नास्तिकतालाई आज पनि हाम्रो समाजमा शंका, घृणा र डरको आँखाले हेरिन्छ–मानौं यो धर्म, संस्कार र नैतिकताको प्रतिपक्ष हो । तर इतिहासले देखाउँछ, नास्तिकता कुनै आधुनिक आविष्कार होइन, न त आकस्मिक विद्रोह नै हो । यो त मानव चेतनाले प्रश्न गर्न थालेको क्षणदेखि सुरु भएको बौद्धिक अभ्यास र परम्परा हो । जब मानिसले पहिलोपटक “किन ?” भनेर सोध्यो, त्यही क्षण नास्तिक चेतनाको बीउ रोपियो । पश्चिमी दर्शनमा थेल्स अफ माइलेटस (ईपू ६२४(५४७) लाई विश्वको पहिलो दार्शनिक मानिन्छ । उनले ईश्वरको कथाबाट संसार बुझ्न खोजेनन्, बरु भने–“सबै वस्तुको मूल तत्व पानी हो ।” आज त्यो निष्कर्ष वैज्ञानिक रूपमा गलत ठहरिएला, तर यसको ऐतिहासिक महत्व यही हो–थेल्सले संसारलाई दैवी इच्छाबाट होइन, प्राकृतिक कारणबाट बुझ्न खोजे । यही क्षणबाट आस्था भन्दा कारण बलियो बन्न थाल्यो । मेरो नास्तिक बन्ने यात्रा पनि यही परम्पराको सानो निरन्तरता हो । यो कुनै व्यक्तिगत घमण्डको कथा होइन, बरु समाजले सिकाएका “मान्नै नहुने सत्य”हरूसँग जीवनले देखाएका यथार्थबीचको टकराव हो । गरिबी, शोषण, असमानता, युद्ध, जातीय विभेद, महिलामाथिको हिंसा–यी सबै देख्दा एउटा गम्भीर प्रश्न निरन्तर उठिरह्यो ः यदि ईश्वर सर्वशक्तिमान र सर्वन्यायी छन् भने यति गहिरो अन्याय किन ? सुकरातले भनेका थिए–“ब्ल गलभहबmष्लभम षिभ ष्क लयत धयचतज ष्खिष्लन ।” अर्थात्, परीक्षण नगरिएको जीवन जिउन लायक हुँदैन । तर हाम्रो समाजले ठीक उल्टो शिक्षा दिन्छ–परीक्षण नगर, प्रश्न नगर, विश्वास गर । डेमोक्रिटसले हजारौँ वर्षअघि भने–संसार परमाणु र रिक्तताबाट बनेको हो । यहाँ कुनै दैवी योजना थिएन, केवल प्राकृतिक गति थियो । आधुनिक विज्ञानले यही धारालाई अझ परिष्कृत ग¥यो । डार्विनले इल तजभ इचष्नष्ल या क्उभअष्भक मा देखाए–जीवन कुनै सृष्टिकर्ताको डिजाइन होइन, प्राकृतिक छनोटको परिणाम हो । जब मैले विकासवाद, खगोलविज्ञान र न्युरोसाइन्स पढेँ, तब बुझे–मानव चेतना, नैतिकता र करुणा कुनै आत्मा वा ईश्वरको उपहार होइनन् । यी त सह–अस्तित्वका क्रममा विकसित सामाजिक गुण हुन् । स्पिनोजाले भनेझैँ, “मानिस ईश्वरलाई आफ्नै इच्छाअनुसार कल्पना गर्छ ।” यहीँबाट धर्मको मनोवैज्ञानिक चरित्र प्रष्ट हुन्छ । कार्ल माक्र्सले धर्मलाई “पीडित प्राणीको आह” भने–दुःखी समाजको औषधि होइन, पीडालाई सह्य बनाउने अफिम बताए । नित्सेले अझ कठोर रूपमा भने– “न्यम ष्क मभबम,” अर्थात् ईश्वर मरेका होइनन्, मानव चेतनाले उनीहरूको आवश्यकता पार गरिसकेको छ । इतिहास हेर्दा स्पष्ट हुन्छ–धर्म सधैँ सत्ता र शक्तिसँग उभिएको छ । जातीय विभेदलाई दैवी आदेश बनाइयो, महिलालाई पापको स्रोत ठहर गरियो, प्रश्नकर्तालाई नास्तिक भन्दै दण्डित गरियो । “ईश्वर रिसाउँछन्” भन्ने भय नै धर्मको सबैभन्दा बलियो हतियार बन्यो । नास्तिकता ईश्वरको नकार मात्र होइन, जिम्मेवारीको स्वीकृति हो । जाँ–पोल सात्र्रले भनेझैँ–“यदि ईश्वर छैनन् भने, मान्छे पूर्ण रूपमा स्वतन्त्र र पूर्ण रूपमा जिम्मेवार छ ।” यही स्वतन्त्रता डर लाग्दो पनि छ, किनकि अब दोष थोपर्ने कोही छैन । नास्तिकता केवल पश्चिमी सोचको देन हो भन्ने धारणा ऐतिहासिक रूपमा गलत छ । पूर्वीय सभ्यतामा नास्तिक र अनीश्वरवादी चिन्तन झन् पुरानो र स्पष्ट रूपमा विकसित भएको पाइन्छ । प्राचीन कालमै चार्वाक (लोकायत) दर्शनले ईश्वर, आत्मा, परलोक र कर्म(फलको सिद्धान्तलाई अस्वीकार ग¥यो । चार्वाकहरूले प्रत्यक्ष अनुभूतिलाई ज्ञानको एकमात्र आधार माने । जुन कुरा देख्न, छुन र परीक्षण गर्न सकिँदैन, त्यसलाई सत्य मान्नु मूर्खता हो–यो विचार आजको वैज्ञानिक विधिसँग प्रत्यक्ष मेल खान्छ । चार्वाक दर्शनले धर्मलाई शासक वर्गको औजार ठहर ग¥यो । यज्ञ, बलि, स्वर्ग–नर्कका कथा जनतालाई डरमा राख्ने साधन मात्र हुन् भन्ने उनीहरूको निष्कर्ष आज पनि उत्तिकै यथार्थ लाग्छ । त्यसैगरी, गौतम बुद्धले ईश्वरको प्रश्नलाई निरर्थक बनाए । उनले ईश्वरको खोज होइन, दुःखको कारण खोज्न आग्रह गरे । दुःखको कारण अज्ञान र तृष्णा हो, समाधान चेतना र करुणा हो–यो दृष्टिकोण पूर्णतः अनीश्वरवादी मानववाद हो । बुद्धको प्रतित्यसमुत्पाद सिद्धान्तले संसारलाई कारण–कार्यको नियममा बुझ्छ, दैवी इच्छामा होइन । नेपालकै सन्दर्भमा किरात दर्शन, प्रकृतिसँग सह–अस्तित्वको दर्शन हो । यहाँ ईश्वर सर्वशक्तिमान शासक होइन, प्राकृतिक सन्तुलनको प्रतीक मात्र हो । यसले देखाउँछ–पूर्वीय चेतनामा पनि ईश्वर अनिवार्य केन्द्र थिएनन् । मेरो प्रारम्भिक जीवन पनि यही संस्कारमा बित्यो । ईश्वर छन्, सबै देख्छन्, पाप–पुण्यको हिसाब राख्छन्–यी कुरा कहिल्यै प्रश्न नगरिने सत्यझैँ पढाइए । तर जब मैले देखेँ–धार्मिक नैतिकताका ठूला भाषण दिनेहरू नै अन्यायका संरक्षक बनेका छन्–तब आस्थाको धरातल चर्किन थाल्यो । यदि नैतिकता ईश्वरबाट आउँछ भने, किन धर्मका नाममा सबैभन्दा धेरै अनैतिकता हुन्छ ? यही प्रश्नले मलाई सुकरातको प्रश्न गर्ने बाटोमा उभ्यायो । म राम्रो काम स्वर्गको लोभले होइन, मानवीय संवेदनाले गर्छु । म खराब काम नर्कको डरले होइन, मानवीयता र समाजप्रतिको जिम्मेवारीले गर्दिन । कतिपय वैज्ञानिकहरु पनि धार्मिक अन्धविश्वासको शिकार भएको पाए, तर मेरो अनुभवले भन्छ–प्रमाणविहीन धर्मले विज्ञानलाई नै अपांग बनाउँछ । अन्ततः, म किन नास्तिक बने ? नास्तिकता कुनै अन्तिम सत्य होइन । यो निरन्तर प्रश्न गर्ने अवस्था हो । यसले “मलाई सबै थाहा छ” भन्दैन, बरु “म अझै खोज्दै छु” भन्छ । यही कारण नास्तिकता बन्द विश्वास होइन, खुला चेतना हो । त्यसैले नास्तिकता मेरो लागि विश्वासको अभाव होइन–साहसको उपस्थिति हो । थेल्सदेखि चार्वाकसम्म, सुकरातदेखि बुद्धसम्म, डार्विनदेखि आजसम्म चलिरहेको प्रश्न गर्ने साहस । गलतसँग असहमति जनाउने साहस । र कुनै स्वर्गको प्रतीक्षाबिना यही पृथ्वीलाई मानवीय बनाउने साहस । यही कारण म नास्तिक बने । र यही कारण, म बहसका लागि ढोका खुला राखेर उभिएको छु –आउनुहोस्, डर होइन, तर्कबाटस आस्था होइन, प्रमाणबाटस मौनताबाट होइन, महान बहसबाट अघि बढौँ ।
