काभ्रेटाइम्स तीसौँ वर्षमा प्रवेश गरेको छ । कुनैपनि संस्थालाई तीस वर्षसम्म निरन्तर डो¥याउनु चानचुने कुरा होइन । यस अर्थमा काभ्रेटाइम्स परिवारलाई हार्दिक बधाईं र शुभकामना छ । विगत तीन दशकमा नेपाली पत्रकारितामा अनेक आरोहअवरोह आए । साप्ताहिक पत्रिकाको ठुलो क्रेज ब्रोडसिट दैनिकहरूको आगमनले विस्थापित गरिदियो । ट्याबलोइड र म्यागजिनहरू पनि कुनै समय निकै लोकप्रिय थिए । दैनिक पत्रिका र अनलाइनको बढ्दो विकासले तिनलाई पनि अस्तित्वविहीन पारिदियो । अनलाइनको तिब्र विकास र ग्याजेट तथा इन्टरनेटमाथि आम मानिसको पहुँचले दैनिक पत्रिका तथा समग्र प्रिन्ट मिडिया नै अहिले अस्तित्व संकटको सामना गरिरहेको छ । धेरै प्रिन्ट मिडिया बन्द छन् भने चलेका पनि अति सिमित र संकुचित छन् । यो परिवेशमा राजधानीसँग जोडिएको जिल्लाको एउटा साप्ताहिक प्रिन्ट मिडिया निरन्तर चलिरहनु साच्चै प्रशंसनीय विषय हो । पत्रकारिता अस्तित्वका लागि मात्र चलाइने उद्योग भने होइन । यसले जनमतको सही उठान गर्ने र राज्य तथा नीतिनिर्मातालाई निरन्तर खबरदारी गर्ने काममा चुक्न पाउँदैन । यस अर्थमा काभ्रेटाइम्सले पनि गम्भीर आत्मसमीक्षा गर्नु जरुरी छ । यो काभ्रेको स्थानीय पत्रिका हो, अतः यसले काभ्रेलाई नै केन्द्रमा राख्नु पर्छ । प्रथम पृष्ठका मुख्य समाचारदेखि हरेक पृष्ठमा काभ्रेकै समाचार तथा सामग्री पस्कन सकेमा नै यसले पाठकको अपनत्व पाउन सक्छ । विगत एक वर्षका काभ्रेटाइम्सका अंकहरूलाई हेर्दा यो यस दिशातिर अग्रसर भएको पनि पाइन्छ । हातमा मोबाइल र इन्टरनेट हुने जोकोही मिडियाकर्मीझैँ प्रस्तुत हुनसक्ने आजको समयमा पाठक राष्ट्रिय–अन्तराष्र्टि«य घटनाक्रमसँग अपडेट भइरहेका हुन्छन् । बरु जिल्लाका कुनाकन्दराको हालखबसँग उनीहरू साक्षात्कार भइरहेका हुँदैनन् । त्यसैले यसलाई पूर्णरुपेण ‘लोकल’ बनाउन सक्नुमै यसको सफलता पनि देखिन्छ । यस वर्ष काभ्रेटाइम्समा प्रकाशित प्रथम पृष्ठका मुख्य समाचारमा १८ अंकमा काभ्रेकै मुख्य समाचार रहेका छन् भने त्यसबाहेकका अंकमा राष्ट्रिय–अन्तराष्र्टि«य विषय प्रमुख समाचार बनेका छन् । बनेपा बसपार्कको व्यवस्थापन, मालपोतमा राजस्व संकलनको गिरावट, साँगा बनेपा सडक निर्माणमा रोकावट, विद्युत प्राधिरकरणको लापरवाहीले मृत्यु, पनौती सांकृतिक महोत्सव, नगरकोट भ्रमण वर्ष, पनौती–नमोबुद्ध शान्ति पदयात्रा, कृषि औजार पाएसँगै चौँरी देउरालीका किसानको खुसी, तीन पालिकाको सभा, बजेट सक्न असारे विकास, धुलिखेल मेलाबाटै रोजगारी अवसर, ५० वर्षपछि लालपुर्जा आउँदाको हर्ष, बाढी पहिरोको बितन्डा, धुलिखेल महोत्सव, लोकगायक मच्छेश्वरको गायनको स्वर्ण वर्ष, सूर्यविनायक धुलिखेल सडक प्रगति, बनेपा–च्याम्राङवेसी बस जस्ता मुख्य समाचार काभ्रेटाइम्सका विगत एक वर्षका उत्कृष्ट समाचार हुन् । यो अभ्यासले निरन्तरता पाओस् र आगामी वर्षमा हरेक अंकमा स्थानीय खबरलाई प्रमुखताकासाथ पस्किइयोस् । यसैगरी भित्री पृष्ठमा प्रकाशित काभ्रेबाट १० हजार युवा विदेसिए, १३ पालिकाले नै ल्याए बजेट, काभ्रेमा एसइइ ८६ प्रतिशत उतीर्ण, जिल्लामा जेनजी आन्दोलनको असर जस्ता समाचार पनि मुख्य समाचार बन्न लायक थिए । जिल्लामा सधैँ मुख्य स्थान डिजर्भ गर्ने समाचार नहुन पनि सक्छ । यस्तो बेला काभ्रेटाइम्स आफैँले जिल्लाका जल्दाबल्दा सवालहरूमा सरोकारवालाहरूलाई सहभागी गराएर सार्वजनिक सुनुवाइ, अन्तरसंवाद लगायतका कार्यक्रम आयोजना गरी समाचार उत्पादन मात्र होइन जिल्लाको विकासमा सम्बन्धितहरूलाई जिम्मेवार बनाउने, भ्रष्टाचार रोक्ने, जनमत बुझ्ने, राम्रो कामका लागि दबाब सिर्जना गर्ने जस्ता कामहरू पनि गर्न सक्छ । काभ्रेटाइम्सले जनस्वास्थ्यका लागि हरेक अंकमा राम्रो स्पेस दिएको पाइन्छ । स्वास्थ्य समाचार, सम्बन्धित विज्ञहरूका अन्तरवार्ताका साथै डा. सुमन ताम्राकारका समसामयिक स्वास्थ्य लेखले पाठक लाभान्वित भएको हुनु पर्छ । ताम्राकारकै स्तम्भमा प्रकाशित मच्छे अजी नामले चिनिने एकजना सुँडेनीको कथा निकै रोचक छ । वास्तबमा स्थानीय पत्रिकाले खोजी गर्ने, चर्चा गर्ने भनेको यस्तै पात्रको हो । यस्ता पात्र स्वास्थ्य, शिक्षा, समाज, कृषि, संस्कृति, जातजाति, भाषाभाषी, विकासनिर्माण, कलाकौशल, समाजसेवा हरेक विधामा छन् । त्यस्ता पात्रका कथाहरू प्राथमिकता पर्नु पर्छ, जो समाजका लागि प्रेरणा हुन सक्छन् । काभ्रेटाइम्सका ‘स्टेटस’ र ‘अन्तिम कुनो’ जस्ता स्तम्भ तथा प्रधान सम्पादक आरएल श्रमजीवीको नेपाल–भारत सम्बन्धका अनेक आयाममा लेखिएका नियमित लेख र पत्रिकाका कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपानेले लिएका विविध क्षेत्रका व्यक्तित्वहरूका अन्तरवार्ताहरू पनि यसका पठनीय सामग्रीका रूपमा रहे । जिल्लामा पर्यटकीय विकासका लागि पनि मिडिया सहयोगी बन्न सक्छ । बेथाञ्चोक, तिमाल, धुलिखेल, पनौती, कुशादेवी, बनेपा, नाला, पलाञ्चोक, नमोबुद्ध जस्ता सम्भाव्य पर्यटन स्थल, सम्पदा स्थल, प्रकृतिलगायत विषयमा राम्रा फिचर लेखेर पर्यटन प्रबर्धनमा सघाउन सकिन्छ । किसान, पशुपालक, साना व्यवशायी, व्यापारी, विद्यार्थी, सामाजिक अभियन्ता, शिक्षक आदिका पहल, सफलताका कथा, अभियानहरूलाई सार्वजनिक गरेर प्रेरणा दिन सकिन्छ । ‘वर्षका काभ्रेली’ चयन गरी विविध क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान र प्रोत्साहन गर्ने संस्कृतिको आरम्भ गर्न पनि सकिन्छ । पठन संस्कृति, समाजसेवा, शिक्षासेवा, स्वास्थ्यसेवा, योग व्यायाम जस्ता विषयमा पनि पाठकलाई निरन्तर प्रेरित गरी विवेकशील नागरिक समाज विकास गर्न मिडियाले भूमिका खेल्न सक्नु पर्छ । साहित्य कलासम्बन्धी सामग्रीलाई अझ प्राथमिकता दिनु पर्छ । सहकारीका खबर, विद्यालयका खबर, प्रिन्सिपलका अन्तरवार्ता मात्र होइन, सहकारीबाट पैसा लिएर उन्नति गरेका सामान्य मानिसका सफलताका कथा र राम्रो पढेर सफल भएका विद्यार्थीका कथा पनि पाठकका लागि दिशानिर्देशक सामग्री बन्न सक्छन् । काभ्रेटाइम्सले साहित्यमा यस वर्ष डा. जगदीशचन्द्र रेग्मी, हरिहर खनाल, सुमी लोहनी, सबिता बिमली, भिम रावल, कमला रिसाल, निभा शाह, डा.घनश्याम परिश्रमी, देवीलाल पाण्डे, डा. नवराज लम्साल, लोकेन्द्रबहादुर चन्दलगायतका रचना प्रकाशित गरेको छ । यस्ता राष्ट्रिय व्यक्तित्वका रचना साभार गर्नुभन्दा जिल्लाका प्रतिभा, उदीयमान प्रतिभालाई स्थान दिनु अझ श्रेयश्कर हुनेछ । अन्य लेखको हकमा पनि घटना र विचार, बीबीसी नेपाली सेवा, अन्नपूर्ण पोष्ट, रातोपाटी, सेतोपाटी, लुम्बिनी सञ्चार, डीसी नेपाल, खबर हबजस्ता माध्यमबाट साभार गर्नुको साटो स्थानीय विषयका, जिल्लाका विभिन्न सवालका बारेमा लेखिएका लेख–विचारलाई महत्व दिँदा ग्रामीण पत्रकारिताको अझ राम्रो अभ्यास हुनेछ । काभ्रेटाइम्सले सोच्नैपर्ने अन्य कुरामा यसको लेआउट डिजाइन हो । मानिससँग पढ्ने समय एकदम कम छ । त्यसैले पढ्ने कुरा थोरै होस्, तुरुन्त नजर परोस् र गुदी कुरा पाठकमा जाओस् भन्ने हिसाबले सोच्नु पर्छ । यसका लागि चित्र वा कार्टुनको प्रयोग, ब्रेकर, हाइलाइट, बक्सको प्रयोग, डाइलग बक्स, फोटो क्याप्सन, लिड, भित्री पृष्ठको हाइलाइट जस्ता प्राविधिक कुरामा पनि ध्यान दिनु जरुरी छ । यसका लागि एआइको सहयोग लिन पनि सकिन्छ । कुनै कुनै अंकलाई विशेष अंकका रूपमा पालिका विशेष पनि बनाउन सकिन्छ । यसैगरी विकासनिर्माण, रोजगार, सीप, व्यवशाय, शिक्षा, सहकारी, समाजसेवा, धर्मसंस्कृति,सम्पदा, साहित्य, अर्थलगायतका विषयमा पनि विशेष अंक प्रकासित गर्न सकिन्छ । पत्रिकालाई रंगीन कलेवरमा प्रस्तुत गर्ने, अनलाइनमा लाने, साप्ताहिकबाट दैनिक बनाउने जस्ता सवाल पनि अब काभ्रेटाइम्सको योजनामा परुन् । काभ्रेटाइम्स काभ्रेलीको प्रवक्ता बनोस् । काभ्रेको ढुकढुकी बनोस् । तीसौँ वार्षिकोत्सवको फेरि पनि शुभकामना ! (लेखक प्रारम्भिक कालमा उनी काभ्रेटाइम्समा पनि आवद्ध थिए ।)
