विष्णु प्रसाद चौलागाई एउटा छुट्टै चरित्र भएका काभ्रेली पत्रकार हुन् । २०४६ सालको परिवर्तन पछि शिक्षक हुँदै पत्रकारिता क्षेत्रमा लागेर पहिचान बनाएका चौलागाई गत वर्ष कोरोना लागेर हामीबाट विदा भएका थिए । पत्रकारीता त्यसमा पनि विज्ञापन संकलन गर्ने खुवि विष्णुका दाँजोमा काभ्रेली कोही पत्रकारले त्यस्तो काम गर्न सकेका छैनन् । विष्णु काभ्रेटाइम्समा आवद्ध हुँदा निक्कै नम्र र सहयोगी भावले हामीसँग जोडिन पुगेका थिए । बिष्णुका आफ्नै योजना, सपना, उद्देश्य, लक्ष्य थिए होलान तर पनि काभ्रे टाइम्सलाई काभ्रेली माझ पु¥याउन उनले गरेको योगदान अतुलनिय छ । यस कारण पनि हामी विष्णुप्रसाद चौलागाईलाई सम्झन चाहान्छौँ । कोरोना भाइरसको पहिलो लहरमा नै हामीबाट खोसेर लगेका काभ्रेली पत्रकार विष्णुको वार्षिक पूण्यतिथिमा हामी भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै उनको आत्मा नभट्कियोस भन्न चाहन्छौँ । उनले सोचेका र गर्न खोजेका कामहरु उनका सन्तान, भाई, भतिजा र उनलाई प्रेरणा ठान्नेहरुले पुरा गरुन् । मिहेनत र विष्णुका लगनशिलताको कर्मले नै उनको नाम रहेको हो । आज जे जति नाम,दाम र आर्जन गरेका निशानाहरु छन् । त्यो सबै विष्णुकै मिहेनतको फल हो । विडम्बना अल्पआयूमै ती चिजको उपयोग, उपभोग र विलास गर्न नपाउदैँ हामीबाट विष्णु विदा भए । हामीले बुझ्नु पर्ने कुरा के हो भने भौतिक सुख सुविधा भन्ने कुरो हाम्रो जिन्दगी रहे सम्म मात्र हो । हामीले कमाउनु पर्ने नाम हो, राख्नु पर्ने कृति हो र मान्छेका मनमनमा बस्न सक्नु पनि कमाउनु हो । जिन्दगीभर लोकतान्त्रीक पार्टीमा रहेका विष्णु जिवनका अन्तिम दिनमा वेग्लै कित्तामा पुगेको खवर सुन्दा मलाई नमिठो लागेको थियो । यो उनको महत्वकांक्षाको परीणाम थियो । जिन्दगीभरी साथीरहेकाहरु पार्टी र कित्ता परिवर्तन पछि टाढिए उनको आफ्नो पार्टी पनि अर्कै भयो । उनले नेकपामा रहँदा सन्तुष्ट नभएको कुरा मलाई फोनमा बताउँथे । यस कारण हामीले बुझ्नु पर्छ हामी जहाँ छौँ त्यही रमाउनु पर्छ आयाराम गयाराम गर्दा दुःख पाउन पनि सकिन्छ । मानसम्मान पनि नहुन सक्छ । काभ्रेली पत्रकारहरु ३२ जनालाई कोरोना लाग्दा उनलाई मात्र हामीले गुमाउनुको पिँडा ३१ जनाले गहिरो अनुभव गरेका होलान् भने उनीसँगै काम गरेका हामी साथिहरु उनको अभावले न्यास्रो मात्र हैन अपुरनिय क्षतिको अनुभव भएको पक्कै हुनु पर्छ । मलाई त उनको अन्तिम कुराकानीले झस्काउछ । “आर.एल.जी– मैले नयाँ कार किनेको छु । तपाई नेपाल आउँदा म घुमाउँछु । कोशिपारी लैजान्छु एक पटक हामी दुबै पहिला जस्तै रमाउने ल” भनेका ती शब्द मेरो कानमा गुञ्जन्छ । म विष्णुलाई यस्तै कुराले र काभ्रे टाइम्समा काम गर्दा र पछि भएका तितामिठा अनुभव सम्झन्छु । ज्या विष्णु वितेको पनि एक वर्ष पो भइ सकेछ । हार्दिक श्रञ्दान्जली विष्णु जी ।
