IMG-LOGO

बुबालाई ७५ वर्षको शुभकामना अनि काभ्रे टाइम्सलाई ३० वर्षको शुभकामना

 मंगल, माघ ७, २०८२  – डा. निरञ्जन सापकोटा

  कथाको पृष्ठभुमी         काभे्र टाइम्सका प्रधान सम्पादक दाजु आरएल श्रमजिवी र मैले गत वर्ष नोभेम्वर महिनाको पहिलो एक हप्ता सँगसँगै वितायौं । स्पेन र पोर्चुगलको यो संयुक्त यात्रामा धेरै नै रमाइला कुराकानी भए । नयाँ योजना बने । विगतका तितामिठा घटनाका समिक्षा भए । प्रसँग चल्दै जाँदा रेडियो नेपालको वरिष्ठ लोक गायक मेरो बुबा मच्छेश्वर सापकोटाको पचहत्तरौं जन्मदिवसको बारेमा कुरा निस्कियो । बुवाको जन्मदिनलाई कसरी विषेश बनाउन सकिएला भनेर मन्थन गर्दै गर्दा आरएल दाइले काभे्र टाइम्स र रेडियो एविसीलाई सम्झनुभयो । मंसीर १७ गते जन्मदिनको अवसरमा बुबाको अन्तरवार्ता प्रकाशन तथा प्रसारण गर्ने योजना सहित हाम्रो एक हप्ते यात्रा सकिएको थियो ।         काभ्रे टाइम्स तीस वर्षको लक्का जवान हुँदा मेरो बुवा अनुभवले खारिएको, ज्ञानले भरिएको एक परिपक्व पचहत्तर वर्षीय नागरिक हुनुभयो । मेरो लागि बुबा र काभे्र टाइम्स दुबै असल अभिभावक हुन् । मेरो बुबाले राणा शासनको ८० दिन भोग्नुभएको छ । काभ्रे टाइम्स भने प्रजातन्त्र पुनर्वहाली पश्चात बनेको खुकुलो वातावरणमा मोफसलबाट पनि पत्रकारिता गर्न सकिन्छ भन्ने प्रमाणित गर्न लागिपरेको एउटा भरोसायोग्य पत्रिकाका रुपमा तीसवर्ष पहिले स्थापना भएको संस्था हो । एउटा व्यक्ति ७५ वर्षको हुन जति हण्डर र ठक्कर खानु पर्दछ त्यो भन्दा बढि आरोह अवरोह खेप्दै तीस वर्षको भएको छ काभ्रे टाइम्स । आफ्नै बुबाका केही कुरा         २००७ सालको मंसिर महिनाको १७ गते रयालेमा जन्मनु भएका मेरो पिताश्रीले उहाँको पिताको माया केवल ११ महिना मात्र पाउनु भएको छ । बाथ रोगबाट ग्रसित मेरो हजुरबुवा कुञ्जरमुनी सापकोटा तत्कालिन नेपाली सेनामा जागिरे रहेकै अवस्थामा वित्नुभएपछि मेरो बुबा ११ महिनाको उमेरबाट टुहुरो हुनुभएको हो । राणा शासन वहाल रहेकै बेला उहाँ जन्मनुभयो । सात साले प्रजातन्त्र स्थापना, सत्र सालको राजा महेन्द्रको कु, जनमत संग्रह, प्रजातन्त्रको पुनर्वहाली, माओवादी आतंक, ज्ञानेन्द्रको सत्ता कब्जा, ६२÷६३को अर्को आन्दोलन र त्यसले ल्याएको परिवर्तन यी सबैको साक्षि हुनुहुन्छ मेरो बुबा । उहाँ देशमा भएका सबै उलटपुलट अनुभव गर्नुभएको एक अनुभवी नागरिक हुनुहुन्छ ।         समयले कहिले सुख दियो होला, धेरै समय त दुःख नै पो दियो कि तर पनि सर्धै अविचलित र दृढ निश्चयी पात्रका रुपमा मेरो बुबाले बनाउनु भएको परिचय अनुकरणीय लाग्छ मलाई । जिवीका चलाउने उपायका रुपमा सुधार सहितको कृषीलाई पेसा बनाएर समय सापेक्ष सफल किसान उहाँको अर्को परिचय थियो । गायनलाई उहाँले पेशामा बदल्नुभएन । समाज रुपान्तरण र विकृती विरुद्ध गीतसँगीतको भुमिका रहन्छ भन्नेमा उहाँको एउटै धारण रहँदै आएको छ । समग्रमा गायक र किसानको रुपमा नै जीवनको उर्जाशिल समय व्यतित गर्नुभएको छ उहाँले । अहिले किसानी गर्न शारिरीक हिसावले सक्षम हुनुहुन्न तर गायन र सँगीतमा भने तन्नेरी जोश र जाँगर सहित लागिरहनु भएको छ ।         उहाँलाई गायकको रुपमा चिनिन्छ तर उहाँको अधिकांस उर्जावान समय समाजसेवामा वितेको हामीले देखेका थियौं । विद्यालय व्यवस्थापन समिति, बाटो निर्माण समिती, खानेपानी उपभोक्ता समिती आदिमा प्रमुख जिम्मेवारीमा रहेर उहाँले निभाउनु भएको भुमिका रयालेवासीले सायदै विर्सेलान् । त्यसबाहेक राजनीतिमा समेत थोरबहुत सक्रियता थियो उहाँको तर पछिल्लो समय भने विशुद्ध कलाकारको रुपमा आफुलाई चिनाउन चाहनुहुन्छ । नेपाली राजनीतिको कुरुप पक्षबाट आम नेपालीले भोगेको मनोदशा उहाँले पनि व्यतित गर्नुभएको छ अचेल । काभे्र टाइम्स र मच्छेश्वर सापकोटा         बुबा एउटा शिक्षित र चेतनशिल नागरिकका हिसावले काभ्रे टाइम्सको नियमित पाठक त हो नै, त्यसबाहेक प्रधान सम्पादक आरएल श्रमजिवीसँगको ब्यक्तिगत घनिष्ठताका कारण उहाँ र काभे्र टाइम्सबीच एउटा गहिरो सम्बन्ध रहेको मैले अनुभव गरेको छु । उसो त काभे्र टाइम्सको प्रायः अंकमा बुबाका बारेमा समाचार, अन्तर्वार्ता वा अन्य कुनै सामाग्री प्रकाशन भई नै रहेको हुन्छ । बुबाले आफ्ना बारेमा प्रकाशित सामाग्री भएका पत्रिकाहरु संग्रह नै गर्नुभएको छ, जस्मा काभे्र टाइम्सका अंक सबैभन्दा बढी छन् । अझ यसो भना,ैं काभे्र टाइम्स बामे सर्दादेखिको साक्षिको रुपमा मेरो बुबा सँगसँगै हिँडिरहनु भएको छ । अर्को अविस्मरणीय कुरा, बुबालाई काभ्रे टाइम्सका हरेक अंक निःशुल्क उपलब्ध गराइएको पनि धेरै वर्ष भइसक्यो । अब मेरा कुरा         मोफसलमा पत्रकारिता गर्ने जोखिम मोलेर मुलधारको पत्रिकामा राम्रै चलिरहेको जागिर छोडेर काभ्रे टाइम्स प्रकाशन गर्न शुरु गरेर तीस वर्षसम्मको यो निरन्तरता देख्नेका लागि त सामान्य लाग्ला तर आरएल श्रमजिवी दाइको त्याग र तपस्यालाई कम आँक्न सकिंदैन । जीजीविषाका लागि सपरिवार बेलायतमा बसोबास गरेर पनि पत्रिका भनेर मरिमेट्ने आरएल दाइको पत्रकारिताप्रतिको लगाव सामान्य लाग्दैन मलाई चाहिं । जीवन उहाँको सोचेभन्दा उत्कृष्ट वितिरहेको छ तर पनि बचेको समयलाई उहाँले यसरी उपयोग गरिरहनु भएको छ कि, देख्दै इस्र्या लाग्ने । काममा जाँदा आउँदा उहाँलाई मोवाइलमा सामाजिक सँजालमा झ्याम्मिेने फुर्सद पटक्कै छैन । मंगलबार पत्रिका प्रकाशनका लागि उहाँ लण्डनबाट नै सबै काम गर्नुहुन्छ, सबै निर्देशन दिनुहुन्छ ।         बिगत केही वर्षबाट म आफैंलाई पनि काभ्रे टाइम्सको वार्षिक उत्सब अंकको लागि नलेखि सुखै छैन । त्यसैको निरन्तरता हो यो छोटो आलेख पनि । काभ्रे टाइम्स प्रेसमा छापिएर बनेपा काठमाडौंमा वितरण हुनु अघि नै आरएल दाइले केही उहाँका आत्मियजनहरुलाई ह्वाट्सएपमा पिडिएफ फाइल पठाउनुहुन्छ । म पनि सोमबार नै पढ्न पाउने एउटा भाग्यमानी मध्ये पर्दछु । पत्रकारिता र साहित्यमा बामे सर्दादेखि नै यो पत्रिकाले निभाएको भुमिकाप्रति म सधैं आभारी छु । आरएल दाइसँगको घनिष्ठताका कारण उहाँ संलग्न सबै संस्थाहरु मलाई प्यारा लाग्छन् । पत्रिकाको प्रधान सम्पादक भएर होला, आरएल दाइ पत्रिका जस्तै खुला हुनुहुन्छ, मलाई उहाँको मन पर्ने पक्ष यही खुलापन हो ।         मेरो बुबाको दिर्घायु जीवनको लागि उहाँको पचहत्तरौं वर्षगाँठको अवसरमा हार्दिक मंगलमय शुभकामना यसै पत्रिका मार्फत पुनः दिन चाहन्छु । काभे्र टाइम्सले बुबाको लागि दिएको सम्मान जीवनपर्यन्त भुल्ने छैन भन्ने वाचा भो । काभे्र टाइम्सले आफुलाई अझ परिष्कृत बनाउँदै अब्बल पत्रिकाको कोटीमा उभ्याउन सफल होस्, शुभेच्छा छ । हाल ः पोर्चुगल  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्