आउनुहोस् आजको अंकमा अलिकति दर्शन जुन आधुनिक भनिएको विज्ञानले पनि पछ्याएको छ का कुरा गरौं । जसलाई हामी वेदान्त दर्शन भन्छौ । वेदान्त दर्शनमा जगतलाई तीन तहमा विभाजन गरिएको छ – स्थूल जगत (नचयकक गलष्खभचकभ), सूक्ष्म जगत (कगदतभि गलष्खभचकभ) र कारण जगत (अबगकब िगलष्खभचकभ) । यी तीनै तह ब्रह्मको अभिव्यक्ति मात्र हुन्, तर साधकको दृष्टिमा स्थूल र सूक्ष्म जगतको भेद स्पष्ट रूपमा देखिन्छ । स्थूल जगत इन्द्रियहरूले ग्रहण गर्ने अर्थात् आधुनिक भनिएको विज्ञानको भाषामा भन्दा भौतिक विश्व हो भने सूक्ष्म जगत अर्थात् अहिलेको भाषामा भन्दा अभौतिक विश्व जस्तै मन, बुद्धि, प्राण र तन्मात्राहरूको क्षेत्र हो । उपनिषदहरूले यी दुईको स्पष्ट प्रमाण दिएका छन् । पहिलो मण्डूक्य उपनिषद्मा उल्लेख गरिएको सबैभन्दा प्रत्यक्ष प्रमाणका कुरा गरौं । मण्डूक्य उपनिषदले ओङ्कारको चार पादमार्फत जगतका तीन अवस्था र तुरीयलाई व्याख्या गर्छ । पहिलो दुई पाद नै स्थूल र सूक्ष्म जगतसँग सम्बन्धित छन् ः जागरितस्थानो बहिःप्रज्ञः सप्ताङ्ग एकोनविंशतिमुखः स्थूलभुग् वैश्वानरः पहिलो पाद र स्वप्नस्थानोऽन्तःप्रज्ञः सप्ताङ्ग एकोनविंशतिमुखः प्रविविक्तभुक्तैजसो दोस्रो पाद । अर्थात्, वैश्वानर (विराट्) जाग्रत अवस्थामा स्थूल जगतको भोक्ता हो । यो बाह्य इन्द्रियहरूले ग्रहण गर्ने स्थूल पदार्थको विश्व हो – पञ्च महाभूत (आकाश, वायु, अग्नि, जल, पृथ्वी) को संयोजन । तैजस (हिरण्यगर्भ) स्वप्न अवस्थामा अन्तःकरणले निर्माण गरेको सूक्ष्म जगतको भोक्ता हो । यहाँ स्थूल शरीर निष्क्रिय हुन्छ, तर मनले आफ्नै संस्कारहरूबाट सूक्ष्म विश्व रचना गर्छ । मण्डूक्यले स्पष्ट भन्छ – जाग्रतमा देखिने स्थूल जगत र स्वप्नमा देखिने सूक्ष्म जगत दुवै मायामय र मिथ्या हुन्, वास्तविक त तुरीय ब्रह्म मात्र हो । त्यसैगरी अर्को पनि उपनिषद् तैत्तिरीय उपनिषद्मा उल्लेख भएको प्रमाण हो पञ्चकोष सिद्धान्त । तैत्तिरीय उपनिषद् (ब्रह्मानन्दवल्ली) ले मानव र जगत दुवैलाई पञ्च कोषमा विभाजित गर्छ ः अन्नाद्वै प्रजाः प्रजायन्ते । याः काश्च पृथिवीं श्रिताः । अथो अन्नेनैव जीवन्ति । अतोऽन्नं प्रजापतिः ।। ...अन्योऽन्तर आत्मा प्राणमयः... ...अन्योऽन्तर आत्मा मनोमयः... ...अन्योऽन्तर आत्मा विज्ञानमयः... ...अन्योऽन्तर आत्मा आनन्दमयः... अन्नमय कोष = स्थूल शरीर र स्थूल जगत (पञ्च महाभूतबाट बनेको) प्राणमय, मनोमय, विज्ञानमय कोष = सूक्ष्म शरीर (सूक्ष्म जगत) आनन्दमय कोष = कारण शरीर (हिरण्यगर्भको सूक्ष्मतम स्तर) संक्षेपमा भन्नुपर्दा, उपनिषद् भन्छ – स्थूल जगत अन्नमय कोषबाट व्युत्पन्न हुन्छ भने सूक्ष्म जगत प्राणमय–मनोमय–विज्ञानमय कोषहरूको क्षेत्र हो । यी सबै ब्रह्मबाटै उत्पन्न भएका हुन् ः तस्माद्वा एतस्मादात्मन आकाशः सम्भूतः । आकाशाद्वायुः । वायोरग्निः । अग्नेरापः । अद्भ्यः पृथिवी । अर्थात्, यो क्रम सूक्ष्मबाट स्थूलतर्फको सृष्टि हो – पहिले आकाश (सबैभन्दा सूक्ष्म महाभूत), अन्तमा पृथ्वी (सबैभन्दा स्थूल) । त्यसै गरी बृहदारण्यक उपनिषद् – सृष्टिको सूक्ष्म–स्थूल क्रमबृहदारण्यकमा याज्ञवल्क्य भन्छन् ः स वा एष महानज आत्मा योऽयं विज्ञानमयः प्राणेषु य अन्तर्हृदय आकाशः । तस्मिन् शेते सर्वस्य वशी सर्वस्येशानः सर्वस्याधिपतिः ।। अर्थात्, यो विज्ञानमय आत्मा (सूक्ष्म शरीरको अधिष्ठाता) हिरण्यगर्भ हो, जसले सूक्ष्म जगतको सृष्टि गर्छ । त्यसपछि मात्र स्थूल जगत प्रकट हुन्छ । अर्को ठाउँमा मैत्रेयी–याज्ञवल्क्य संवादमा भनिएको छ कि मृत्युपछि स्थूल शरीर नष्ट हुन्छ, तर सूक्ष्म शरीर (मन–बुद्धिसहित) कर्मअनुसार अर्को स्थूल शरीर धारण गर्न जान्छ। यसैले सूक्ष्म जगत स्थूलभन्दा स्थायी र कारणरूप हुन्छ । छान्दोग्य उपनिषद् – सूक्ष्म तन्मात्राबाट स्थूलको उत्पत्तिछान्दोग्यमा उद्दालक आरुणि श्वेतकेतुलाई भन्छन् ः तेजोऽमूलं वाग्वा उद्दालक । तेजसोऽमूलं वाग्वा आपः । अद्भ्योऽमूलं वाग्वा अन्नम् । अर्थात् अग्नि (तेज) लाई जलले, जललाई अन्न (पृथ्वी) ले उत्पन्न गर्छ – तर यो स्थूल रूप हो । वास्तवमा यी तीनै सूक्ष्म तत्वहरू (तेज, आप्, अन्न) बाट स्थूल विश्व बन्छ । यो सांख्य–वेदान्तको तन्मात्रा सिद्धान्तसँग ठ्याक्कै मेल खान्छ । अन्तमा के भन्न सकिन्छ भने, सबै उपनिषदहरूको एकस्वर प्रमाण छ – स्थूल जगत सूक्ष्म जगतको स्थूलीकरण मात्र हो, र सूक्ष्म जगत कारण जगतको अभिव्यक्ति हो । जाग्रतमा हामी स्थूललाई सत्य मान्छौं, तर स्वप्नमा त्यही स्थूल गायब हुन्छ र सूक्ष्मलाई सत्य ठान्छौं । सुषुप्तिमा दुवै गायब हुन्छन् । यसैले शंकराचार्यले भनेका छन् – “स्थूलं सूक्ष्मात्, सूक्ष्मं कारणात् मिथ्या” । वास्तविक तत्त्व तुरीय ब्रह्म हो जसमा स्थूल–सूक्ष्म दुवैको लय हुन्छ । जसले यो भेद र अभेद बुझ्छ, ऊ जीवन्नै मुक्त हुन्छ । सबैको जय होस् ।
