IMG-LOGO

श्रीस्वस्थानी व्रतकथा–युगसापेक्ष पूनर्लेखनको आवश्यकता

 मंगल, माघ २८, २०८२  – सत्यजीत

        श्रीस्वस्थानी व्रतकथा नेपाली समाजमा गहिरो धार्मिक र सांस्कृतिक प्रभाव राख्ने धार्मिक ग्रन्थ मध्ये एक हो । तर, आजको प्रगतिशील युगमा यसको आलोचनात्मक विश्लेषण आवश्यक छ, विशेषतः यसले महिलामाथि थोपरिएका सामाजिक, धार्मिक र सांस्कृतिक दबाबलाई कसरी वैधता दिन्छ भन्ने सन्दर्भमा । सामाजिक न्याय, लैंगिक समानता, र महिलाको स्वतन्त्रताको दृष्टिले यस कथाको गहन पुनर्विचार गर्नु अपरिहार्य भैसकेको छ ।         यस व्रतकथाले महिलालाई पतिव्रता धर्म, त्याग, समर्पण र पतिसुखका लागि कठोर व्रत बस्न प्रेरित गर्छ । यसले पितृसत्तात्मक संरचना अन्तर्गत महिलालाई अधीनस्थ बनाउने धार्मिक, मनोवैज्ञानिक र सांस्कृतिक औजारका रूपमा काम गरेको छ। महिलाको स्वतन्त्रता र स्वायत्ततालाई धर्म र परम्पराको नाममा नियन्त्रण गरिएको छ, जसले महिलामाथि अन्यायपूर्ण दबाब सिर्जना गर्दछ ।         कथामा महिलाले आफ्नो शरीर र स्वास्थ्यको पर्वाह नगरी पतिका लागि व्रत बस्नुपर्ने बाध्यताको प्रसंगहरू उल्लेख छन् । यस्ता परम्पराहरूले महिलाको शरीरमाथि उनीहरूको अधिकारलाई चुनौती दिन्छन् । र उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छन् । महिलाले आफ्ना निर्णयहरू स्वेच्छिक रूपमा लिन पाउने अधिकार हुनु आवश्यक छ, चाहे त्यो व्रत बस्ने होस् वा नबस्ने ।         व्रत बस्ने कर्तव्य महिलामाथि मात्र किन ? पुरुषहरूलाई किन त्यस्ता धार्मिक कर्तव्यबाट मुक्त राखिएको छ ? यो स्पष्ट लैंगिक भेदभाव हो । जनशास्त्रीय दृष्टिकोणले पुरुष र महिलाबीच समान जिम्मेवारी र अधिकारको माग गर्छ। धर्म र परम्परामा पुरुष(महिला दुवैको बराबरी सहभागिता हुनुपर्छ ।         समाजमा धार्मिक र सांस्कृतिक परम्पराहरूलाई समय सापेक्ष, न्यायसंगत र लैंगिक समानतायुक्त बनाउन पुनःव्याख्या वा पूनर्लेखन आवश्यक छ । कथामा महिलाहरूलाई सशक्त, स्वतन्त्र निर्णयकर्ता पात्रको रूपमा प्रस्तुत गर्नाले मात्र समाजमा समानता र स्वतन्त्रता सुनिश्चित गर्न सकिन्छ ।         यस व्रतकथाले महिलालाई आफूलाई त्यागेर पतिको लागि बाँच्न सिकाउँछ, जसले आत्मसम्मान र स्वाधीनताको भावना दबाउँछ । आजको युगमा महिलाहरूलाई आत्मनिर्भर, आत्मसम्मानी र स्वतन्त्र रूपमा समाजमा योगदान गर्न प्रेरित गर्ने कथाहरू आवश्यक छन् । महिलाले चाहेमा व्रत बस्न सक्छन्, तर त्यो डर, दबाब, धर्म वा परम्पराको कारण होइन, स्वतन्त्र इच्छाबाट हुनुपर्छ ।         व्रतकथामा देखिएको लैंगिक असमानता, महिलामाथि थोपरिएको समर्पण र त्यागको संस्कारको उचित आलोचना नगरी सभ्य र समतामूलक समाज निर्माण सम्भव छैन । महिलालाई स्वतन्त्र, स्वाभिमानी र आत्मनिर्भर बनाउनुपर्ने र परम्परागत कथाहरूमा सुधार गरी समानता र न्यायको सन्देश दिनुपर्ने आवश्यकता छ ।         महिलामाथि पुरुषको दासत्व र उनीहरूको शरीरमाथि पुरुषको एकाधिकारलाई वैधता दिने यस्ता कथाहरूको सट्टा, मानव सभ्यता र स्वतन्त्रताप्रेमी महिलाहरूको संघर्ष र सफलताका कथाहरू समाजमा अगुवाइ गर्नुपर्छ । काल्पनिक र समाजलाई अवरुद्ध बनाउने कथाहरूको सट्टा आधुनिक र प्रगतिशील साहित्य अध्ययनमा ध्यान दिनु आवश्यक छ । यिनले समाजलाई सकारात्मक दिशा र गन्तव्य पहिल्याउन मद्दत गर्छ ।         श्रीस्वस्थानी व्रतकथाको युगसापेक्ष पुनव्र्याख्या र सुधार आवश्यक छ । परम्परागत धार्मिक ग्रन्थलाई समालोचनात्मक दृष्टिले विश्लेषण गरी लैंगिक समानता, स्वतन्त्रता, र सामाजिक न्यायलाई समेट्ने ढंगले प्रस्तुत गर्नुपर्छ । यसो गर्दा मात्रै समाज समावेशी, न्यायसंगत र समानतामूलक बन्न सक्छ । महिलाको स्वायत्तता, आत्मसम्मान, र स्वतन्त्रतालाई केन्द्रमा राख्दै यस्ता धार्मिक परम्पराहरूमा आवश्यक सुधार र परिमार्जन र खारेजीसम्म नपुगी महिलाहरुप्रति न्याय गर्न सकिदैन ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्