IMG-LOGO

बालेन कसरी परिवर्तनका सिम्बोलिक भए ?

 मंगल, माघ २८, २०८२  – संजय घिमिरे

        बालेन साह कसरी भए परिवर्तनका सिम्बोल, प्रधानमन्त्रीका धुन्धान लायक कसरी भए ? एकछिन समय निकालेर सोच्नुस त ? खासमा बालेनका गुण के हुन्, थाहा नपाउने म मात्र हुँ कि अरु पनि, म भन्न सक्दिनँ । के बालेन धुन्धानका विद्वान हुन् ? होइन । के बालेन धुन्धानका आविष्कारक हुन् ?    होइन । के बालेनमा असाध्यै ठूलो वक्तृत्वकला छ, जसले एक निमेषमा लाखौँ जनालाई मन्त्रमुग्ध बनाउँछ र सिर्जनात्मक काममा लगाउँछ ?    यो पनि होइन । के बालेन आफ्ना पेसाका धुरन्धर हुन् ?    होइन । मैले जानेसम्म त उनी ठिकठाकै औसत इन्जिनियर हुन् । के बालेन देशदुनियाँका एक सफल व्यापारी हुन् ?    यो पनि होइन । के बालेन देशदुनियाँको राजनीति, कूटनीति र अर्थनीतिक विज्ञ हुन् ?    यो पनि होइन । के बालेन, कतै केही लेखेर, बोलेर र काम गरेर वाह भनिएका प्रमाणित पात्र हुन् ?    यो पनि होइन । के बालेन कुनै सिद्धान्त वा दर्शनका प्रतिपादक वा व्याख्याता हुन् ? यो त हुँदै होइन । के बालेनमा देश बनाउने ठोस प्रकट भिजन छ ?    अहिलेसम्म प्रकट छैन । के बालेनले नेपाली समाज र गाउँलाई बुझेका छन् ?    केको बुझ्नु बल्ल त स्याँस्याँ गर्दै पाथीभरा उक्लेका छन्, बल्ल त झापा झरेका छन्, बल्ल त बाटामा खीर खाँदै दैलेख र अछाम देखेर फर्केका छन्– एउटा ‘एडभेन्चर’ पूरा गरेर । भरखर गाउँतिर ‘एडभेन्चर’ गर्दै गरेका बालेनले गाउँ कहिले बुझ्ने? गाउँलेको मनोविज्ञान कहिले बुझ्ने ? समाज कहिले बुझ्न े? समाजको मनोविज्ञान कहिले बुझ्ने र तिनका लागि योजना बनाउने? नेपाल गाउँहरूको देश हो, जसले गाउँ बुझेको छैन, उसले नेपाल बुझ्दैन । नेपाल नबुझेको मान्छेले नेपाल बनाउँछ कसरी ? हिजोआज कतिपयमा एउटा भ्रम छ– ‘मान्ठा’ र ‘सुइना’ शब्द जान्दा कर्णाली जानियो । ‘बड्डा’ र ‘ढोग दियाँ’ शब्द जान्दा सुदूरपश्चिम जानियो। कठै ! लौ मानेँ, बालेन गाउँ बुझ्दैछन्। के उसो भए बालेनसँग राजनीतिक चेत र संघर्षको लामो अनुभव छ ?     अहँ, यो पनि छैन । के बालेन ठूला गुरु वा पण्डित हुन् ?     यो पनि होइन । के बालेनमा लोभलाग्दो पूर्वीय अनुशासन, व्यावहारिक र शिष्टाचार छ, जो हाम्रा बच्चाहरूलाई यस्तो पो हुनुपर्छ भनेर सिकाउन सकौँ ?     कठै, कहाँ हुनु ! यी केही पनि नभएका बालेन उसोभए के हुन् त, जसका पछाडि भिड लाग्छ ?         अहिलेसम्म बालेन शाह सौखले औसत ¥यापर, पेसाले औसत इन्जिनियर र राजनीतिले काठमाडौँ महानगरका औसत एक मेयर हुन्, जसमा बरु कतिपय शैलीगत समस्या छन् । आजका दिनसम्म बालेन जम्माजम्मी यत्ति हुन् । यत्तिका पछाडि मान्छे दौडेको देखेर, यत्तिलाई पनि स्वर्णिम वाग्ले समेत भएको राष्ट्रिय स्वतन्त्र पार्टीले गुरु थापेको देखेर म आश्चर्यमा छु ।         यसैले आज मलाई प्रश्न गर्न मन लागेको हो– नेपाल जाँदैछ कहाँ ?  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्