बङ्गलादेशमा जेनजी दल बढारियो त्यसैले नेपालमा पनि बढारिन्छ भन्नुअघि दुईतीन कुरामा ध्यान दिनुपर्ला ! – जेनजी दल बढारिएको होइन, जम्मा ३० वटा सीटमा लडेर ६ सीट जितेको हो ! बढारिने भनेको पहिले नै भएको कुरो हो । यो दल नयाँ हो । नेपालमा जेनजी दल छैन । – त्यहाँ चुनावमात्रै होइन, जनमतसङ्ग्रह पनि भएको थियो । त्यो जुलाई विद्रोहको म्यान्डेट (नेशनल चार्टर) अत्यधिक मतले पारित भयो । यो विद्रोहको नैतिक विजय रह्यो । – सरकार कसको बन्छ भन्ने कुरोभन्दा पनि राज्यको संरचनात्मक सुधार मुख्य कुरो हो । दीर्घकालीन हो ! आजीवन प्रधानमन्त्री बन्ने स्थिति रहेको बङ्गलादेशमा अब जम्मा दुई कार्यकाल प्रम बन्न पाइने, संसद् द्विसदनात्मक हुने, न्यायपालिका स्वतन्त्र हुने एवं महिला तथा युवाको बलियो प्रतिनिधित्व हुनेलगायतका सुधारको प्रस्ताव पारित भएको छ ! यसले लोकतन्त्र बलियो बन्न सक्छ । – दल खोल्नका लागि आन्दोलन भएको थिएन । आन्दोलनमा सामेल हुने सबै दलमा सामेल भएनन् । परमानेन्ट जस्तो देखिएको सरकार गयो । सुधार एकदिनमैं र एकैपल्टमा हुने कुरो होइन । – त्यहाँ विद्रोहका बेला सत्तामा रहेको दललाई चुनाब लड्न दिइएको थिएन । जम्मा दुई ठूला दल रहेको देशमा एउटा दल चुनाव नै नलडेपछि त्यसका भोटरले ’नयाँ दल’लाई दुश्मन मानेर अर्को दललाई भोट दिए । हामीकहाँ निषेध र बन्देज छैन । यहि सकारात्मक कुरा हो । – जेनजी दल (जेनजी नै भने होइन) ले प्रत्यक्षमा ६ सीट जितेको हो । ३०० सीटमध्ये जम्मा ३० सीटमा उम्मेदवारी थियो । हाम्रोजस्तो समानुपातिक व्यवस्था पनि भएको भए देशभरिबाट धेरैथोरै मत आउने थियो र यो सङ्ख्या उल्लेख्य रूपले बढ़ी हुने थियो । नेपालमा समानुपातिक व्यवस्था छ । – जेनजी दल ’दल’ बन्नै भ्याएको थिएन । उसले बङ्गाली स्वतन्त्रताको विपक्षमा लडेको र कट्टर इश्लामवादी दल जमाते इश्लामीसँग गठबन्धन गरेकाले धेरै युवा रूष्ट भए । तस्निम जाराजस्ता लोकप्रिय अनुहारले पार्टी छोडेर स्वतन्त्र लड़े । त्यो दलले आम युवाको मनोभावना बुझ्न र त्यसै अनुरूप कदम चाल्न सकेन । – सामाजिक सञ्जालमा लोकप्रिय हुँदैमा नजितिने तर्क पनि सही होइन । अहिले चुनाब जितेका बीएनपी अध्यक्ष तारिक रहमान सामाजिक सञ्जालमा अत्यधिक चर्चा र लोकप्रिय अनुहार हुन् । राजनैतिक व्यक्तित्वमध्ये कन्टेन्ट क्रिएशनमा उनी विश्वकै टप १०० भित्र पर्ने रहेछन् । डोनाल्ड ट्रम्पभन्दा पनि बढ़ी चर्चा र कन्टेन्ट उनीमाथि बनेको रहेछ । उनका फलोअर्स प्रायः राजनैतिक प्राणी हुन् र अहिलेको विजयलाई उनको सामाजिक सञ्जालको लोकप्रियताले पनि धेरै ठूलो मद्दत गरेको देखिन्छ । – बङ्गलादेशमा सेनाको भूमिका पनि निर्णायक छ ! अहिले जित्ने दलको लिगेसी सैन्य शक्ति नै हो । प्रधानमन्त्री बन्न लागेका तारिकका बुबा सैन्य कमाण्डर हुन् र सैनिक कू गरेर सत्तामा आएका हुन् । देशका संस्थापक राष्ट्रपति र उनको लगभग सिङ्गो परिवारको हत्या गरेर सत्ता कब्जा गर्ने सेनाका एक कमाण्डर हुन् उनका बुबा । त्यहाँ लोकतन्त्र हाम्रोजस्तो बलियो छैन । – बङ्गलादेशमा विद्रोहको मुद्दा लगभग स्थापित हुने देखियो । किनकि त्यहाँ विद्रोहपछि संवैधानिक सुधारका लागि एउटा लिखित बड़ापत्र तैयार भयो र त्यसलाई जनमत सङ्ग्रहमा लगियो । सरकार बनाउन मात्रै नयाँ चुनाब भएन । चुनाबसँगै संविधान फेर्ने कुरो भयो । नेपालमा त्यस्तो केही भएन । न केही लिखित सहमति भयो, न जेनजीका मुद्दामाथि जनमत सङ्ग्रह ! अब बन्ने सरकारसँग दुई तिहाई बहुमत नहुने भएकाले संवैधानिक सुधार सम्भव देखिन्न । हाम्रो विद्रोह चुनाब अघि सार्ने र नयाँ सरकार बनाउनेमा सीमित रह्यो । ठूलो मानवीय र भौतिक क्षतिका तुलनामा उपलब्धि सानो देखियो । निष्कर्षमा बङ्गलादेशमा जेनजी दलले नजितेको पक्का हो तर बढारिएको होइन ! जेनजी मुद्दा हारेको होइन, जितेको छ । नयाँ दल झन् बढ़ी कट्टर र धार्मिक अतिवादतिर गएको देखिएपछि मुद्दालाई कार्यान्वयन गर्नका लागि यसपल्ट अनुभवी र पुरानो दललाई नै जनताले पत्याएको सही हो तर सञ्जालमा लोकप्रियहरूले हारेको भन्ने पनि सत्य होइन, जित्ने दलका नेताको फेसबुक फलोअर्स साठी लाखभन्दा बढ़ी छ ! लोकप्रियताले मात्रै चुनाब जितिन्न तर जो लोकप्रिय छ, उसले जित्ने सम्भावना सधैँ बढ़ी हुन्छ ! काम गर्ने नगर्ने भन्नेचाहिँ लोकप्रियताभन्दा भिजन, अनुभव र नेतृत्व क्षमताले निर्धारण गर्छ !
