प्रेममा समर्पण हुन्छ, हाम्रा वेद पुराण र इतिहासले यही भन्छन् । आधुनिक चलनचल्तीको भाषामा भनिएको प्रणय दिवस, जसलाई पश्चिमा जगतमा “भ्यालेन्टाइन डे” को नामले चिनिन्छ, फेब्रुअरी १४ तारिखमा मनाइने एक आधुनिक परम्परा बनेको छ । यो दिन प्रेमी–प्रेमिका, दम्पती तथा युवायुवतीहरूले फूल, चकलेट, कार्ड र उपहारहरू आदान–प्रदान गरी रोमान्टिक प्रेम व्यक्त गर्छन् । यो परम्परा मुख्य रूपमा पश्चिमी संस्कृतिबाट आएको हो, तर हाम्रो पूर्वीय दर्शनमा प्रेम र समर्पणको कथा बेग्लै छ । पश्चिमाहरूले यसको जड सन्त भ्यालेन्टाइनको कथासँग जोडेका छन् । तर हाम्रा सनातन वैदिक हिन्दू सन्दर्भमा “प्रणय दिवस” शब्द सुन्दा स्वाभाविक प्रश्न उठ्छ, के हाम्रा प्राचीन वेद, पुराण, इतिहास र शास्त्रहरूले यसबारे केही भनेका छन् ? अवश्य पनि हाम्रा शास्त्रहरूले यो विषयमा धेरै कुरा भनेका लेखेका छन् । ख्बभिलतष्लभ मबथ प्रणय÷प्रेम दिवस भनेर पश्चिमाहरुले ईसाई परम्परासँग जोडेका छन् । तर प्रेम भनेको काम, प्रीति, अनुराग, भक्तिको समुच्च अवधारणा हो, यस्तो अवधारणा हाम्रा शास्त्रहरूमा अत्यन्त गहिरो, व्यापक र दिव्य रूपमा वर्णित छ । यो प्रेम वैवाहिक, अन्तरंगी, पारिवारिक तथा भक्तिमूलक सबै रूपमा छ । हाम्रो सनातन हिन्दू धर्मदर्शनले प्रेमलाई कसरी व्याख्या गरेको छ, एउटा सानो चर्चा यस विषयमा गरौं । वेदहरूमा प्रेम र विवाहलाइ आदर्श मानिएको छ । वेदहरू हिन्दू धर्मका मूल स्रोत हुन् । ऋग्वेदको दशौं मण्डलको ८५ औं सूक्तलाई विवाह सूक्त वा सूर्या–सोम विवाह सूक्त भनिन्छ । यो सूक्तमा सूर्या (सूर्यकी छोरी) को सोम (चन्द्र) सँग विवाहको कथा छ, जसलाई मानव विवाहको आदर्श मानिन्छ । यसले पत्नीलाई सम्मान, प्रेम र सहयोगीको रूपमा चित्रण गर्छ। विवाहमा आज पनि यो सूक्तका मन्त्रहरू पढिन्छन् । एक सुन्दर ऋचा, चित्तिरा उपबर्हणं चक्षुरा अभ्यञ्जनम् । ध्यौर्भूमिः कोश आसीद् यदयात् सूर्या पतिम् ।। विचार उनको सिरानी थियो, दृष्टि आँखाको अञ्जन थियो; स्वर्ग र पृथ्वी उनको कोष थियो जब सूर्या आफ्नो पतिको घरतर्फ लागिन् । आहा कति भक्तिभाव र समर्पण छ यहाँ । यहाँ प्रेमलाई केवल शारीरिक मिलन नभई आत्मिक र भावनात्मक एकताको रूपमा देखाएको छ । विवाहमा साथ फेरा घुमेको त यहाँहरुलाई थाहा छ होला । त्यस्तै गरेर विवाहको सात पाइला (सप्तपदी) सँग जोडिएको एउटा सुक्त छ, जुन गृह्यसूत्रहरूमा छ तर वेदीय मूल छ, सखा सप्तपदा भव । सखायौ सप्तपदा बभूव । सख्यं ते गमेयम् । सख्यात् ते मायोषम् । सख्यान् मे मायोष्ठाः ।। तिमीले मसँग सात पाइला हिँड्यौ, अब मेरो साथी बन । हामी सात पाइला सँगै हिँड्यौं, अब साथी बनौं । म तिम्रो मित्रता प्राप्त गर्छु । तिमीबाट मित्रता नछुटोस् । मबाट पनि तिमी नछुटियोस् । यहाँ प्रेम र विवाहलाई मित्रता, समानता र आजीवन साथको रूपमा स्थापित गरेको छ । यसरी नै अथर्ववेदमा पनि प्रेम आकर्षण, वैवाहिक सुख र सन्तानका लागि विशेष मन्त्रहरू छन् । अथर्ववेदको कामात्मा सूक्तमा एउटा अत्यन्त प्रसिद्ध प्रेम मन्त्र छ, यथा वृक्षं लिबुजा समन्तं परिषस्वजे । एवा परि ष्वजस्व मां यथा मां कामिन्यसो यथा मन्नापगा असः ।। यथा सुपर्णः प्रपतन् पक्षौ निहन्ति भूम्याम् । एवा नि हन्मि ते मनो यथा मां कामिन्यसो यथा मन्नापगा असः ।। जसरी लता अर्थात् लहरो जातिका बिरुवाहरू जस्ले वृक्षलाई पूर्ण रूपमा अँगालो हाल्छन्, त्यसरी नै तिमी मलाई अँगालो हाल, ताकि तिमी मप्रति प्रेमी होऊ र मबाट कहिल्यै टाढा नजाऊ । आहा कति सुन्दर भाव । कति दिव्य प्रेम । सुक्तले अगाडि भनेको छ, जसरी चील उड्दा पखेटाले पृथ्वीलाई छुन्छ, त्यसरी नै म तिम्रो मनलाई बाँध्छु, ताकि तिमी मप्रति प्रेमी होऊ र मबाट कहिल्यै टाढा नजाऊ । यो मन्त्रले प्रेमको तीव्र आकर्षण र एकतालाई प्रकृतिको उपमा दिएर व्यक्त गरेको छ । अथर्ववेदका यस्ता मन्त्रहरूले देखाउँछन् कि प्राचीन कालमा पनि प्रेम, आकर्षण र वैवाहिक सुखका लागि वैज्ञानिक तथा आध्यात्मिक उपायहरू थिए । वेदहरूले प्रेमलाई चार पुरुषार्थहरू, धर्म अर्थ काम (प्रेम) मोक्ष, मध्ये एक पुरुषार्थको रूपमा पनि मान्यता दिन्छन्, तर यसलाई धर्म र अर्थसँग सन्तुलित गर्नुपर्छ भन्ने सन्देश दिन्छन् । पुराणहरूमा दिव्य प्रेम र कामदेवपुराणहरूमा प्रेमका कथाहरू जीवन्त छन् । कामदेव नाम हामी सबैले सुनेकै हो । प्रेम, कामना र सौन्दर्यका देवता हुन् यिनी । शिवपुराण, मत्स्यपुराण र अन्यमा उल्लेख छ कि देवताहरूले तारकासुरलाई मार्न शिव–पार्वतीको विवाह गराउन कामदेवलाई शिवको तपस्या भंग गर्न पठाए । कामदेवले फूलको बाण प्रहार गरे, शिव क्रोधित भएर तेस्रो नेत्रबाट अग्नि निकालेर कामदेवलाई भस्म गरे । पछि रति (कामदेवकी पत्नी) को प्रार्थनामा शिवले उनलाई पुनर्जीवित गरे । यो कथा प्रेमको शक्ति, त्यसको दुरुपयोग र नियन्त्रणको सुन्दर उदाहरण हो । कामदेवलाई अनङ्ग प्रसाद शरीर नभएको, शरीररहित पनि भनिन्छ, जसले प्रेमलाई सर्वव्यापी बनाउँछ । यस्तैमा राधा–कृष्णको प्रेम भक्तिको सर्वोच्च रूप हो । ब्रह्मवैवर्त पुराण, पद्म पुराण र जयदेवको गीत गोविन्दमा राधाको कृष्णप्रतिको प्रेमलाई अमर बनाइएको छ । यथा राधा प्रिया विष्णोस्तस्याः कुण्डं प्रियं तथा । सर्वगोपिषु सैवैका विष्णोरत्यन्तवल्लभा ।। जसरी राधा विष्णुलाई (कृष्णलाई) सबैभन्दा प्रिय छिन्, त्यसरी नै उनको कुण्ड (राधाकुण्ड) प्रिय छ । सबै गोपीहरूमा उनी एक्लै विष्णुको अत्यन्त प्रिय छिन् । यहाँ राधा र कृष्णको प्रेमलाई भक्तिको चरम रूप मानिएको छ, जसमा शारीरिक आकर्षणभन्दा आत्मिक मिलन प्रधान छ । यसरी नै हाम्रा पुराण र इतिहासहरूमा हामीले पढ्ने गरेका छौं शिव–पार्वतीको प्रेम र तपस्या । पार्वतीको तपस्या र शिवको समर्पण प्रेमको प्रेमको अनन्त संयोजन हो । पार्वतीले शिव प्राप्त गर्न कठोर तपस्या गरिन्, जसले प्रेमलाई धैर्य र समर्पणसँग जोड्छ । हाम्रा इतिहास जसलाई पुराण र महाकाव्यहरूमा वर्णन गरिएको छ, जस्तो महाभारत, रामायण, श्रीमद भागवत महापुराण, जहाँ राम–सीताको आदर्श प्रेम, विवाह, वियोग, वनवास, गुप्तवास, अग्निपरीक्षा, पुनर्मिलन आदिसँग सम्बन्धित प्रशस्त इतिहास पढ्न पाउँछौँ । महाभारतमा कृष्ण–रुक्मिणी, अर्जुन–सुभद्रा जस्ता प्रेम कथाहरू छन् । गान्धर्व विवाह (प्रेम विवाह) लाई शास्त्रहरूले मान्यता दिएका छन्, जस्तो भीमको हिडम्बा नाम गरेकी राक्षसनीसँगको प्रेम र समर्पण । तर यसलाई कुल, धर्म र समाजसँग जोडेर गर्नुपर्छ भन्ने सन्देश छ । प्राचीन नेपाल (लिच्छवि काल) का अभिलेखहरूमा पनि वैवाहिक प्रेम र परिवारको महत्त्व उल्लेख छ । भगवद्गीतामा प्रेमको उच्चतम रूप छ, जसलाई भक्ति र समर्पणको माध्यमबाट प्रस्तुत गरिएको छ । अर्जुनले कृष्णलाई भन्छन्, तस्मात् प्रणम्य प्रणिधाय कायं प्रसादये त्वामहम् ईशमीड्यम् । पितेव पुत्रस्य सखेव सख्यु ः प्रियो प्रियायाः प्रिय एव मे स्यात् ।। त्यसैले म तिमीलाई प्रणाम गर्दै शरीर निहुराएर प्रसन्न पार्न चाहन्छु । तिमी मलाई पिता जस्तै पुत्रलाई, मित्र जस्तै मित्रलाई र प्रिय जस्तै प्रियालाई माया गर । गीताको यो श्लोकले प्रेमलाई पारिवारिक, मित्रता र रोमान्टिक सबै रूपमा जोड्छ । तर आजभोलिको प्रणय दिवस हेर्नुस् त संसारभरि कस्तो छ ! ? मुख्य रूपमा व्यावसायिक छ । फूल, चकलेट र उपहारको बजार । यसले क्षणिक रोमान्सलाई प्रोत्साहन दिन्छ, तर हाम्रा पूर्वीय दर्शन शास्त्रहरूले दर्शाएको जस्तो प्रेमलाई दायित्व, सम्मान, समर्पण र भक्तिसँग जोड्दैन । वेदहरूले प्रेम र विवाहलाई संस्कार मान्छन्, पुराणहरूले दिव्य प्रेम देखाउँछन् । हाम्रा चाडहरू जस्तै बसन्त पञ्चमी, होली वा शिवरात्रिमा प्रेम र उल्लास छ, तर ती आध्यात्मिक पनि छन् । सच्चा प्रेम भनेको दैनिक जीवनमा एकअर्कालाई सम्मान गर्नु, परिवार निर्माण गर्नु र भगवानप्रति भक्ति हो । प्रणय दिवस मनाउने हो भने पनि शास्त्रीय मूल्यसँग जोडेर मनाऔं । चकलेट र फूलसँगै वेद मन्त्र, उपहारसँगै समर्पण । हरेक दिन प्रेम मनाऔं, किनकि शास्त्रहरु भन्छन्, प्रेम नै जीवनको सार हो, तर त्यो अधार्मिक नहोस्, धर्मबाट विचलित नहोस् । हाम्रा वेद–पुराणहरुले त प्रेमलाई सृष्टिको मूल शक्ति नै मानेका छन् । कामदेवदेखि राधा–कृष्णसम्म, विवाह सूक्तदेखि भक्तिसम्म प्रेम सर्वत्र छ । प्रणय दिवस यो कुनै नयाँ संस्कृति होइन । तर यसलाई प्रकट गर्ने तरिकाहरू वासनायुक्त भए । यो दिनलाई वैदिक सनातन दृष्टिकोणबाट हेर्दा सच्चा प्रेम, सम्मान र भक्तिको स्मरणमा बदल्न सकिन्छ । वेदका श्लोकहरू पढौं, पुराणका कथा सुनौं र प्रेमलाई दिव्य बनाऔं । प्रेम हरेक दिन मनाऔं, हरेक पलमा । यसको लागि कुनै दिन समय र पल कुर्नु पर्दैन । प्रेम समर्पण र भक्तिले हाम्रा शास्त्रहरूको गहिराइसम्म, परिवार र समाजलाई एकताको डोरीमा बाँध्दछ । सच्चा प्रणय दिवस भनेको हृदयको शुद्ध प्रेम हो । सबैको जयहोस् ।
