मानव सभ्यताको विकास इतिहासले देखाउँछ–मानिस जन्मदा कुनै धर्म लिएर जन्मिँदैन, न कुनै देवतामा विश्वास लिएर । धड्कने मुटु, सास चल्ने शरीर र जिज्ञासाले भरिएको बाल चेतना सहित जन्मिन्छ । तर यही बाल चेतनामा परिवार, समाज र संस्कृतिले धार्मिक भय, पाखण्ड र अदृश्य शक्ति–सम्बन्धी कथा भर्दै लग्छन् । भूत–प्रेत, पाप, ईश्वर, स्वर्ग, पुनर्जन्मजस्ता अवधारणाहरू बालकको मनोविज्ञानमा यति गहिरो राखिन्छन् कि उनी आफ्नो इच्छाले होइन, वातावरणको दबाबले ’धार्मिक“ बनाइन्छ । धर्मको अस्तित्वको आधार तथ्य होइन अज्ञानता, भय, आश्रयको खोजी र सामाजिक नियन्त्रण हुन् । इतिहासको प्रत्येक कालखण्डले देखाएको छ – धर्म त्यही समाजमा फस्टाउँछ जहाँ आधुनिक शिक्षा कमजोर छ, वैज्ञानिक चेतना अभावमा छ, र समाजको त्यो वर्ग दमन, शोषण र गरिबीबाट घेरिएको छ । विडम्बना त के छ भने, धर्मले सबैभन्दा बढी शोषण गरेका–महिला, गरिब, मजदुर, दुःखी र सामाजिक रूपमा दबिएका वर्ग नै धर्मका सबैभन्दा कट्टर अनुयायी बन्छन् । किनकि धर्मले उनीहरूलाई ’पापबाट मुक्ति“, ’मृत्युपछि स्वर्ग“, ’कष्टपछि मोक्ष“ जस्ता भ्रम बेचिदिन्छ, जुन भौतिक कठिनाइबाट भाग्ने एउटा मानसिक आश्रय हो । यही कारण धर्म र मूर्खताको सम्बन्ध परस्पर आश्रित छ । मूर्खता–रूढी, अन्धविश्वास, प्रश्नहीन विश्वास–धर्मलाई बाँचिरहने अक्सिजन हो । र धर्म–दैवी आज्ञा, भय, परलोकको फिर्ती, दण्ड–पुरस्कारको मिथक–मूर्खताले जरा गाडिरहने मल हो । एकअर्का बिना दुवै अस्तित्वहीन बन्नेछन् । यी सबैबीच एउटा आधारभूत सत्य उभिन्छ–धर्मको अन्त्य चेतनाको प्रस्फुटनसँगै हुन्छ र चेतनाको विकास विज्ञान, तर्क, अनुसन्धान र शिक्षा मार्फत सम्भव हुन्छ । सभ्य मानव बन्ने मार्ग धार्मिक भय होइन, वैज्ञानिक दृष्टि र स्वतन्त्र सोच हो । धर्म बिना मुर्खता अस्तित्व रहन सक्दैन भने मुर्खता बिना धर्मको अस्तित्व जीवित रहदैन । मुर्खताबाट नै धर्मको जन्म हुन्छ र धर्मकै कारण मुर्खता जीवित रहन्छ । मूर्खताको अन्त्यसंगै धर्मको पनि अन्त्य हुनेछ, साथसाथै धर्मको अन्त्यसँगै मूर्खता पनि समाप्त हुनेछ । संसारभरि धर्मको विशाल विस्तार मूर्खताको समर्थनमा खडा भएको थियोे । जुनदिन संसारबाट मूर्खता हट्नेछ, त्यसदिनबाट धर्मको धरातल पनि ध्वंस हुनेछ । धर्मले महिला, मजदुर, दुःखी, गरिबलाई दासता साङ्लोले बाँध्दै सबैभन्दा बढी शोषण गरेको छ । तर पनि तिनै महिला, मजदुर, दुःखी, गरिबहरू सबैभन्दा बढी धर्मलिप्त बनी धर्मको रक्षार्थ खडा भएकाछन् । धर्मको शरण लिएर पापबाट मुक्ति मिल्ने र मृत्युपछि स्वर्गमा सुन्दर सुरक्षित स्थान प्राप्त हुन्छ भन्ने उनीहरुलाई धेरै ठूलो भ्रम बेचिएकोछ । उनीहरुसँग आधुनिक शिक्षा, ज्ञान, चेतना, र विवेकको अभाव छ । जसको कारण यस्ताखाले धार्मिक कुरीति, पाखण्ड, रीतिरिवाज र अन्धविश्वासका विरुद्ध लड्नुको सट्टा त्यसलाई अङ्गाली रहेका छन् । यस प्रकारको मूर्खतापूर्ण अभ्यास पुस्तौपुस्तादेखि जारी छ । कयौं पुस्ताले जीवनभर धर्मको जाँतोमा पिसिएर कष्टकर जीवन गुजारेका छन । धार्मिक अन्धविश्वास, पाखण्ड र मूर्खताको अन्त्य नभएसम्म त्यो वर्गको मुक्ति क्षितिज पारी नै रहनेछ । मूख्य प्रश्न यो छ कि, मानिस जन्मदा पनि नास्तिक भएरै जन्मन्छ । उसलाई जन्मदैबाट घरपरिवार र समाजले धार्मिक अन्धविश्वासको मार्गमा र्डोयाउछन् । अन्जानमै बालक विस्तारै घरपरिवार र समाजले गर्दै आएको रीतिरिवाज, धर्म, संस्कृति र परंपरालाई अगाल्न बाध्य पारिन्छ । कलिलो उमेरदेखि नै उसको बालमस्तिष्कमा भूतप्रेत, ईश्वर जस्ता कुराको डर देखाईन्छ । जसको कारण बालमस्तिष्कले अन्जानमै धार्मिक अन्धविश्वास, सामाजिक रीतिरिवाज, परम्परा र रुढीगत मान्यतालाई जीवन व्यवहारमा अगाल्दै जाँदा ऊ धार्मिक बन्छ । धार्मिक अन्धविश्वास गहिरो वंशाणुगत मानसिक रोग हो । जवसम्म धार्मिक सम्प्रदायबाट माथि उठ्न सक्दैनन्, तबसम्म सभ्य मानवपनि बन्न सक्दैनन् । ईश्वरको अस्तित्व न विगतमा थियोे, न वर्तमानमा छ, न भविष्यमै भेटिनेछ । धर्म र मूर्खताको सह–निर्भरता मानव इतिहासको सबैभन्दा दुःखद तर सबैभन्दा स्पष्ट सत्य हो । जन्मदेखि नै आरोपित भय, दोषबोध, र परलोकको लोभले मानिसलाई प्रश्नविहीन समर्पणतिर धकेल्छ । यही कारण धर्म पुस्तौँदेखि शक्तिशाली अवस्थामा छ र मूर्खता–अन्धविश्वास, पाखण्ड, रीतिरिवाज र दण्ड–पुरस्कारको मिथक–समाजको गहिरो तहमा जरा गाडेर बसेको छ । मानिस जन्मजात धार्मिक होइन तर उसको चेतनामा बाल्यकालमै घुसाइने मिथ्याभयले उसलाई अन्धविश्वासी बनाइदिन्छ । जबसम्म मानिसले विज्ञान, तर्क, शिक्षा र स्वतन्त्र विचारका आधारमा जीवन नियाल्न सिक्दैन, तबसम्म ऊ पराधीन नै रहन्छ–धर्मप्रति, भयप्रति, र आत्मपीडाप्रति । धर्म मुर्दा जस्तै स्थिर संरचना होस विज्ञान जीवित जस्तै निरन्तर बदलिंदै, जाँचिंदै र सुदारिँदै जाने प्रक्रिया हो । मुक्तिको मार्ग त्यसैले स्पष्ट छ–मूर्खताको अन्त्य, अन्धविश्वासको त्याग, र विवेकशील चेतनाको विकास । राष्ट्रिय, सामाजिक र व्यक्तिगत प्रगतिका लागि मनुष्यले साहसपूर्वक घोषण गर्नैपर्छ– ’ईश्वर छैन । मुक्ति केवल ज्ञान, तर्क र चेतनामा छ ।“ यो स्वीकृति नै मानव सभ्यताको सचेत, वैज्ञानिक र स्वतन्त्र भविष्यतिरको पहिलो कदम हो । धार्मिक अन्धविश्वास, आज्ञनाता, मूर्खता र पाखण्डलाई परित्याग गरौं, चेतनशील, सभ्य र तर्कशील बनौं ।
