IMG-LOGO

भाइरल मोह, बहस र चुनावी विश्लेषण

 मंगल, माघ २८, २०८२  – इश्वरदेव खनाल

          नेपालमां बहस धेरै हुने गर्दछ– यो मेरो व्यक्तिगत धारणा । पञ्चायत, जनआन्दोलन, गृहयुद्ध हरेक चुनाव र हरेक सरकार ढल्दा हामीले बहस ग¥यौं । बहसको कहिले खडेरी लागेन । किनकि बहस हाम्रो स्वभावमा छ । फरक यति मात्र हो, पहिला बहसको अन्त्य हुन्थ्यो । चिया सकिन्थ्यो । पसल बन्द हुन्थ्यो । मान्छे घर फर्किन्थे । अब बहस कहिल्यै सकिँदैन । यो केवल रिफ्रेस हुन्छ । लामो समयसम्म, निरर्थक बहस ।         चिया पसल अब लाइभस्ट्रीम स्टुडियो बनेको छ । सबैभन्दा ठूलो स्वर भएका काका वा मामा वा दिदीको माइक्रोफोनमा स्तरोन्नति भइसकेका छन् । फरक केवल पहुँचको हो । पहिले दस जनाले सुनेको कुरा अब दस हजारले सुन्छन्, हेर्छन्, तर बहसको गहिराई भने उही स्तरमै वा सतहीमा अड्किएको हुन्छ ।         बुझ्न के पर्छ भने सामाजिक सञ्जालले यो संस्कृतिको जन्म दिएको होइन, यसले परिपूर्ण बनाएको हो । नेपाली कति छिटो अनुकूलन गर्छन् भन्ने कुरा साँच्चै प्रशंसनीय छ । संकट पर्छ र केही मिनेटमै फेसबुक टाइमलाइन “विश्लेषण” ले भरिन्छ । सबै विश्लेषक बनिदिन्छन् । जब काठमाडौँले प्रत्यक्ष नबोल्ने, र आफैं अपडेट पोस्ट गर्ने मेयर पायो, सन्देश स्पष्ट भयो– अब शासन पनि देखिनुपर्छ । बोल्नुपर्छ । ट्रेन्ड हुनुपर्छ । बालेन शाह केवल मेयर बनेनन्, उनी अवधारणाको प्रमाण बने । क्यामेरा भएको अधिकार, प्रेस विज्ञप्तिभन्दा बलियो हुनसक्छ भन्ने कुरा प्रमाणित भयो । त्यसपछि सबैले संस्था जस्तै बोल्ने अभ्यास सुरु गरे ।         नेपालको डिजिटल ब्रह्माण्डमा गति वा स्पीड नै सबैथोक हो । ढिलो भयो भने तपाईं गलत ठहरिनुहुन्छ, चाहे तथ्य तपाईंको पक्षमा किन नहोस् । चुनाव आयो कि सबैजना रणनीतिकार बन्छन् । मोबाइल स्क्रिनमै कोरिएका रेखाचित्रहरूबाटै सिट बाँडफाँड व्याख्या गरिन्छ ।         मतगणनाको भविष्यवाणी ज्योतिषजस्तै गम्भीरतासाथ गरिन्छ । अनुमान मिलेन भने केही फरक पर्दैन । अर्को चुनाव त आइहाल्छ । कुनै नेताले आत्मविश्वासका साथ “ऐतिहासिक जनादेश” को घोषणा गर्छन् र साँझसम्म नतिजा उल्टिन्छ । देशले फेरि एउटा पाठ सिक्छ, गलत भविष्यवाणीको कुनै मूल्य हुँदैन ।         आर्थिक संकट आयो कि सबैजना अर्थशास्त्री बन्छन् । मुद्रास्फीति भ्रष्टाचार, एक मन्त्री वा एउटा विदेशी षड्यन्त्रको नाममा सजिलै व्याख्या गरिन्छ । इन्धन महँगियो भने टिप्पणीकार वा विशेषज्ञहरू निस्किहाल्छन् । रेमिट्यान्सको तथ्याङ्क आयो भने राष्ट्रवादले अचानक अंकगणित सिकिहाल्छ ।         कुनै एक अर्थमन्त्रीले टेलिभिजनमा शान्त स्वरमा “अर्थशास्त्र भावनाले चल्दैन” भन्न खोजे । इन्टरनेटले असहमति जनायो । अन्तर्राष्ट्रिय द्वन्द्व सुरु भयो कि नेपालले रातारात विश्व मामिला विज्ञ उत्पादन गर्छ । सीमा, सन्धि र युद्ध, हिजोसम्म चासो नदिएका विषय रातारात गहिरो व्यक्तिगत मुद्दा बन्छन् ।         नेपाली आत्मविश्वाससाथ पक्ष रोज्छन्, अनि अन्त्यमा भन्छन्– नेपाल त न्युट्ल नै बस्नुपर्छ ।         भिडियोहरु उत्साहपूर्वक सेयर हुन्छन् । तथ्यहरू लचिला बनाइन्छन् । भावनाहरू अडिग रहन्छन् । यसैबीच, झनै चाखलाग्दो विषय । इन्फ्युलेन्सर बन्नु देशकै सबैभन्दा प्रोफेसनल करियर विकल्प बनेको छ । जहाँ क्षमता पुरस्कृत हुँदैन र परिश्रमले स्थायित्वको ग्यारेन्टी दिँदैन, त्यहाँ एल्गोरिद्म निष्पक्ष देखिन्छ । यसलाई तपाईंको जात, थर वा पहुँचसँग मतलब हुँदैन । यसले एउटै प्रश्न सोध्छ– मान्छे रोकिन्छन् कि स्क्रोल गर्छन् ?         रोकिन चाहनुहुन्छ भने तपाईं इन्फ्लेन्स हुनुभयो । तर, कहिलेकाहीँ वास्तविकतासँग सम्बन्ध तोड्नुपर्छ । यो बेइमानी होइन, यो डिजिटल युगमा बाँच्ने कला हो ।         एक समय सावधानीपूर्वक लेख लेख्ने वा बोल्ने पत्रकार पनि अहिले थम्बनेलमा चिच्याइरहेका छन् । एक समय मौन रहने शिक्षाविद्हरू पनि प्यानलमा बोल्न थालेका छन्, आत्मविश्वासका साथ । प्रणालीले सबैलाई एउटै कुरा सिकाउँछ–अनुकूलन गर, नत्र भिडमा हराउँछौ । यसरी विश्लेषक र इन्फ्ल्युन्सर अन्ततः एउटै व्यक्ति बन्छन् ।         नेपाली सार्वजनिक बहसको सबैभन्दा शक्तिशाली वाक्य अहिले यही हो– “यो त मेरो व्यक्तिगत विचार हो ।” यसले सबै कुरा माफी दिन्छ । तथ्य बिगार्न सकिन्छ । प्रतिष्ठा भत्काउन पनि मिल्छ । अनि आपत्ति आयो भने सजिलो उत्तर तयार हुन्छ, विचार मात्र त हो । विचारहरू, देखिन्छ, जिम्मेवारीभन्दा माथि तैरिन्छन् ।         राजनीतिज्ञहरूले पनि खेल बुझिसकेका छन् । शासन अब नीति होइन, प्रदर्शन हो । भाषण क्लिक भयो भने सफल । मौनता रणनीति हो, आक्रोश छनोट । कुनै नेता अपमानजनक कुरा भन्छन् र पछि “गलत व्याख्या भयो” भन्छन् । राजनीति सामग्री बनेको छ, सामग्री राजनीति ।         नागरिकहरू सहभागीभन्दा बढी टिप्पणीकार बनेका छन् । बैठकमा किन जाने ? स्टाटस लेखे पुग्छ । कागजात किन पढ्ने ? कसैले रिसाएर सारांश बनाइदिएकै छ । लाइभ गएपछि व्यवस्थित गर्नुपरेजस्तो किन लाग्दैन ? त्यसैले, भन्न मन लाग्छ, नेपाल उदासीन छैन ।         नेपाल अत्यधिक ईन्गेज्ड छ, सबै कोणबाट । यो कोलाहलमा सबैभन्दा बढी हराएको कुरा धैर्य र गहिराइ हो । व्यवसायिक पत्रकार अझै छन् । अनुसन्धानकर्ता अझै छन् । सोचेर बोल्ने मानिस अझै छन् । तर क्यामेरामा सोच्नु कमजोरी जस्तो देखिन्छ ।         एल्गोरिद्मलाई प्राथमिक्तामा राख्नेहरुको जमात पनि त कम छैन यहाँ । त्यसैले चर्को स्वरले ज्ञानलाई जित्छ नेपालमा । भाइरलले प्रमाणलाई विस्तारै, विशेषज्ञता नै शंकास्पद बन्छ । व्यंग्य सजिलै लेखिन्छ, तर परिणाम गम्भीर हुन्छ ।         विडम्बना, सबैजना आफू फरक भएको ठान्छन् । सबैलाई लाग्छ, समस्या अरू हुन् । लेख अरूकै लागि हो । तर, वास्तवमा नेपाललाई देखावटी होइन, विचार चाहिएको छ । सही देखिनु भन्दा सही हुन खोज्ने संस्कार चाहिएको छ ।         विश्लेषकहरू बढिरहनेछन् । इन्फु्ल्यन्सरहरु फैलिरहनेछन् । टाइमलाइन भरिरहनेछन् । कतै, रिंग लाइट र कमेन्ट सेक्शनभन्दा टाढा, वास्तविक समाधान चुपचाप पर्खिरहनेछन् । सायद, मौनतामा । श्रोत ः खबर हब    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्