गौतम ऋषिसँग भएमा उनलाई कसैले पनि कुदृष्टिले हेर्न सक्दैनन् भन्ने विचार उनले गरे । त्यसैले उनले गौतम ऋषिलाई बालाई अहिल्यासँग विवाह बन्धनमा बाँधिन प्रस्ताव गरे । परमपतिा ब्रह्माजीको प्रस्तावलाई नकार्न सकने कुरै भएन, प्रस्ताव स्वीकार गरियो । गौतम ऋषि र अहिल्या बीच विवाह भयो । गौतम ऋषिको आश्रम प्राकृतिक रुपले अत्यन्त मनमोहक दृश्यले भरिएको थियो । त्यस स्थानको एउटा कुटीमा गौतम ऋषि र ऋषिपत्नी अहिल्या सुखपूर्वक रहन थाले । प्रकृतिले सजिएको आश्रमको वातावरणमा अहिल्या  र गौतम ऋषि सुखपूर्वक जीवन विताइरहेका थिए । ऋषि विहान सबेरै उठ्ने, नित्यकर्म गर्ने र नजिकैको जलाशयमा गएर नित्य स्नान गर्ने गर्दथे । स्नानबाट फर्केपछि पूजा आराधना तर्फ लाग्दथे । ऋषि पत्नी अहिल्या पन िसबेरै उठेर आफ्ना पतिका लागि पूजा सामग्रीको बन्दोबस्तमा लागने गर्दथिन् ।      अहिल्याको विवाह भए पनि उनको सौन्दर्य कम भएको थिएन । उनको रुप र यौवन आकर्षक नै थियो । उनको सौन्दर्यबाट स्वयम् देवताका राजा इन्द्रसमेत निकै प्रभावित भएका थिए । अहिल्याको सौन्दर्यबाट उनी अनियन्त्रित बने । अहिल्याजस्ती परमसुन्दरी नारीलाई भोग गर्ने लालसाले इन्द्रको मनमा नराम्रोसँग डेरा जमाएको थियो । देवताका राजा इन्द्र जसरी भए पनि अहिल्यासँग आफ्ना कामेच्छा पूर्ति गर्न चाहन्थे । एकरात इन्द्रले चन्द्रदेवलाई सूर्यजस्तै चम्केर बस्न आग्रह गरे ।  चन्द्रदेव चम्किएर बस्ता विहान भएको आभास मिल्यो । अहिल्या र गौतम ऋषि झल्याँस्स विउँझिए । ‘आज छिटै रात वितेको जस्तो भयो, विहान भइसकेछ’ भन्दै गौतम ऋषि श्रीमती अहिल्यासँग धोती मागेर स्नान गर्न गए । त्यही मौका छोपेर देवराज इन्द्र गौतम ऋषिको भेष बदलेर आए । त्यति वेलासम्म चन्द्रदेव यथास्थानमा गई बसिसकेका थिए । स्नान गर्न गएका आफ्ना स्वामी छिटै फर्केको देखेर  अहिल्याले ‘स्नान नै नगरी किन छिटै फर्कनु भएको?’ भनी प्रश्न गरिन् । अहिल्याको प्रश्नको उत्तर दिँदै ऋषिभेषधारी इन्द्रले ‘अहिले रात छ, बाटो अँध्यारो छ, त्यसैले फर्किएँ’ भने । गौतम ऋषिको भेषमा आएका इन्द्र अनेक तरहका कुरा गरी अहिल्यासाग सुते र सम्भोग गरी आफ्नो कामेच्छा पूर्ति गरे । त्यसैबेला आफूले कमण्डलु लैजान विर्सेकाले कमण्डलु लिन भनी गौतम ऋषि आश्रममा फर्के । आश्रम फर्कदा ऋषिभेषधारी इन्द्र्र र पत्नी अहिल्यालाई आफ्नो विस्तरा (ओछ्यान) मा आपत्तिजनक अवस्थामा पाए । देवराज इन्द्रले छल गरी आफ्नी पत्नी अहिल्यासँग अनौतिक सम्बन्ध राखेको थाहा पाएर गौतम ऋषि निकै क्रोधित बने । गौतम ऋषिको क्रोध देखेर  डराएका इन्द्रले आफ्नो वास्तविक रुपमा आएर गौतम ऋषिसँग तत्कालै माफी मागे । तर गौतम ऋषिले देवराज इन्द्रलाई माफी दिएनन् । आफ्नो इज्जतमाथि छलपूर्वक दाग लगाएकोले क्रोधित बनेका गोतम ऋषिले देवराज इन्द्रलाई श्राप दिँदै भने –य “हे पापिष्ट इन्द्र ! तैले अर्काकी श्रीमतीसँग छलपूर्वक अनैतिक सम्बन्ध गाासेर परस्त्रीगमन गरिस् त्यसैले तेरो शरीरभरि हजारौँ योनि उत्पति होस् ।”      त्यति भन्ने वित्तिकै इन्द्रका शरीरभरि योनिहरु उत्पति भए । त्यस्तै परपुरुषसँग अनैतिक सम्बन्ध गाँसेकीले अहिल्यालार्य विवेकहीन शिला (ढुङ्गा) बनेस् भनी गौतम ऋणिले श्राप दिए । अफू पनि श्रापित भएपछि अहिल्याले आफू छलिएको र आफ्नो दोष नभएको बताइन् । अहिल्याको कुरा सुनेर गौतम ऋषिले भने– ‘त्रेतायुगमा भगवान श्रीरामको जन्म हुनेछ । त्यसवेला श्रीरामका चरणकमलको स्पर्शबाट तिमी पापबाट मुक्त हुनेछौँ ।’ ऋषिले त्यति भने पछि अहिल्या शिलामा परिणत भइन् । उता आफ्नो शरीरभरि योनि ने योनि पलाएका कारण देवराज इन्द्र लाजले भुतुक्क भए । उनी लुकी–लुकी स्वर्गमा रहेको आफ्नो  वासस्थान गए । आफ्नो पतिको यस्तो दुर्दशा देखेर आश्चर्य हुँदै इन्द्रपत्नी  शचीले हजारौँ योनियुक्त शरीर कसरी भयो भनेर सोधिन् । देवराज इन्द्र लाजले शिर झुकाएर आफूले अहिल्यासँग गरेको पापकर्म र गौतम ऋषिबाट पाएको श्राप बारे बेलिविस्तार लगाए । देवराजको कुरा सुनेर इन्दायणी निकै रिसाइन र भनिन् , “हे पतिदेव हजुरले गर्नै नहुने पापकर्म गर्नुभयो । विना कसुर अहिल्यालाई समेत आफ्नो पापको कर्म भोगाउनुभयो । पतिव्रता अहिल्याको धर्म नष्ट गर्नुभयो तपाइँलाई धिक्कार छ ।” त्यसपछि शचीले गुरु वृहस्पतिसँग त्यो पापबाट छुटकार पाउने उपायका बारेमा सल्लाह मागिन् । त्यसपछि गुरु वृहस्पतीले देवराज इन्द्रलाई महादेवको तपस्या गर्ने सल्लाह दिए । गुरु वृहस्पतिले देवराज इन्द्रलाई पद्मावती रलिलावतीको संगमस्थल रहेको स्थानमा गई नित्य स्नान गर्नु, भक्तिपूर्वक महादेवको आराधना गर्नु र नित्य १२ सय वर्षसम्म तपस्या गर्नु भनी सल्लाह दिए । त्यसपछि देवराज इन्द्र र शची दुवै पनौतीको दोभानमा आई नित्य स्नान गरी, महादेवको पूजाआराधना गरी तपस्या गर्न थाले । यहाँ आएर देवराज इन्द्रले भगवान्  शिवको र इन्द्रायणीले माता पार्वतीको तपस्या गर्न थाले । माता पार्वती शचीको तपस्याबाट प्रसन्न भएर रुद्रावती नदी भएर प्रवाहित हुन थालिन् । पार्वती रुपी उक्त नदी देखेर इन्द्रपत्नी शची निकै खुशी भइन् । त्यसको केही समयपछि इन्द्रको तपस्याबाट महादेव प्रसन्न भएर देवराज इन्द्रलाई प्रत्यक्ष दर्शन दिए । महादेवले आफ्नो आराधना गरेकोे कारण सोधे र वरदान माग्न भने । त्यसपछि विनयपूर्वक महादेवसँग देवराजले आफूलाई पापबाट मुक्त गराइदिन आग्रह गरे । महादेवले शचीको तपस्याबाट खुशी भई पार्वती नदीको रुपमा बहेको हुनाले यो तीर्थ शचीतीर्थ भएको पनि बताए । साथै पद्मावती, लीलावती र रुद्रावतीको सङ्गमस्थल त्रिवेणीको प्रतापले तिमी पापबाट मुक्त भयो भने । भगवान् शिवको बरदान पाएपछि देवराज इन्द्रले त्रिवेणीमा ब्राह्ममूहुर्तका समय भक्तिपूर्वक स्नान गरे । स्नान गरे।र जलबाट बाहिरिएका इन्द्रले आफ्नो शरीरमा हेरे । इन्द्रको शरीरबाट सम्पूर्ण योनिहरु विलाए । आफ्नो शरीरबाट सबै योनि विलाएपछि देवराज इन्द्र निकै खुशी भए । आफू पापबाट मुक्त भएपछि देवराज इन्द्रले महादेवको शिवलिङ्ग स्थापित गरे । शिवलिङ्ग स्थापनापश्चात नित्य पुजा र आराधनाका लागि यहाँ मानवबस्ती बसाल्ने योजना देवराज इन्द्रले बनाए । देवराज इन्द्रको इच्छा र आग्रह बमोजिम त्रिवेणीका रुपमा रहेका तीनवटा नदीहरु पद्मावती, लिलावती र रुद्रावतीले आ–आफ्नो स्थान छोडी बस्तीका लागि अनुकुल वातावरण सिर्जना गरिदिए । उनै इन्द्रद्वारा स्थापित शिवलिङ्ग इन्द्रेश्वर महादेवका नामले प्रख्यात भयो । इन्द्र पापमुक्त भएको यो ठाउँको कीर्ति टाढा टाढासम्म फैलियो । मानिसहरुले पनौतीको त्रिवेणीघाटलाई ठूलो र पवित्र तीर्थस्थलका रुपमा निल थाले । फलस्वरुप यहाँ बाह्रवर्षको एकपटक माघ महिनाभरि मकरमेला लाग्ने प्रचलन चल्यो ।      मकरमेलासँग सम्बन्धित अर्को पनि किंवदन्ती यहाँ प्रचलित छ । किंवदन्ती अनुसार उहिले उहिले पाञ्चाल देश (पनौती)मा दीर्घरथ नाम गरेका राजा राज्य गर्दथे । उनी धर्मात्मा थिए, आफ्ना प्रजाहरुका समस्यालाई उनी आफ्नै समस्या सम्झेर समाधानको मार्ग खोज्नतिर लाग्दथे । पाञ्चाल नगरमा कृषियोग्य जमिन भएता पनि सिंचाइको सुविधा नभएपछि जनताहरु चिन्तित थिए । पानीको सुविधा नभएपछि उब्जनी हुने कुरै भएन । यहाँको खेती आकाशको भर थियो । आकाशबाट पानी परेन भने कृषि गर्न सकिंदैनथ्यो ।      एकपल्ट यहाँ खडेरी प¥यो । जमिन पानीको अभावमा सुख्खा हुँदै फुट्न थाल्यो । खानेपानीका मुहानहरु पनि धमाधम सुक्न थाले । जनताहरु भोकभोकै मर्न थाले । त्यसैले राजा दीर्घरथले फूल्चोकी डाँडामा गई फूल्चोकी माईको तपस्या गर्ने निर्णण् गरे । राजाले आफ्ना राजपुरोहितसँग परामर्श गरी साइत जुराई तपस्याका लागि फूल्चोकी डाँडातर्फ प्रस्थान गरे । फूल्चोकी डाँडामा पुगेपछि राजपुरोहितले भने बमोजिम पूजा गरी तपस्या आरम्भ गरे । त्यसैबखत पाटनका राज सत्यवर पनि आफ्नो राज्यमा पानीको अभाव भएका कारण फूल्चोकी माईको तपस्या गर्न आएका थिए । यी दुवै राजा बडा प्रतापी थिए । दुवै राजाले धेरै वर्षसम्म तपस्या गरिसकेपछि उनीहरुको तपस्या देखेर फूल्चोकी माता प्रसन्न भइन् । तिनीहरुको पूजा–अर्चनाबाट प्रसन्न भई फूल्चोकीमाईले प्रत्यक्ष्ँ दर्शन दिई बरदान माग भनिन् । यो कुरा सुनी दुवै राज अति प्रसन्न भए अनि आफूकहाँ पानीको अभाव भएका कारणले सो अभावबाट मुक्त हुन एक–एक वटा नदी पाऊँ भनी प्रार्थना गरे । सो प्रार्थना सुनी माईले भनिन्– “हे राजन ! मैले दुईओटा नदी एकैपटक दिन मिल्दैन । यसकारण दुईमध्ये जसले पहिले मलाई सुनको र चाँदीको फूल ल्याई चढाउँछ, त्यसैलाई म नदी वरदान दिन्छु । ”   यति भनेर फूल्चोकी देवी अलाप भइन् ।      त्यसपछि दुवै राजा आ–आफ्नानै राज्यमा फर्के । उता पाटनका राजाले आफ्ना दक्ष कालिगढहरुलाई बोलाई सुन र चाँदीका सुन्दर गहनाहरु बनाउन अह्राए । यता पाञ्चाल देशका राजा बडो सङ्कटमा परे । पाटन गरगहना बनाउने कालिगढहरु धेरै भएको राज्य थियो ।  पाञ्चाल देश भने कृषिप्रधान राज्य थियो । यहाँ पाटनका जस्ता दक्ष कालिगढहरु शिएनन् । त्यसैले राजा चिन्ता गर्न थाले । यदि आफूले सुन र चाँदीका फूल लगी पाटनका राजाले भन्दा पहिले चढाउन नसके आफूले नदी वरदान नपाउने पिरले राजा छट्पटाई रहेका थिए । त्यसैले राजाले सभा डाके । राजाको सभामा धेरै ठूला विद्वानहरुको उपस्थिति थियो । त्यहाँ उपस्थितमध्ये एकजनाले भने– ‘महाराज ! फूल्चोकी देवी प्रकृतिको स्ुन्दर काखमा विराजमान हुनुहुन्छ । उहाँलाई प्रकृतिदेवीको काखमा रहेको सुन र चाँदीका फूलहरुभन्दा अरु प्यारो हुन सक्दैन । त्यसैले धातुरुपी सुन र चाँदीको फूलभन्दा प्राकृतिक सुन र चाँदीको सुवासिलो फूल चढाउनु बेस होला ।’ ती विद्वानको कुरा सुनेर सबै जिल्ल परे ।      भोलि बिहान सबेरै उठेर राजा दीर्घरथ फूल्चोकी डाँडामा पुगी शुद्ध मनले फूल्चोकी माईको आराधना गरी आफूले ल्याएको सुनरुपी तोरीको फूल र चादीरुपी मुलाको फूल श्रद्धापूर्वक अर्पण गरे । आफूले भने बमोजिम पाटनका राजााले भन्दा पहिले सुन र चाँदीका फूल ल्याई चढाएकाले फूल्चोकी माईले पाञ्चाल देशतर्फ बहने गरी ठूलो नदी बरदान दिँदै भनिन् –‘हे राजन ! म तिम्रो भक्तिबाट प्रसन्न भएँ । मेरो बचन अनुसार तिमीले सर्वप्रथम मलाई सुन र चाँदीका फूल चढायौ । त्यसैले यो पवित्र नदी तिमीलाई वरदान भयो । यो नदी लिलावती नदीका नामले बहने छ । यो नदी पाञ्चाल पुगेपछि अन्य दुई नदीको संगमस्थलमा बाह्रवर्षको एकपल्ट माघ महिनाभरि मकरमेला पनि लाग्नेछ ।’ पाञ्चाल देशका राज दीर्घरथ आफूले नदीका साथै मकरमेलाको पनि बरदान पाएकोले निकै खुशी भए ।      त्यसैबेला पाटनका राजा सत्वर आफ्ना कालिगढहरुले बनाएको सुन्दर सुन र चाँदीका गहना लिएर फूल्चोकी मार्य कहाँ आइपुगे । त्यहाँ पुरेर राजाले फूल्चोकी माईको प्रार्थना गरे, आफूले फूल चढाएपछि फूल्चोकी माईले भनिन् – ‘हे राजन ! तिमी भन्दा अगाडि पाञ्चाल देशका राजा दीर्घरथले मैले भने बमोजिम सुन र चाँदीका फूल ल्याई चढाइसके । त्यसैले मैले लीलावती नामक नदी वरदान स्वरुप उनलाई दिइसकैँ । तिमी नरिसाऊ ।’ देवीका कुरा सुनेर पाटनका राजाले विन्ती गर्दैभने – ‘हे माता ! हजुर सर्वज्ञानी हुनुहुन्छ । हजुरलाई त पाञ्चाल देशका राजाले छल गरेछन् । देवीले आफूलाई दीर्घरथ राजाले कसरी छक्याए भनी प्रश्न गर्दा राजा सत्यवरले तपाईँलाई दीर्घरथ राजाले सुनको फूल भनेर सुन जस्तै देखिने तोरीको फूल र चाँदीको फूल भनेर चाँदी जस्तो देखिने मूलाको फूल चढाएका रहेछन् भने । असली सुन र चाँदीका फूल त मैले पो ल्याएको छु माता भनेर भने । साथै उनले नदी आफ्नो राज्यतर्फ बहने गरी वरदान दिन पनि बिन्ती गरे ।’      राजा सत्यवरको कुरा सुनिसकेपछि फूल्चोकी माईले राजा दीर्घरथतर्फ हेर्दै भनिन्– ‘यो त सकली सनु र चाँदीका गहना होइनन् नि ? ’ माईको जिज्ञासामा राजा दीर्घरथले भने–‘हे माता ! हजुरलाई ज्ञात छ कि मेरो देश कृषिमा आश्रित छ । खेतीपाती मेरो राज्यको मेरुदण्ड हो । खेती गर्नका लागि पानी अपरिहार्य  छ । पानीविना मेरो देशका जनता भोकै मर्दैछन् । राजाले अगागि भने –‘हे भवानी ! जोसँग जे छ श्रद्धापूर्वक त्यही दिने हो । पाञ्चाल देशको माटोमा फूलेको त्यो फूलमा हामी सबैको श्रद्धा छ, आस्था छ । यसका साथै यति धेरै पानीको आवश्यकता सुनचाँदीका गहना बनाउनेलाई भन्दा खेती गर्ने कर्मठ किसानका लागि आवश्यक छ । त्यसैले बिन्ती गरी पाञ्चाल देशवासीमाथि कृपा गरी नदीको बरदान दिनुहोस् ।’ । राजाको प्रार्थना सुनेर देवी खुसी भइन् । वास्तवमा सुनको गहना बनाउनेलाई भन्दा खेती गर्नेलाई बढी पानीको आवश्यकता पर्छ । त्यसैले फूल्चोकीमाईले राजा सत्यवरलार्य सम्झाउँदै पाञ्चाल देशका लागि पानी आवश्यक छ । कृषिमा आश्रित राज्यका लागि पानी जति आवश्यक हुन्छ, तिम्रो राज्यका लागि त्यति आवश्यक हुँदैन । धेरै खेती हुने ठाउँका निम्ती तोरी र मुलाकै फूल असली सनु र चाँदीका फूलभन्दा महत्वपूर्ण हुन्छ । प्रकृतिको मनोरम काखमा बसेकी मलाई धातुको सुन र चाादीको फूल भन्दा प्राकृतिक सुनरुपी तोरीको फूल र चाँदीरुपी मुलाको फूल प्यारो छ । मैले मेरो बचन अनुसार पाञ्चाल देशका राजालाई नदी बरदान दिइसकेँ । दिइसकेको बरदान फिर्ता लिन मिल्दैन भनिन् । फूल्चोकी माइँको कुरा सुनेर राजा सत्यवरले पानी सबै प्राणीका लागि आवश्यक भएकोले पाटनका जनतालाई पनि पानी आवश्यक रहेको बिन्ती विसाए । उनको प्रार्थना सुनेर फूल्चोकी माइँले उनलाई पनि लीलातीको तुलनामा अलि सानो गोदावरी नदी वरदान दिइन् । यस नदीको प्रतापले तिम्रो राज्यमा पनि बाह्र वर्षको एकपल्ट गोदावरी मेला लाग्ने छ भनी मेलाको पनि वरदान दिइन् ।      फूल्चोकी माईबाट बरदान पाएपछि खुशी हुँदै दुबै राजा आ–आफ्ना राज्यमा फर्के । यता राजा दीर्घरथले नदी बरदान पाएकमो सूचना सम्पूर्ण प्रजाहरुलाई दिए । राज्यभरि खुशीयाली छायो, घरघरमा दीपावली गरियो । यसरी त्यस बेलादेखि पनौतीमा बाह्रवर्षे मकरमेला लाग्ने र पाटनको गोदावरीमा गोदावरी मेला लाग्ने गरेको छ । पनौती र पाटनमा ६–६ वर्षको अन्तरालमा बाह्रवर्षको एकपल्ट मेला लाग्ने चलन त्यसै बेलादेखि चल्दै आएको हो भने किंवदन्ती रहेको छ ।      यो मेलाका सम्बन्धमा जेजस्ता किंवदन्तीहरु प्रचलित भए तापनि यसको आफ्नै प्रकारको धार्मिक महत्व छ । यसको आफ्नै छुट्टै विशिष्ट पहिचान छ । बाह्र वर्षको एकपल्ट माघ महिनाभरि लाग्ने यो मेलाका सम्बन्धमा जेजस्ता किंवदन्तीहरु भए तापनि यो मेलाप्रति सम्पूर्ण हिन्दुहरुको ठूलो आस्था र विश्वास छ । धर्मप्रति आस्थावान् प्रत्येक हिन्दूका लागि त्रिवेणीघाट पवित्र तीर्थस्थल हो । उत्तरप्रयाग पनि भनिने यो तीर्थ सबैका लागि पुण्यभूमि हो । बाह्रवर्षे मकरमेलाको अवधिभर ब्रह्मायणी मन्दिरभित्रको खाल्डोमा जल आइरहन्छ । तीनवटा नदीहरु पद्मावती, लीलावती र रुद्रावतीमध्ये पार्वतीरुपी गुप्त नदी रुद्रावतीलाई बत्तीस लक्षणले युक्त व्यक्तिले मात्र देख्न सक्ने जनविश्वास रहेको छ । देवराज इन्द्रद्वार प्रतिस्थापित इन्द्रेश्वर महादेवको दर्शन गर्नाले सम्पूर्ण पापबाट मुक्त होइन्छ भन्ने जनआस्था पनि दरिलो देखिन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्