इतिहासले कहिलेकाहीँ अनौठो ठट्टा गर्छ । अब एक–आपसमा गाली गर्ने, भण्डाफोर गर्ने, आफ्नै नेतृत्वलाई खुइल्याउने पालो नेपाली कांग्रेसको अंशमा पर्यो । कम्युनिष्टहरूको बपौती जस्तै मानिँदै आएको यो ‘पेटेन्ट विषय’ अब कांग्रेसले आजदेखि औपचारिक दाबी ठोक्यो । मैले जाजरकोटको दहको जुनी (जुर्का–निपाने) मा उर्दूका प्रख्यात शायर वसीर बद्रको एउटा कविता सुनाएको थिएँ । प्रसङ्ग थियो—डा. बाबुराम भट्टराईको पश्चिम कमाण्ड अर्थात भेरी, कर्णाली, सेती र महाकाली क्षेत्रमा सञ्चालन गर्न लागेको भण्डाफोर अभियानबारे । त्यतिबेला डा. भट्टराई राप्ती विशेष कमाण्डका इन्चार्ज हुनुहुन्थ्यो । यदि भण्डाफोर नै गर्ने हो भने पहिला पार्टीबाट निष्कासन गर्नुपथ्र्यो, नत्र कुन नैतिक हैसियतले यस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्थ्यो र ! जनयुद्दकालमा नेतृत्व असहमति जनाउनु ‘आ बैल, मुझे मार’ भन्नु सरह हुन्थ्यो । एकातर्फ पहिलोपटक सेनाले हेलिकप्टरबाट बम खसालिरहेको थियो, अर्कातर्फ जमिनमा माओवादीहरू आफ्नै कमाण्ड नेतृत्वको उछित्तो खन्दै थिए । चार अञ्चल अर्थात् दुई ब्युरो मध्य कञ्चनपुर इन्चार्ज श्रवणबाहेक कसैले पनि खुलेर विरोध गरेनन् । भण्डाफोर गरेर अगाडि बढ्नुपर्छ भन्ने तर्क राख्नेहरूमा कमाण्ड इन्चार्ज पोष्टबहादुर बोगटी, भेक इन्चार्ज प्रकाण्ड, सेम इन्चार्ज लेखराज भट्ट, सैन्य कमाण्डर जनार्दन शर्मा ‘प्रभाकर’ लगायत यस कमाण्डका प्रमुख अगुवाहरू थिए । आज ती सबै पात्रहरू विभिन्न पार्टीहरूमा छन् । भाष्य भने अब फेरिएको छ । दुश्मनी जम कर करो, लेकिन ये गुंजाइश रहे जब कभी हम दोस्त हो जाएँ, तो शर्मिंदा न हो ं। ः वसीर बद्र
