दशैंका बारेमा यो सानो ठाउँमा लेख्न सम्भव छैन तर पनि दशैं नेपाल लगायत विश्वका कुना कुनामा धुमधामले मनाइन्छ ।विजयदशमीका भगवान रामको विजयको रूपमा अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति–पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्षोउल्लास तथा विजयको पर्व हो । बिशेष त संसारभरका हिन्दुजनले यो पर्व विभिन्न रूपमा मनाउछन। सिक्किममा पनि नेपालमा जस्तै घटस्थापना, फूलपाती, विजया दशमी आदि धूमधामसित मनाइन्छ, नेपालमा जस्तै गरी दशैं मनाउने अन्य स्थानहरूमा पश्चिम बङ्गाल उत्तरी जिल्लाहरू जसमा दार्जिलिङ्ग, जलपाईगुडी र सिलगुडीमा पनि मनाईन्छ । भारतका अन्य क्षेत्रहरुमा उत्तर–पूर्वी नेपाली बसेका राज्यहरू जस्तै मेघालय, आसाम, अरुणाचल प्रदेश, नागाल्यान्ड, मणिपुर, त्रिपुरा, उत्तराखण्डको देहरादुनमा पनि नेपालका नेपालीले मनाए जस्तै सबै धर्म जातका भारतीयहरुले यो चाड मनाईन्छ । पञ्जाबमा दशहरा नवरात्रिका नौ दिनको उपवास राखेर मनाइन्छ। पश्चिम बङ्गालमा यो पर्व दुर्गा पूजाको रूपमा नै मनाइन्छ। यो बङ्गालीको सबैभन्दा महत्त्वपूर्ण पर्व हो। बङ्गालमा पाँच दिनसम्म यो पर्व मनाइन्छ। यहाँ देवी दुर्गालाई भव्य सुशोभित पण्डालहरूमा सजाइन्छ। देशका नामी कलाकारहरू बोलाएर दुर्गाको मूर्ति तैयार गरिन्छ। तमिलनाडु, आंध्र प्रदेश एवं कर्नाटकमा दशहरा नौ दिनसम्म चल्छ जसमा तीन देवीहरू लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ। पहिला तीन दिन लक्ष्मी – धन र समृद्धिकी देवीको पूजन हुन्छ। दोस्रो तीन दिन सरस्वती– कला र विद्याकी देवीको अर्चना गरिन्छ र अंतिम दिन देवी दुर्गा–शक्तिकी देवीको स्तुति गरिन्छ। पछिल्लो समयमा विश्वका ती स्थानहरू जहाँ नेपालीहरू बसोबास गर्दैछन् सबै ठाउँमा दशैँ मनाइन्छ । भुटान म्यानमार ,मोरिसस र फिजीमा पनि बर्षौ पहिले देखि दशैँ मनाइन्छ । दशैंको ईतिहास देश, संस्कृति र समय अनुसार दशैँबारेको इतिहासमा समानताका साथै विविधता पनि छ । दशैंका बारेमा लेख्दा पुस्तक नै बन्छ ।दशैंलाई बडा दशैं (नवरात्र) दशहरा, विजया दशमी, आयुध–पूजा आदि नामले चिनिन्छ । यो चाड नेपाली हरूको प्रमुख पर्व हो । विशेषगरी हिन्दू धर्मावलम्बीहरुले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म मनाउने यो पर्व नेपालको सबै भागमा मनाइने राष्ट्रिय चाड हो । आश्विन शुक्ल प्रतिपदामा जमरा राखि नवमीसम्म दुर्गासप्तशती (चण्डी) पाठ गरि नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजा आजा र आराधाना गरिन्छ । विजयादशमिको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावनमाथी विजय हाशिल गरेको उपलक्ष्यमा÷ खुसियालीमा नवदुर्गा भवानीको प्रसादस्व रुप रातो टिका र जमरा लगाउने चलन छ । आफ्ना नाता कुटुम्ब ठूला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरु लगाउने, आफ्नो क्षमताअनुसार मिठो खाना खाने–ख्वाउने, घर आंगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ । दशैंको उत्सव शक्ति र शक्तिको समन्वय गराउने उत्सव हो । हिन्दू संस्कृति प्राचीनकालदेखि नैं वीरता र शौर्यको समर्थक रहेकोछ । प्रत्येक व्यक्ति र समाजको रगतको वीरताको प्रादुर्भाव होस् भन्ने ध्येयले नैं दशैंको उत्सव मनाइन्छ। यदि कतै युद्ध अनिवार्य नैं भयो भनें शत्रुको आक्रमणको प्रतीक्षा नगरी उमाथि आक्रमण गरेर जीत्नु नैं कुशल राजनीति हो। भगवान रामको समयदेखि नैं यो दिन विजय प्रस्थानको प्रतीक निश्चित भएको भन्ने भनाई छ। भगवान रामले रावणसित युद्ध गर्न यसै दिन प्रस्थान गरेका थिए। मराठा रत्न शिवाजीले पनि औरंगजेवको विरुद्ध यसै दिन प्रस्थान गरेर हिन्दू धर्मको रक्षा गरेका थिए। इतिहासमा अनेक उदाहरण छन् जब हिन्दू राजा यस दिन विजय–प्रस्थान गर्दथे । रावणलाई मार्दै रामको चित्रण यस पर्वलाई भगवतीको ’विजया’ नाममाथि पनि ’विजया दशमी’ भनिएको हो। यस दिन भगवान रामचंद्र चौध वर्षको वनवास भोगेर तथा रावणको वध गरेर अयोध्या पुगे। यस कारण पनि यस पर्वलाई ’विजया दशमी’ भनिन्छ। यस्तो मानिएको छ कि आश्विन शुक्ल दशमीमा तारा उदय हुने समय ’विजय’ नामक मुहूर्त हुन्छ। यो काल सर्वकार्य सिद्धिदायक हुन्छ। यसकारण पनि यसलाई विजया दशमी भनिएको हो । यस्तो पनि मानिएको छ कि शत्रुमाथि विजय पाउनका लागि यसै समयमा प्रस्थान गर्नुपर्छ। यस दिन श्रवण नक्षत्रको योग अझ शुभ मानिएकोछ। यस दिन दु¥योधन ने पाण्डवलाई जुवामा पराजित गरेर बाह्र वर्षको वनवासको साथ तेह्रौँ वर्षमा अज्ञातवासको शर्त दिएका थिए। तेह्रौँ वर्षमा यदि उनीहरूको पत्ता लागे पाण्डवले पुनः वनवास भोग्नु पर्ने थियो। यसै अज्ञातवासमा अर्जुनले आफ्नो धनु एउटा शमी वृक्षमा राखेका थिए तथा स्वयं राजा विराटको दरवारमा नौकरी गरेकाथिए। जब गोरक्षाको लागि विराटका पुत्रले अर्जुनलाई आफ्नो साथ लिए, तब अर्जुनले शमी वृक्षबाट आफ्ना हतियार उठाएर शत्रुमाथि विजय प्राप्त गरेका थिए। विजया दशमीको दिन भगवान रामचंद्रजीले लंकामाथि चढाई गर्न प्रस्थान गर्दा शमी वृक्षले भगवानको विजयको उद्घोष गरेको बताइन्छ। विजयकालमा दशमीको पूजा यसै कारण भएको हो । (सन्दर्भ सामाग्री नेपाली वियिकलिपिडिया र बिभिन्न दशैं पुस्तकबाट)
