IMG-LOGO

बिपी कोइराला जेल बसाईले नै साहित्यकार

 मंगल, कार्तिक ९, २०७८  सुरज हजारे दाहाल

पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई नेपाली साहित्य जगतमा विश्वेश्वरप्रसाद कोइरालाको नामले चिनिन्छ । यिनको जन्म आजैको दिन विसं १९७१ साल भदौ २४ गते भएको थियो । प्रधानमन्त्री भएकै समयमा २०१७ साल पुष १ गते बिपीलाई राजा महेन्द्रले कू गरेर सुन्दरीजल जेलमा हालेपछि उनी नयाँ नाम अर्थात विश्वेश्वरप्रसाद कोइरालाबाट नेपाली साहित्यमा उदय भए । राजनीतिमा जसरी उनी चर्चित भए त्यसरी नै उनी साहित्यिक क्षेत्रमा विशिष्ट व्यक्तित्वका रुपमा स्थापित छन् । नेपाली साहित्यिक क्षेत्रमा मनोवैज्ञानिक धाराका प्रवर्तक विश्वेश्वरका दर्जन बढी कृति प्रकाशित छन् । नेपाली साहित्यमा यौन मनोविज्ञान भित्राउने श्रेय पनि यिनलाई नै जान्छ । विशेष गरि ‘सुम्निमा’, ‘बाबु आमा र छोरा’ तथा ‘तीन घुम्तीमा’ यौन मनोविज्ञान पढ्न पाइन्छ । यि मध्ये तीन घुम्ती उपन्यासमा त चलचित्र नै बनिसकेको छ । उनका अन्य चर्चित उपन्यासमा ‘मोदी आइन’, ‘नरेन्द्र दाइ’, ‘हिटलर र यहुदी’ प्रकाशित छन् ।        यस्तै उनका दुई कथा संग्रह ‘दोषी चश्मा’ र ‘श्वेत भैरवी’ प्रकाशित छन् । यस्तै उनले आफैले सिर्जना गरेका बाहेक उनीसँगको वार्तामा आधारित आत्मवृतान्त, सुन्दरी जेल बस्दाको दैनिकीमा आधारित जेल जर्नल पनि प्रकाशित छन् । भारतबाट २०३३ सालमा मेलमिलापको नीति लिएर देश फर्केपछि उनलाई त्रिभुवन बिमान स्थलबाट सुन्दरीजल जेल लगिए पछि उनले फेरि दैनिकी लेखेका थिए, जसको नाम थियो ‘फेरी सुन्दरी जल’ । भारतमा रहँदा अध्ययन र लेखनको क्रममा उनको संगत हिन्दी साहित्यकारहरुसँग भएको थियो । साथै उनको साहित्यिक रुची अंग्रेजी र हिन्दी भाषाका उपन्यासमा पनि थियो । विसं १९९२ सालमा शारदा साहित्यिक पत्रिकामा ‘चन्द्रवदन’ कथा प्रकाशन गरि उनी नेपाली साहित्यमा प्रवेश गरेका थिए । यिनले साहित्यलाई सिर्जन गर्ने र अध्ययन गर्ने मात्र होइन तिनलाई व्यवहारमा समेत उतार्ने गर्दथे ।        यिनलाई कसैले फ्रायडवादी, कसैले मनोविज्ञानवादी, कसैले यौनवादी साहित्यकारको रुपमा चर्चा गर्छन् । त्यो बेलाको सकिंर्ण सोच भएको समाजमा यौन मनोविज्ञानलाई केन्द्रबिन्दु बनाएर उपन्यास तथा कथा लेख्नु चानचुने कुरा थिएन । तर समाजको जग नै हल्लाइदिने गरि दमित यौनकुण्ठा, छटपटीलाई आधार बनाएर ‘तीन घुम्ती’ उपन्यास लेखेका थिए । अन्तरजातीय प्रेमप्रसंगमा आधारित ‘सुम्निमा’ उनको उत्कृष्ट सिर्जना हो । घटना भन्दा चरित्र चित्रणमा उनले कथाहरुमा जोड दिएको पाइन्छ । उनी जेलमा नथुनिएको भए शायद उनी साहित्यकार हुन्थेनन् होला । जेल बाहिर रहँदा राजनीतिमा ध्यान दिनुपर्ने हुँदा लेखनीमा उनलाई पक्कै पनि फुर्सद हुँदैन्थ्यो । उनले लेखेका कथाहरु मध्ये ‘एक रात’ चर्चित कथा हो । यो कथा उनले सुन्दरीजल बन्दी गृहमा रहँदा विसं २०२८ मा लेखेका थिए । उनले उक्त कथामा तत्कालिन तानशाही पंचायती व्यवस्थालाई व्यंग्य प्रहार गर्दै कथाको पात्र मार्फत तत्कालिन राजनीतिक व्यवस्थाको चित्रण गरेका छन् ।        नेपाली साहित्यमा फ्रायडेली मनोविज्ञानलाई प्रयोग गरेका विश्वेश्वरका प्राय कृतिहरुमा यौन सम्बन्धि विचारलाई अघि सारेको पाइन्छ । यौनलाई खुला छलफल गर्नुपर्ने विचार बोकेका उनले तिन घुम्ती उपन्यास मार्फत विवाहित व्यक्तिले यौनकै लागि विवाह बाहिरको सम्बन्ध राख्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । उनले साहित्यमा यौन सम्बन्धि मनोविज्ञानलाई स्थान दिए पनि यौनलाई मर्यादाहीन स्वचन्छन्दताको रुपमा भने प्रस्तुत गरेको पाइदैन । यौनलाई दमित गरेर निकास नदिए त्यसले पारिवारिक विखण्डन ल्याउने झल्को आफ्ना कृतिमा दिएका छन् । “मैले उसलाई आफ्नो प्रेम दिएर उसको सुक्न लागेको पुरुषत्वलाई हरियो पारेको थिएँ ।” नरेन्द्र दाइ उपन्यासमा रहेको यो वाक्यले उनी यौनप्रति कति खुलस्त थिए भन्ने पुष्टि गर्छ । मानिसले जे सोच्ने गर्छ प्राय उसले त्यहि नै लेख्ने गर्छ । उनी ति विषयमा खुला विचार भएका र यौनलाई व्यक्तिको स्वतन्त्र अधिकारको रुपमा लिने साहित्यकार थिए ।        यस्तै प्रेमको मामिलामा पनि उनले खुला भएर लेखेका छन् । बहुचर्चित उपन्यास सुम्निमामा प्रेम, यौन र संस्कृति सबै पाइन्छ । बाहुन समुदायको सोमदत्त र किराँती समुदायकी सुम्निमाको अन्तरंग सम्बन्धको कृति उपन्यासमा उनले यौनमा जात, धर्मले रोकावट गरिनु हुँदैन भन्ने गरि कलम चलाएका छन् । हुन त त्यो जमानामा सुम्निमा उपन्यासलाई अश्लिल भनेर खिल्ली पनि उडाएका थिए । अहिलेको सन्दर्भमा सुम्निमा पढ्ने हो भने यो त सामान्य कथा झै लाग्छ तर तत्कालिन कालखण्डमा भने उक्त कृति लेखिनु चानचुने कुरा थिएन । यस उपन्यासले अन्तरजातीय प्रेम र विवाहलाई पनि प्रोत्साहान दिएको छ भलै उपन्यासमा सुम्निमा र सोमदत्तले विवाह गरेनन् । अझै पनि जातकै कारण धेरै जोडीको विवाह नभएका र भए पनि वैवाहिक सम्बन्ध पछि तोडिएका घटना हाम्रो समाजमा आइरहँदा ‘सुम्निमा’ उपन्यासको यर्थातता नसकिएको पुष्टि हुन्छ । कोशी टटमा सुम्निमाले सोमदत्तलाई भनिन् “गर्मीको याम बडो अल्छी लाग्दो हुन्छ, मनमा केके कुरा आइरहन्छ, बालुवामा उठेको तातो बाफ जस्तो, तिमीलाई त्यस्तो हुँदैन सोमदत्त ?” उपन्यासको यस वाक्यले बिपीलाई कसरी यौनलाई साहित्यमा मर्यादित तरिकाले प्रस्तुत गर्दथे भन्ने प्रस्ट्याउँछ ।        साथै प्रेमले मानिसलाई शारीरिक रुपमा टाढा भए पनि मानसिक रुपमा नजिक ल्याउँछ भन्ने उदाहरण सुम्निमा मार्फत दिएका छन् । विश्वेश्वरप्रसाद कोइरालाले साहित्यमा जे लेखे खुलेर र स्वतन्त्र भएर लेखे । त्यसकारण नै शायद उनले आफुलाई साहित्यमा आफु अराजकतावादी हुँ भनेर स्विकारेका थिए । राजनीतिकर्मी भएर पनि उनले साहित्यमा भने राजनीतिलाई त्यति स्थान दिएका छैनन् । लामो समय जेल नबसेका भए बिपीलाई केबल एउटा प्रधानमन्त्रीको रुपमा मात्र इतिहास चिन्थ्यो तर साहित्यकार बिश्वेश्वर प्रसादको नामले चिन्थेन । सुन्दरीजेलमा उनले ‘सुम्निमा’, ‘तीन घुम्ति’, ‘बाबु आमा र छोरा’ लगायत चर्चित उपन्यास लेखेका थिए । उनकै साहित्यमा विद्यावारिधि गर्नेको संख्या १० कटेको छ । उनका जीवनीदेखि लिएर कथाहरु विद्यालयदेखि विश्व विद्यालयका नेपाली र अंग्रेजी विषयका पाठमा पनि राखिएका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्