मानव सभ्यताका प्रारम्भिक दिनमा ज्ञान, विज्ञान र प्रमाणको प्रकाश नफुटेका कारण मानिसले प्रत्येक प्राकृतिक घटनालाई अलौकिक शक्तिको इच्छासँग जोड्यो । यही अन्धकारबाट ‘आस्था” नामको मानसिक रोग जन्मियो–एक यस्तो भ्रम, जसले प्रश्नलाई दबाउँछ र अज्ञानी देवी–देवता, अल्लाह, पर्मेश्वर जस्ता काल्पनिक शक्तिलाई दोष थोपर्छ । आस्थाले अज्ञानतालाई ज्ञानको नाममा पवित्र बनाइदिन्छ । यो डर, त्रास र अनिश्चितताबाट निर्मित मानसिक कवच हो, जहाँ तथ्यभन्दा कल्पनालाई प्रमाण मानिन्छ, र प्रमाणको खोजलाई अपराध ठानिन्छ । आस्था विज्ञान, तर्क, अनुसन्धान र छानबिनको कट्टर शत्रु हो । पादरी, मुल्लाह, भिक्षु, राजा, सामन्त र पुँजीपतिहरूले यही आस्थाको नाममा जनतालाई दास बनाउँदै आएका छन् । विपत्तिलाई ‘भगवानको इच्छा” भन्ने कुतर्कले मानिसलाई वैज्ञानिक कारण खोज्नै बन्द ग¥यो । रोगहरूलाई देव–दोषसँग जोडेर उपचारका ढोका बन्द गरियो । धामीझाँक्री, झारफूक, भूतप्रेत, तान्त्रिक, ज्योतिषजस्ता अन्धविश्वासी बर्बादीलाई ‘पवित्र ज्ञान’ भनेर बेचियो । छुवाछूत, जातीय विभेद, लैङ्गिक उत्पीडन, वर्गीय अन्याय–यी सबैलाई कर्म–सिद्धान्त र पाप–पुण्यको कथाले वैधानिक बनाइदियो । आस्थाले शोषणलाई धर्मको कपडाले ढाकिदियो, विद्रोहलाई पाप बनायो, र पीडालाई पूर्वजन्मको साटो भन्दै पीडितलाई नै दोषी बनायो । आस्था कुनै शक्ति होइन–दिमागको आत्मसमर्पण हो । आस्थाले दैवी प्रकोप रोकेका कुनै ऐतिहासिक उदाहरण छैनन् । प्रार्थनाले कुनै रोग निको पारेका छैनन् । मन्त्रले कुनै बाढी, महामारी वा दुर्घटना रोक्न सकेका छैनन् । महामारी विज्ञानले नियन्त्रण गर्छ, रोग चिकित्साले हटाउँछ, भूकम्प भूविज्ञानले बुझाउँछ, सामाजिक अन्याय क्रान्तिकारी चेतनाले उखेल्छ। आस्थाले केवल भ्रम बेच्दै मानिसलाई प्रतीक्षा गराउँछस विज्ञानले समाधान दिन्छ । आस्था हावी भएको समाजमा सोचाइ मर्दै जान्छ । मानिसले प्रश्न गर्न छोड्छ, मान्न थालेपछि सोच्ने क्षमतै गुमाउँछ । तथ्यहरूको ठाउँ मिथकले लिन्छ, मिथकले समाजलाई जन्जिरले बाँधिदिन्छ । आस्थाले तर्कलाई थिच्छ, आलोचनालाई अपराध बनाउँछ, सत्यलाई दण्डित गर्छ । आस्थाले मानव मस्तिष्कलाई जिउँदै जलाइदिन्छ र विज्ञानको ढोकामा ताल्चा मार्छ । आजको वैज्ञानिक युगमा आस्था केवल अप्रासंगिक मात्र होइन –यो मानव प्रगतिको सर्वाधिक खतरनाक अवरोध हो । आस्थाले मानिसलाई सिर्जनशील होइन, दास बनाउँछ । यो स्वतन्त्र चिन्तनको हत्या हो, चेतनाको कुण्ठा हो, सत्यको घातक शत्रु हो । त्यसैले– आस्था ज्ञान होइन, अज्ञानताको रोग हो । आस्था सत्य होइन, अन्धविश्वासको कारागार हो । मानव स्वतन्त्रताको भविष्य विज्ञान, अनुसन्धान र तर्कमा छ–विश्वास, भ्रम र अन्धकारमा होइन ।
