प्रतिनिधि सभाका १६५ स्थानका लागि फागुन २१ गते हुने निर्वाचनका लागि जम्माजम्मी २ दिन बाँकी छ । म सम्पूर्ण मतदाताहरूलाई विवेकसम्मत ढङ्गले आफ्नो मताधिकार प्रयोग गर्न अनुरोध गर्दछु । मेरो रोजाइको दल गगनकुमार थापाको नेतृत्वमा बदलिएर नयाँ उर्जाका साथ जनसमक्ष आएको नेपाली काङ्ग्रेस हो, त्यसको चिह्न रूखमा भोट हाली त्यो प्रतिबद्ध लोकतान्त्रिक दललाई विजयी बनाउनू हुन मेरो विनम्र अनुरोध छ । साथै, आजको घडीमा ठूलो हो–हल्ला गर्दै र देशको राज्य प्रणालीलाई नै अपहरणको शैलीमा कब्जा गर्छु भन्दै चुनावी मैदानमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा भने मत जानू हुँदैन भन्ने कुरातर्फ तपाइँहरूको ध्यानाकर्षण गराउन चाहन्छु किनकि, त्यो दललाई सत्तामा पु¥याउनू भयो भने राष्ट्र केही गंभीर कानूनी, नैतिक र कुटनीतिक समस्यामा फस्नेछ । ती समस्या जटिल हुनेछन् जसको समाधान कठिन हुनसक्छ । क्रमवार भन्नू पर्दा ः १. त्यस दलका सभापति रवि लामिछानेमाथि लागेका र अहिले पनि पुर्पक्षमा रहेका सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका आधा दर्जनभन्दा बढी मुद्दा रास्वपाले चुनाव जिते पनि हारे पनि जस्ताका तस्तै रहनेछन् । राष्ट्रका अगाडि तिनलाई के गर्ने भन्ने बडो गाह्रो प्रश्न खडा हुनेछ । ती मुद्दाहरूलाई बिना आधार त्यसै फासफुस पारेर उनलाई क्लिनचिट दिन खोजेमा देशको न्यायप्रणालीकै धज्जी उडाउनू पर्नेछ । ती मुद्दाहरू बाहेक रवि लामिछाने एक पटक जेल तोडेर भागेका बन्दी पनि हुन् । उनको त्यो आपराधिक कृत्यलाई पनि सजिलै बिर्सिन सकिँदैन । २. रास्वपाका कतिपय कार्यकर्ताहरू भदौ २४ गतेको देशव्यापी आगजनी, तोडफोड र लूटपाटमा भौतिक रूपले संलग्न भएका हज्जारौं प्रमाण सुरक्षित छन् । ती मध्ये ९ जनालाई त्यस दलले आसन्न चुनावमा उमेदवार बनाएको छ । त्यस्ता विध्वंशका एजेन्टहरूले जितेर आएभने तिनले कस्तो शासन देलान् ? देशको छवि कस्तो रहला ? ३. भदौ २४ गतेको विध्वंशको योजना तयार गर्न र डिजिटल माध्यमहरूबाट त्यसलाई व्यवहारमा उतार्न काठमाडौका तत्कालीन मेयर बालेन्द्र साहले नेतृत्व गरेको एउटा साइबर टीम सक्रिय रहेको प्रमाण छताछुल्ल भएको छ । उनै बालेन्द्र साह अहिले रास्वपाका तर्फबाट प्रधानमन्त्री पदका दावेदार बनाइएका छन् । त्यस दिनको विध्वंशको यथातथ्य विवरण र त्यसमा बालेन्द्रको भूमिका एक न एक दिन यकीन हुनेछ नै । नेपाली जनता त्यस्ता संदिग्ध व्यक्तिलाई आफ्नो प्रधानमन्त्री मान्न किन तयार हुने ? ४. रास्वपालाई बहुमत दिनूको अर्थ रवि लामिछानेका सम्पूर्ण गलत क्रियाकलापलाई मान्यता दिनू र उनलाई उन्मुक्ति दिने मार्ग प्रसश्त गर्नू मात्र होइन, भदौ २४ गतेको भीषण आगजनी र विध्वंशका घटनाहरूलाई कार्पेट मुनि लुकाउनू पनि हुनेछ । यो राष्ट्र त्यसो गर्न तयार हुनसक्छ ? ५. भदौ २३ गतेको जेन्जी आन्दोलनलाई स्याबोटेज गरि हिंसामा बदल्न र २४ गतेको देशव्यापी विध्वंशका लागि जमिन तयार गर्न रवि र बालेनहरूले पश्चिमा शक्तिबाट धन–जनको सहयोग लिएको कुराका धेरै प्रमाण छरपष्ट भएका छन् । त्यस क्रममा उनीहरूले फ्री–तिब्बत अभियानका कार्यकर्ताहरूलाई पनि परिचालन गरेका थिए । ती घटनाहरूका क्रममा इन्डो–युएस लबीबाट भएको नग्न हस्तक्षेपबाट हाम्रो छिमेकी मित्र चीन चिढिएको छ । त्यस्तो गंभीर कुटनीतिक गल्ती गर्ने दललाई सत्तामा पुर्¥याउँदा धेरै सोच–विचार गर्नूपर्ने होइन र ? ६. रास्वपालाई जिताउँदा, भदौ २३ र २४ गतेका घटनाहरूको छानबिन गरि दोषीहरूमाथि गर्नूपर्ने कारबाहीको सिफारिससहित प्रतिवेदन पेश गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सधैका लागि लुकाउनू पर्ने दवाब पर्नेछ, जुन राज्यका दृष्टिले सम्भव देखिंदैन । अहिले नै रास्वपाको दवाबमा तयार भइसकेको त्यो प्रतिवेदन सार्वजनिक गर्नबाट रोकी अयोगको म्याद थप गरेको छ अन्तरिम सरकारले । ७. रास्वपाका नेताहरूमा अनुभवको कमी छ, उनीहरूको प्रजातान्त्रिक आन्दोलनमा कुनै योगदान छैन, देश निर्माणका लागि कुनै प्रष्ट भिजन, नीति र कार्ययोजना पनि देखिंदैन । त्यस दलको सामथ्र्यको स्रोत भनेको अल्गोरिद्मका माध्यमबाट ब्रेन वास गरिएका युवा वर्ग हुन् जसको दिमागमा देशका सबै स्थापित दल, नेता र मूल््य–मान्यताहरूप्रति तीव्र घृणाको डोज दिइएको छ । ८. रास्वपाका नेताहरूले यस चुनावमा टिकट बाँड्दा व्यापक आर्थिक चलखेल गरेको नराम्रो खबर सार्वजनिक भएको मात्र होइन, त्यसका कारण पार्टीका कतिपय नेताहरूले पार्टी परित्याग समेत गरेका छन् । उमेदवारको चयन गर्दा समेत पैसा खाने भएपछि नेपाली काङ्ग्रेसका शेरबहादुर देउवा र आरजू राणाभन्दा यिनीहरूलाई कसरी फरक र गतिला मान्ने ? माथिका यी बुंदाहरूको प्रकाशमा म यो चुनावमा रास्वपालाई जिताउनू जोखिमी छ भन्छु । आगे जनताको जो मर्जी !
