नेपालमा यतिखेर चुनाव (भयो भने !) को चहलपहल छ । त्यो सँगै भोट तानातानको रस्साकसी पनि छ । विगतमा भन्दा ज्यादा यसपालि अलि बढी नै प्रचारप्रसारको फरक शैली पनि देखिन थालेको छ । यस्तैमा काठमाडौं महानगरको मेयरबाट सिधै मुलधारको राजनीतिमा हुर्रिएका बालेन्द्र शाह विशेष गरी तीन वटा कारणले यसपटक बहुचर्चित छन् ः १. हेभी वेट मानिने एमालेका अध्यक्ष केपी ओलीको क्षेत्रमा भिड्न गएर मात्र होइन उनलाई आच्छु आच्छु पारेर चर्चामा छन् । २. रास्वपाले आफ्नै सभापतिलाई भन्दा बेसी उचालेर भावी प्रधानमन्त्रीको रूपमा उनैलाई प्रस्तुत गरेकोले चर्चामा छन् । ३. सामाजिक सञ्जालमा आउने उनका सटिक टिप्पणी क्षणभरमै फैलने तरिकाले त उसै चर्चित छन् । यी बाहेक उनका चुनावी देश दौडाहा, त्यहाँ जम्मा हुने भीड, पुगेका ठाउँमा उनका प्रस्तुती आदि बेला बखत चर्चामा आइरहेका छन् । उता अरूलाई व्यापारीसँगको साँठगाँठको विषयलाई खेदो खन्ने विषय बनाउने दलकै जिम्मेवार नेता भएर व्यापारीको करोडौँ पर्ने गाडी प्रयोग गरेका कारण आलोचना खेपिरहेका उनी एक तप्काले चाहेको सार्वजनिक वहसमा आउन अस्वीकार गरेकाले मिश्रित प्रतिक्रिया पाइरहेका छन् । जे होस् एक हिसावले देश बालेनमय चाहिँ भएको छ । अन्य दलका शिर्षसथ नेताहरूलाई पनि यो थाह छ, केवल भन्न मिलेको छैन । खाँटी कार्यकर्ताले बुझेर पनि यसो भन्न भएन ! भन्न मिल्ने हामीजस्तैले हो त्यसैले भन्दैछु– हो, देश यतिखेर बालेनमय चाहिँ भएकै छ । भलै, भोलि यो माहौल कता जान्छ, यसले परिणाम के दिन्छ ... ती कुरा गौण भएका छन् । यतिन्जेलको बालेन क्रेज टाढा बसेर चुपचाप हेरिरहेको एक मुकदर्शक म आफूले देखेका उनका सकारात्मक र नकारात्मक तीन–तीन कुरा तपाईंहरूसँग शेयर गर्छु है त ! कुरा सकारात्मकबाटै थालौँ, किनकि मिडियामा नकारात्मकता धेरै फैलाएर पनि अराजकता बढेको कुरा म चाहिँ मान्छु । १. सक्रियता बालेनको सक्रियता जोशिलो छ । आवश्यकता अनुसार परेको ठाउँमा तु पुग्ने, त्यहाँको माहौल र वातावरणसँग एकैछिन भएपनि घुलिदिने स्थानीयहरूसँग लोभलाग्दो निकटता प्रकट गर्ने, स्थानीय भाषामै सके जति जाने जति अभिव्यक्ति दिने, स्थानीयलाई सरल र सहजता देखाउँदै यो मान्छे परेको खण्डमा सहजै उपलब्ध हुनसक्छ भन्ने पार्न सक्ने खुबी बालेनमा देखिएको छ । नेतालाई आसेपसेले घरेर दर्शनभेट गर्नै हम्मे पर्ने पुरानो चलन तोडेर उनले सक्रियता पूर्वक सर्वसाधारणका छेउछाउ बसेर गरेका क्रियाकलापले अरूभन्दा फरक देखाएको छ । यद्यपि चुनाव पछिको उनको रूप हेर्न बाँकी नै छ । २. भाषण शैली राष्ट्रिय राजनीतिमा होमिएपछि पहिलोपल्ट केही दिन अघि जनकपुरमा बालेनले एउटा भाषण दिए । कसैलाई सम्बोधन नगरी सोझै जनमानसलाई नमस्कार गरेर स्थानीय मैथली भाषामै दिएको त्यो करिब नौ मिनेट १० सेकेण्डको भाषणमा उनले अरू दललाई गाली गरेनन् । आफूले काठमाडौंको मेयर भएर गरेका दुई तीन्टा काम सुनाए, अवसर दिए देश बनाउँछु भने, आफू जहाँ उभिएर बोलेको हो त्यो ठाउँलाई सुधार गर्न सकिने आधारहरू बताए । माइक समाएर उभिएपछि हत्तपत्त मन्च छोड्नै नमान्ने नेताका प्रायः लामा लामा भाषण, त्यसमा पनि ९० प्रतिशत अर्काको आलोचना र खेदो खनेको मात्रै सुनेर हैरान हुने जनमानसमा भाषण सुन्ने धैर्यता नै सिद्धिदंै गएका बेला उनको त्यो भाषण एउटा सबक हुनसक्छ । न सुन्नेलाई पट्यार लाग्यो, न विपक्षीले कुरा काट्ने धेरै निहुँ पाए । बरू, काम गर्ने मान्छे धेरै बोल्दैन भन्ने मौन सन्देश ग¥यो र उनका समर्थकलाई त्यसो भन्न सजिलो पनि भयो । ३. सादापन ः भन्नेले यसलाई स्टन्ट पनि भन्लान्, तर त्यो उनको शैली बनेको छ । नेता भनेर उनी माला, खादामा सजिएर तामझाम गरिरहेका देखिँदैनन् । क्याजुअल भएरै हिडेका छन् । कतै आन्तरिक पर्यटक जस्तो भइदिएका छन् । सर्वसाधारणसँग सेल्फी खिचाइरहेका छन् । बाटोमा अपर्झट देखिएका चिजबिजसँग आत्मियता जोडिरहेका छन् । तपाईं भन्नुहोला, यो त चुनावका मुखमा जस्ले नि गर्छ । तर, अरूले गरेको कता कता के नसुहाए जस्तो, ढर्रा पारे जस्तो, असाधारण अपाच्य देखिन्छ भने उनको अलि बढी नेचुरल देखिन्छ । यसले उनको स्वभावकै प्रतिनिधित्व गरेको हो कि भन्ने धेरैलाई पार्छ । यस्तो प्रभाव पार्न सक्नुले पनि उनलाई जनताको नेताका रूपमा उभ्याउने लक्षण देखाए जस्तो भान त पर्छ । अब कुरा गरौँ, उनका नकारात्मक हर्कतका बारेमा । १. सन्काहा ः बालेन बेला बेलामा सन्किन्छन् । उनका फेसबुक स्टाटस् कहिलेकाहीँ त्यसकारण पनि धेरै विवादित र प्रतिपक्षका लागि मसला बन्छन् । धेरैजसो सार्वजनिक ठाउँमा नबोल्ने एक प्रतिक्षित नेताका सामाजिक सञ्जालका हरेक अभिव्यक्तिले विशेष अर्थ राख्छन् । बालेनले केही लेख्यो कि त समाचार बन्छ । यस्तोमा उनी कहिलेकाहीँ चिप्लिन्छन् । कहिले त लेखेको केही समयपछि मेटाउन परेका उदाहरण नै छन् । भनेपछि उनैलाई पछि रियलाइज हुन्छ कि, यो त ठिक लेखिएन ! तर, उनी जस्तो सञ्जालका सेलिब्रेटीले लेखेको केही सेकेण्डभरमा त्यो हुर्हुर्ती फैलिइसकेको हुन्छ । यसले गर्दा पोष्ट मेटाउँदैमा उनलाई लाग्ने दाग मेटाउन दिँदैन । ठूलो जनमानसमा उनीमाथि ‘सन्काहा’को छवि गढेको छ । देश चलाउँछु भनेर आएको मान्छेले सनकको भरमा राम्रै गरिदिए त हो, फेरि सनकमै लगेर देश खाल्डोमा हालिदिए भने ? ! २. एकलो ः देश दौडाहामा बालेन एक्लो देखिन्छन् । बालेन क्रेजलाई अस्त्र बनाएर भोट तान्ने दाउ उनी सम्मिलित दलको हुनसक्छ । तर, बालेन एक्लैले देश बनाउने होइन । अरू दललाई सिन्कोको भाउ नदिनेले आफ्नो दलबाट सम्भावना भएका पात्रहरू प्रस्तुत गर्न सक्नुपर्छ । मानौँ, भोली लहडले उनको दलले एक्लो बहुमत ल्यायो रे ! मन्त्रीमण्डल बन्नुपर्ला, पहिलेका असफल मन्त्रीहरू भन्दा ती बन्ने मन्त्रीहरू गतिला हुनु पर्ला ! सम्भावित नीति निर्माता यी हुन् , यिनीहरू यसकारण गतिला छन् भन्ने आधार त दिनु प¥यो नि । बालेन सरकार भनेर एक्लै कुदेर परिणाम उनकै पक्षमा आए पनि त्यसले देशको पक्षमा के दिन सक्छ भन्ने ठूलो प्रश्न चिन्ह अहिले नै खडा गरिएन भने पछि ‘मच्चियो मच्चियो थच्चियो’ मात्रै हुन्छ । बालेन बरिष्ठ नेता भएर उदाएका होइनन् । उनी रहस्यमय भएकाले बढी चासोका पात्र बनेका हुन । एक त काठमाडौंका मेयर अर्को ऊनीबारे विभिन्न मिथ्या कथनले उनलाई हेर्न देख्न सबै उत्सुक भएर पनि बालेन जहाँ जान्छन् त्यहीँ भिड हुनु हो । (लेखक ः सापकोटा, काभ्रे टाइम्सका पूर्व सह–सम्पादक हुन्, हाल उहाँ डेनमार्कको कोपनहेगनमा बस्नुहुन्छ ।)
