IMG-LOGO

बालेन शाह र सनातन संस्कृतिः एक अन्तरसम्बन्ध

 मंगल, फागुन १९, २०८२  – आचार्यश्री माधवशरण

            बालेन्द्र शाह उर्फ बालेन नेपालको आधुनिक राजनीतिक परिदृश्यमा एक प्रमुख व्यक्तित्वका रूपमा उभिएका छन् । २७ अप्रिल १९९० मा काठमाडौं नरदेवीमा जन्मिएका यी युवा र्यापर, संरचनात्मक इन्जिनियर र पूर्व काठमाडौं महानगरपालिकाका मेयर हुँदै अहिले कुनै एक राजनीतिक दलको नेता बन्न पुगेका छन् । राजनीतिमा आउनुका पछाडि अनेकौं शंकास्पद पृष्ठभूमि भएपनि उनको जीवनयात्रामा सांस्कृतिक विविधता, धार्मिक सहिष्णुता र राष्ट्रवादी भावनाको मिश्रण भएको भने भेटिन्छ । आउने दिनमा उनले गर्ने गतिविधिले त्यस्तो शंकास्पद गतिविधिको पनि निरूपण अवश्य गर्ला ।       नेपालका तीर्थस्थलहरूको भ्रमण र प्रचार, उनको सांस्कृतिक धार्मिक विरासत, सनातन हिन्दू बौद्ध किरात धर्महरूप्रतिको उनको अनुराग अनुकरणीय छ । यसलाई उनको सांस्कृतिक लगावसंग मात्र होइन उनको जीवन दर्शन, नेपालको समसामयिक राजनीतिक र सांस्कृतिक सन्दर्भमा पनि जोडेर हेर्न सकिन्छ । यी गतिविधिहरूले उनको देशप्रेमको भावनालाई उजागर गर्दछ । एउटा राष्ट्र प्रेमको उदाहरण हो । बालेन शाहको पारिवारिक सांस्कृतिक पृष्ठभूमि नेपालको बहुलवादी समाजको प्रतिबिम्ब हो । उनी मिथिला (मैथिली) मूलका मदेशी परिवारमा जन्मिएका हुन् । उनका पिता रामनारायण शाह आयुर्वेदिक चिकित्सक थिए, जसले महोत्तरी जिल्लाबाट काठमाडौंको नरदेवी आयुर्वेदिक अस्पतालमा सरुवा भएपछि परिवारलाई राजधानी ल्याएका थिए । आमा ध्रुवदेवी शाह गृहिणी थिइन् । यो परिवार मधेश प्रदेशको महोत्तरीबाट आए पनि काठमाडौंमा नेवार समुदायसँग घुलमिल भएको छ । बालेनले तराई मूलको वर्ण व्यवस्था अनुसार एउटा कुलिन क्षेत्री समुदायको प्रतिनिधित्व गर्दछन् । उनको पुर्खौली सांस्कृतिक विरासतले नेपालको हिन्दू समाजमा उच्च स्थान ओगट्छ, तर उनको परिवार काठमाडौँको नेवार बौद्ध समुदायसँग पनि जोडिएको छ, यो मिश्रण नेपालको सांस्कृतिक विविधताको प्रतीक हो, जसले हिन्दू र बौद्ध परम्पराहरूको सहअस्तित्वलाई दर्शाउँछ । धर्मो रक्षति रक्षित अर्थात् धर्मले रक्षित हुनेलाई रक्षा गर्छ । यो बालेनको पारिवारिक जीवनमा लागू हुन्छ, किनकि उनको परिवारले आयुर्वेदिक परम्परा (जो हिन्दू सनातन धर्मको हिस्सा हो) लाई जीवित राखेको छ । तर, आधुनिकतामा प्रवेश गर्दा बालेनले यो विरासतलाई राजनीतिक रूपमा प्रयोग गरेका छन् कि छैनन् भन्ने प्रश्न उठ्छ । उनको परिवार राजनीतिक पृष्ठभूमिबाट टाढा छ, जसले उनलाई आउटसाइडर बनाएको छ, तर यो नै उनको लोकप्रियताको कारण पनि हो । बीपिका शशांक, गिरिजाका सुजाता, महेन्द्रनारायणका बिमलेन्द्र, गणेशमानका प्रकाशमान, मदनकी विद्या, प्रचण्डकी रेनु या यस्तै यस्तै भएको भए बालेनको राजनीतिक संलग्नता राष्ट्रिय स्वतन्त्र पार्टीसँग भए पनि सायद बालेनले यति महत्व पाउँदैन थिए होलान् । त्यस्तो नभएका कारण नै २०२२ मा उनी स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं मेयर निर्वाचित भएका थिए, जसले नेपालको युवा राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ । डिसेम्बर २०२५ मा उनले मेयर पदबाट राजीनामा दिएर आरएसपीमा सामेल भए, सात बुँदे सम्झौता अनुसार, अन्यथा नभए उनी आरएसपीको संसदीय दल नेता र प्रधानमन्त्री उम्मेदवार बनेका छन् ।        यो पार्टीको अहिलेसम्मको गतिविधि हेर्दा युवा–केन्द्रित, भ्रष्टाचार विरोधी र सेन्ट्रिस्ट छ, जसले नेपालको परम्परागत दलहरूलाई चुनौती दिएको छ । बालेनको संलग्नताले आरएसपीलाई युवा समर्थन बढाएको छ भने उनका गतिविधिहरूमा सांस्कृतिक राष्ट्रवादको छाया स्पष्ट देख्न सकिन्छ । कर्मण्येवाधिकारस्तेमा फलेषु कदाचन (कर्ममा मात्र अधिकार छ, फलमा होइन) ले प्रधानमन्त्री पदलाई पहिले नै शर्तको रुपमा राखेर आएका कारण उनको राजनीतिक यात्रालाई प्रतिबिम्बित नगर्ला तर उनी कर्मठ छन्, फल (जस्तै प्रधानमन्त्री पद) मा उनको दृष्टिकोण राष्ट्रवादी हो भनेर भन्न भने सकिन्छ । यो संलग्नताले नेपालको राजनीतिलाई नयाँ दिशा दिन सक्छ, तर यसले पुराना दलहरूसँग टकराव पनि निम्त्याउन सक्छ ।       नेपालका मन्दिरहरू र सांस्कृतिक पहिचानसँग सम्बन्धित स्थलहरूमा उनको भ्रमणले हिन्दू सनातन धर्मसँग बालेनको सम्बन्ध गहिरो छ भन्ने जनाउँछ । उनको यो गतिविधि व्यक्तिगत र राष्ट्रवादी रूपमा प्रकट छ । उनी हिन्दू हुन् र पिताको मृत्युपछि १३ दिने हिन्दू संस्कार गरेका छन् । यसमा कुनै शङ्का छैन । तर, के उनको धारणा सेकुलर छ त ! ? नेपाललाई हिन्दू राष्ट्र बनाउने बारे उनले स्पष्ट दृष्टिकोण के हो ! ? आरएसपीको घोषणापत्रमा सन्तुलित विदेश नीति उल्लेख छ, तर हिन्दू राष्ट्रवादका बारेमा केही उल्लेख छैन । यद्यपि उनको र रवि लामिछानेको हिन्दू बौद्ध किरात परम्पराहरूमा आधारित सांस्कृतिक धरोहरको भ्रमण र आस्था अनि रुझानले भने सनातन हिन्दू बौद्ध किराँत राष्ट्रवादप्रति स्पष्ट संकेत गर्दछ । विगतमा बालेनको सच्चा धार्मिक एवं सांस्कृतिक राष्ट्रवादको रूझान उनले २०२३ मा अदिपुरुष फिल्म प्रदर्शनमा रोक, जसमा सीतालाई भारतकी छोरी भनिएको थियो र मेयर हुँदा आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुबाट पनि प्रष्ट हुन्छ उनी कति राष्ट्रबादी र धर्म संस्कृतिप्रति प्रतिबद्ध छन् भन्ने कुरा । जुन नेपालको धार्मिक सांस्कृतिक राष्ट्रवादी भावनासँग जोडिएको थियो, जसले रामायणको सन्दर्भमा नेपालको दाबीलाई मजबुत बनाउँछ । रामो विग्रहवान् धर्मः (राम धर्मका अवतार हुन्) । बालेनको प्रदर्शन रोक कदम भारत विरोधी त छँदै छ, यसले सनातन राष्ट्रबादी संस्कृति र धर्मको समेत रक्षा गरेको छ । यो सम्बन्ध व्यक्तिगत भक्ति र राष्ट्रिय पहिचानको मिश्रण हो, जसले नेपालको धर्म निरपेक्ष संविधानलाई चुनौती दिएको छ ।       नेपालका विभिन्न तीर्थस्थलहरूको भ्रमण र प्रचारमा बालेन सक्रिय छन् । उनी पाथिभरा मन्दिर, जानकी मन्दिर, काठमाडौँ उपत्यकामा हिन्दू बौद्ध मिश्रित संस्कृतिहरूमा संलग्नता, पूर्वी नेपालमा किरात धर्मसँग सम्बन्धित आस्थाका केन्द्रहरू, पश्चिम नेपालमा खस आर्यहरूसंग सम्बन्धित बडिमालिका जस्ता तीर्थस्थलहरुको भ्रमण यो केवल चुनावी अभियान मात्र थिएन, यो त सारा नेपालीहरूको भावनाको प्रतिनिधित्व पनि थियो । यी भ्रमणहरुलाई सांस्कृतिक पर्यटन प्रवर्धनसँग पनि जोड्न सकिन्छ । सायद यसैको प्रतिध्वनी हुनुपर्दछ आरएसपीको प्रतिबद्धतामा धार्मिक र सांस्कृतिक पर्यटनलाई मजबुत बनाउने विषय उल्लेख छ । यो तहको प्रचार अहिलेसम्म भएको थिएन जसले नेपालको सांस्कृतिक सम्पदालाई विश्वस्तरमा चिनाओस् । हाम्रो इतिहास महाभारतले पनि भनेको छ, तीर्थयात्रा परं तपः (तीर्थयात्रा उच्च तपस्या हो) ले यी भ्रमणको महत्व दर्शाउँछ । यो राजनीतिक रणनीति पनि होला, जसले युवालाई धार्मिक भावनासँग जोडेर मत आकर्षित गर्छ । तर जे होस् यसले नेपालको पर्यटनलाई बढावा दिन सक्छ । यसो भयो भने रास्वपाको लागि मात्र हैन मुलुककै लागि फाइदाकै विषय हो ।       राजनीतिमा धार्मिक भावना व्यक्तिको धर्म संस्कृतिसंगको अनुरागसंग पनि जोडेर हेर्नुपर्ने हुन्छ । बालेनको पुर्खाको सांस्कृतिक धार्मिक विरासत मैथिली र मधेशी संस्कृतिमा आधारित छ, जसले मिथिला संस्कृति (जसमा रामायण र जनकपुर जोडिएको छ) लाई प्रतिनिधित्व गर्दछ । नेवार संस्कृतिसँगको घुलमिल र मिथिला हिन्दू बौद्ध प्रभावले यो विरासतलाई मिश्रित बनाएको छ । यस्तो मिश्रणले नेपालको बहुलवादलाई दर्शाउँछ, जसमा हिन्दू, बौद्ध र किरात तत्वहरू घुलमिल छन् । ऋग्वेदले भन्छ एकं सद् विप्रा बहुधा वदन्ति (सत्य एक छ, विद्वानहरूले विभिन्न नाम दिन्छन्) ले यो विविधतालाई व्याख्या गर्छ । तर, बालेनले यो विरासतलाई  भने राजनीतिक रूपमा कम प्रयोग गरेका छन्, जसले उनको पोस्ट–एथनिक दृष्टिकोणलाई देखाउँछ । यो सकारात्मक छ, किनकि यसले जातीय विभेद कम गर्छ । नेपाललाई पश्चिमाहरूको स्वार्थमा जबर्जस्त खास गरेर तत्कालीन माओबादी कम्युनिष्टलाई मुलधारको राजनीतिमा समावेश गर्न, पश्चिमाहरुको अनुदानमा कम्युनिष्टहरूद्वारा संचालित गैह्र सरकारी संस्थाहरुको सक्रियतामा सन् २००७ मा धर्म निरपेक्ष राष्ट्र बनाइएको हो । यो विषयमा नेपाली कांग्रेस कम्युनिष्टसंग सती गएकै हो ।       माथि यति विषयहरू पस्किसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी र यसका समर्थकहरुले के बुझ्नुपर्छ भने, के बालेनको मौन तर सांकेतिक धार्मिक सांस्कृतिक कुटनीतिले धर्म निरपेक्षतालाई बढावा दिन्छ या  हिन्दू राष्ट्रवादलाई कमजोर बनाउन सक्छ ? या हिन्दू बौद्ध किरात धर्म सापेक्षताको अभियानलाई अझ उजागर गर्न सक्छ ? । पक्कै पनि उनको यस्तो अभियानले ३ करोड नेपालीहरूको भावनाको कदर गरेको छ । हिन्दू बौद्ध किरात धर्मावलम्बीहरूको चाहना अनुसार धार्मिक सापेक्षतावादलाई अझ मजबुत बनाएको छ, धार्मिक सहिष्णुतालाई बढावा दिएको छ । बालेन शाह नेपालको नयाँ पुस्ताको प्रतिनिधि हुन्, जसले सांस्कृतिक विरासत र राजनीतिलाई जोडेका छन् । जुन विरासतलाई जोड्न राष्ट्रिय प्रजातन्त्र पार्टीले सुरुदेखि नै जोड गरेको थियो । नेपाली कांग्रेस र कम्युनिस्टका पनि केही हिन्दू बौद्ध किरात धर्म दर्शनसँग सम्बन्धित अनुयायीहरूले प्रयास गरेका छन् । बालेनको जीवन सनातन दर्शन शास्त्रहरूको सहिष्णुता र कर्मठताको उदाहरण हो । यो यात्राले नेपालका अन्य धर्मसापेक्षताको अभियानसँग जोडिएका राजनीतिक दल हरू र संघसंस्था एवं व्यक्तिहरूको अभियानमा साथ दिई नेपाललाई नयाँ दिशा दिन सकोस् । सबैलाई साधुवाद छ । सबैको जय होस् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्