मदन भण्डारीको पालामा कम्युनिस्ट पार्टी निरन्तर एकताबद्ध हुँदै गएको थियो । एकता प्रयास टिके पनि र फलदायी सावित भए । २०४७ सालको माले– माक्र्सवादी एकता कम्युनिष्ट इतिहासकै सबैभन्दा ठूलो र फलदायी एकता थियो । आफ्ना कतिपय सहकर्मीको विरोधका बाबजुद भण्डारले जोखिम मोलेर यो एकता गरेका थिए । एकता त ओलीले पनि माओवादीसँग गरे । २०७५ सालको एमाले–माओवादी एकता ठूलै आकार र परिणाम दिने खालको थियो । त्यही गठबन्धन र एकताको बलमा ओलीले झण्डै दुईतिहाईको कम्युनिष्ट सरकारको नेतृत्व गर्ने अवसर पाए । तर, ओली पालाको एकता मदन भण्डारीको पालाको जस्तो टिकेन । उल्टै माधवकुमार नेपाल, झलनाथ खनाल पार्टी विभाजन गर्न बाध्य भए । ओलीले प्रधानमन्त्री हुँदा दुईपटक असंवैधानिक संसद् विघटन गर्ने दुष्प्रयास नगरेको भए सायद माधव नेपाल, झलनाथ खनाल फुट्न बाध्य हुने थिएनन् । अनेक असन्तुष्टि र असहजताका बाबजुद उनीहरू एमालेमै बस्न सक्थे । ओलीले माधव–झलनाथका लागि पार्टीमा फर्किने वातावरण पनि बनाउन चाहेनन् । लामो समय पार्टीको नेतृत्व गरेका दूई पूर्वप्रधानमन्त्री र पूर्वपार्टी प्रमुख नै अर्को पार्टीमा हुनु सायद एमाले र ओलीकै लागि हितकर होइन । मदन नेतृत्वकाल एकता, सहकार्य र सहिष्णुताको थियो । ओली नेतृत्वकाल विभाजन र विग्रहले भरिएको छ । मदन भन्थे–पद होइन काम, ओलीलाई पदकै लोभ मदन भण्डारी पदलाई महत्व दिँदैनथे । आफ्नै गाउँमा आफैँ व्यवस्थापक भएर स्थापना सम्मेलन आयोजना गर्दा पनि उनी महासचिव तथा पोलिटब्युरो सदस्य भएनन् । २०४६ सालको भूमिगत चौथो महाधिवेनमा ‘नेतृत्व संकट’ को बेला उनलाई महासचिव बन्न प्रेरित गरिएको थियो । भण्डारी भन्थे, ‘हामीलाई कुर्सी चाहिएको छैन, हामी भूइँमा, गुन्द्रीमा वा पिर्कामा बसेर पनि काम गर्न सक्दछौँ । जनताको सेवा गर्नु नै कम्युनिष्टको उद्देश्य हुनुपर्दछ ।’ मदन यो आदर्शबाट च्यूत भएका र आफूलाई शासक ठान्ने कम्युनिस्ट पार्टी र नेताको पतनलाई स्वाभाविक र आवश्यक ठान्दथे । उनको भनाइ थियो कि यदि जनताको सेवा गर्न सक्दैनन् भने कम्युनिष्ट पार्टी र शासनको पनि पतन हुनुपर्दछ । भण्डारी निर्वाचित सांसद बाहेक कुनै राजकीय पदमा थिएनन् । २०४८ को आम निर्वाचनपछि संम्भावना हुँदाहुँदै पनि उनी संसदीय दलको नेता बनेनन् । ओली भने दूईपटक अध्यक्ष भइसक्दा पनि विधान संशोधन गरेर तेस्रोपटक प्रतिस्पर्धा गर्दै छन् । चारपटक प्रधानमन्त्री, पटकपटक मन्त्री, सांसद भइसके । तर, पनि ओलीमा नेतृत्वको भोक र पदको लोभ मरेको छैन । यी भिन्नताबीच आजका एमालेजनका मानक आदर्श व्यक्तित्वको होलान् ? मदन भण्डारी कि केपी शर्मा ओली ?
