पनौतीको त्रिवेणीघाटमा २०७८ सालको माघ महिनाभर १२ वर्षे मकरमेला लाग्दैछ । नदीहरु सफा स्वच्छ र निर्मल हुनु पर्दछ । खोला नदीहरुमा फोहर फाल्ने फोहर मिसाउनेहरु अधम हुन, पापी हुन् स्वार्थी हुुन,अपराधी सरह हुन भन्ने कुराहरु हिन्दु शास्त्रले वाताएका छन् । प्राचीन शास्त्र ऋग्वेदमा नदीका संगमहरुलाई खोला नदी नालाहरुलाई “गंगेच, यमुनेचैव गोदावरी, सरस्वती, नर्मदे, सिन्धु, कावेरी, जलेस्मिन सान्निध्यं, कुरु” भन्दै हिन्दु धर्मावलम्वीहरु मन्त्र जप्दै आफुलाई पवित्र र स्वच्छ बनाउन नुहाउने चलन यद्यपी छ । त्यसो हुँदाहुँदै पनि पनौतीको त्रिवेणीघाटको संगम विशेष महत्वपूर्ण हुनाका कारणहरु मध्ये नेपालको प्राचीन ग्रन्थ नेपाल महात्म्यको हिमवतखण्डमा उल्लेखित निम्न लिखित संक्षिप्त कथाले सिद्ध गर्दछ । कारणवस विछोडिएका मातापिताको खोजीमा हिडेका विरुपाक्ष धेरै समयको अन्तरालमा एकै ठाउँमा वास बस्न पुग्दा नचिनेर आमाछोराकै सहवास हुनपुगेछ । कुराचल्दै गर्दा आमा छोरा भन्ने परिचय पछि विरुपाक्ष पापी अधम अपराधी सावित भएका थिए । ने मुनीको सल्लाहले उनै मुनीको साथमाआई त्रिवेणी घाटअर्थात सचीतीर्थमा स्नान गरि इन्द्रेश्वर महादेवको प्रार्थना गर्दै रातको जाग्राम बसिरहँदा यस तीर्थ र लिङ्ग बारे सोध्दा यस तीर्थको महात्म्य बारे ने मुनीले प्रकाश पार्दै निम्न कथा बताएका थिए । मिथिलाको व्रम्हपुरी नाम गरेको शहरमा प्रख्यात ऋषी गौतम र उनीकी पत्नी अहिल्या बस्दथे । अत्यन्त सुन्दरी ऋषीपत्नी अहिल्याको सुन्दरता बारे स्वर्गका राजा इन्द्रले नारदको मुखबाट बखान सुनेपछि इन्द्र अहल्यालाई हेर्न पुगे । अत्यन्त सुन्दरी अहिल्या देखेर इन्द्र मोहित मात्र भएन रतिकृडाको इच्छा जागृत भयो । इन्द्र ऋषीको कुटी नजिकै लुकेर मौकाको ताक पर्खेर बसे । जब रातको एक भाग बाँकि थियो । गौतम ऋषि गंगामा स्नान गर्न निस्किए तब इन्द्रले गौताम ऋषिको भेष धारण गरेर कुटीमा पसे र रतिकृडा गरे । तील लान बिर्सिएर लिन आएका ऋषिले उक्त दृष्य देख्दा क्रोघित भई इन्द्रलाई तिम्रो शरिरमा हजार योनी होस भनि श्राप दिए भने आफ्नो पत्नी अहिल्यालाई आफ्नो पराइ बुझ्न नसक्ने तँ पत्थर होस भनि श्राप दिए । दुवैलाई ऋषिको श्राप तुरुन्त लाग्यो । भागेर स्वर्ग पुगेका इन्द्रको शरिरभरि योनी देखेर इन्द्रानी दुखि भै कारण सोधिन । लाज मान्दै इन्द्रले यथार्थ कुरा बताए । इन्द्राणीले धिक्कारिन । तर पनि उक्त पाप मोचनको निम्ती गुरु बृहस्पतीसित सल्लाह गरिन् । गुरु बृहस्पतीले भन्नुभयो, हे इन्द्र ती झाडीको तलतिर रहेको पवित्र स्थलमा गएर बस । त्यहाँ लिलावती र अर्काे रुद्रावती नाम गरेको नदी छन् । नदीको संगममा स्नान गर भगवान् शिवजीको आराधना गर त्यहाँ स्नान गर्ने वित्तिकै तिम्रा शरिरका अंगहरु पाप बाट मुक्त हुनेछन् । इन्द्र र इन्द्रानी दुवै त्यहाँ पुगे । त्यस तीर्थमा दुवैले प्रशन्नता पूर्वक स्नान गरे । इन्द्रले शिवजीको र इन्द्रानीले पार्वतीको भक्ति पूर्वक ध्यान गरे । इन्द्राणीले ध्यान पूर्वक भक्ति गरेपछि ती दुई नदिको संगममा अर्काे एक नदिको रुप लिएर भगवती पद्मावती प्रकट हुनुभयो । इन्द्राणीको दिव्य दृष्टीले देखिन् र आफू कृतार्थ भइन् । त्यस तिर्थमा बसेर इन्द्रले महादेवको र इन्द्रणीले पार्वतीको स्तुती र ध्यान गर्दै तपश्यारत रहे । दिव्य १ वर्ष पछि आषाठ सुक्ल पूर्णीमाको दिन इन्द्रकै सामुन्य भगवान् शंकर प्रकट हुनु भयो र भन्नु भयो इन्द्राणीको तपश्याले पद्मावती प्रकट हुनुभयो र यस तीर्थको नाम सचितीर्थ भयो । इन्द्र तिमीले तपश्या गरेकोले यो लिंगको नाम इन्द्रेश्वर नामले प्रसिद्ध हुनेछ । हे इन्द्र सचितीर्थमा स्नान गर । ऋषीको श्रापको महत्व हुने भएकोले तिम्रो निधारमा एउटा योनी बाहेक अरु सबै नास हुनेछन् । ब्रम्ह मुहुर्तमा स्नान गरेपपछि इन्द्र इन्द्राणीको तपश्या सफल भयो । यस प्रकारले पनौतीको यो त्रिवेणी सचितीर्थ देवताहरुकै कृपा र वरदानले महत्वपूर्ण बन्दै आइरहेका छन् । १२ वर्षमा १ पटक यो तीर्थमा देवी देवता र स्वर्गका अप्सराहरु पनि स्नान गर्न आई पुग्छन् भन्ने जनविश्वस रहेको छ । १२ वर्ष माघ अथवा मकर राशिमा पर्दछ । त्यसैले मकरमेला नामले प्रशिद्ध भएको हो ।अब आउने माघ महिनामा लाग्ने मकर मेलामा सम्पूर्ण भक्त जनहरुलाई पनौती वासीहरु मेलामा स्वागत गर्नको लागी उत्सुकता पूर्वक पर्खीरहेका छन् ।
