भर्खरै मात्र हामीले बडा दशैंलाई बिदा गर्यौ । मान्यताअनुसार पुरुषोत्तम भगवान रामले लंकामाथि विजय गरेर फर्किएपछिको दिनलाई विजयादशमीको रुपमा मनाउने गरिन्छ । यसै प्रसङ्गमा एउटा सम्पदा जसलाई रामसेतु, अर्थात् ‘एडम्स ब्रिज’ पनि भनिन्छ, भारतको दक्षिण–पूर्वी तटमा अवस्थित रामेश्वरम टापुबाट श्रीलंकाको मन्नार टापुसम्म फैलिएको प्राकृतिक संरचना जुन एक अद्वितीय श्रृंखला पनि हो, आजको यो आलेखमा यही विषयमा सानो चर्चा गर्न खोजिएको छ । करिब ४८ किलोमिटर लामो यो संरचनाले एकातिर पाल्क स्ट्रेट र अर्कोतिर मन्नारको खाडीलाई छुट्याउँछ । हिन्दू धर्मशास्त्रका लागि यो केवल एक भौगोलिक संरचना होइन, अपितु भगवान् रामले रावणको लंकामा विजय प्राप्त गर्नका लागि आफ्नो वानर सेनाको सहयोगमा निर्माण गरेको पवित्र सेतु हो । यसको वर्णन वाल्मीकि रामायणमा प्रमुख रूपमा पाइन्छ भने स्कन्द पुराण, अग्नि पुराण, र महाभारत जस्ता अन्य ग्रन्थहरूमा पनि यसको महिमा र महत्वको उल्लेख छ । यो आलेखमा वैज्ञानिक अनुसन्धानका निष्कर्षहरूलाई समेत संयोजन गर्दै रामसेतुको बहुआयामिक चिनारीलाई विश्लेषण गर्न खोजिएको छ । यो संरचना वास्तवमा प्राचीन धार्मिक विश्वास र आधुनिक भूविज्ञानलाई जोड्ने एउटा पुल जस्तै छ । रामसेतुको सबैभन्दा विस्तृत र प्रामाणिक वर्णन वाल्मीकि रामायणको युद्धकाण्डमा पाइन्छ, जसलाई हिन्दू परम्परामा इतिहास–ग्रन्थको रूपमा सम्मान गरिन्छ । युद्धकाण्डको २२औं सर्गमा भगवान् रामले समुद्रसँग मार्ग माग्दा समुद्र देवले नल नामक वानरको नेतृत्वमा सेतु निर्माण गर्न सुझाएको वर्णन छ । यस क्रममा समुद्रले रामलाई यस्तो आश्वासन दिएका थिए ः एष वानर ः महोत्साह ः करोतु सेतुं मयि अहम् । धारयिष्यामि तं एष ः तथैव पितृवत् ।। अर्थात्, “यी महान् उत्साही वानरहरूले ममाथि (समुद्रमा) सेतु निर्माण गरुन्, म त्यसलाई पिताले जस्तै धारण गर्नेछु (सम्हाल्नेछु) । “यही सर्गमा नल र नील जस्ता कुशल वानरहरूको नेतृत्वमा ढुङ्गा, चट्टान र रूखहरू प्रयोग गरी समुद्रमा पुल बनाइएको जीवन्त चित्रण छ । रामायणबाहेक अन्य पुराणहरूमा पनि रामसेतुलाई तीर्थस्थलको रूपमा महिमा दिइएको छ । स्कन्द पुराणअन्तर्गतको ‘सेतु महात्म्य’ खण्डले यसलाई पाप नाश गर्ने र सबै प्रकारका सिद्धि प्रदान गर्ने स्थलको रूपमा वर्णन गर्छ ः रामेण सागरान्तस्थो बन्धः कृतः सदा स्मृतः । सेतुरामः समाख्यातः पापहा सर्वसिद्धिदः ।। “रामद्वारा सागरको तटमा बनाइएको यो बन्ध (पुल) सधैं स्मरणीय छ । रामसेतुको नामले प्रख्यात यो पुल पाप नाश गर्ने र सबै सिद्धि दिनेवाला छ ।’ त्यसैगरी, अग्नि पुराणले रामेश्वरमसँग जोड्दै रामसेतुको दर्शन मात्रले पनि पाप नाश हुने बताएको छ ः रामसेतुः सदा पूज्यः पुण्यः सर्वेषु मानवः । दर्शनात् कीर्तनाद् यस्य पापं नश्यति तत्क्षणात्।। “रामसेतु सधैं पूजनीय र सबै मानवका लागि पवित्र छ । जसको दर्शन वा कीर्तन मात्रले पनि पाप तत्काल नष्ट हुन्छ । “यसबाहेक, विष्णु पुराण र ब्रह्माण्ड पुराणमा पनि यसको निर्माणलाई दैवी शक्तिको प्रमाण र भक्तिको प्रतीक मानिएको छ । महाभारतको वनपर्वमा पनि सहदेवले आफ्नो तीर्थयात्राको क्रममा ‘नलसेतु’ दर्शन गरेको अप्रत्यक्ष उल्लेख पाइन्छ । यी सबै ग्रन्थ प्रमाणहरूले रामसेतुलाई केवल एक भौतिक संरचना नभएर करोडौं हिन्दूहरूको आस्था र आध्यात्मिक चेतनाको केन्द्रको रूपमा स्थापित गर्दछन् । वैज्ञानिक प्रमाण र अनुसन्धान वैज्ञानिक दृष्टिकोणले रामसेतुलाई प्राकृतिक भू–संरचना मानिन्छ । भूगर्भशास्त्रीहरूका अनुसार, यो लाखौं वर्ष पहिले भारत र श्रीलंका जोड्ने जमिनको अवशेष हो, जुन गोंडवाना महाद्वीपको विखण्डनपछि बनेको थियो। यो चूनढुङ्गाको चट्टानी भागबाट बनेको छ र समयसँगै समुद्री छाल र आँधीका कारण यसको स्वरूप परिवर्तन भएको मानिन्छ । सन् १४८० मा आएको एक शक्तिशाली आँधीले यसको धेरै भागलाई समुद्रमुनि डुबाएको ऐतिहासिक अभिलेख पाइन्छ । आधुनिक प्रविधिले पनि यस संरचनामाथि प्रकाश पारेको छ । सन् २००२ मा नासाको स्याटेलाइटले खिचेको तस्बिरले यसको अस्तित्वलाई विश्वव्यापी रूपमा चर्चामा ल्यायो, नासाले यसलाई प्राकृतिक संरचना भएको स्पष्ट गर्यो । उता हालै, २०२४ मा ‘साइंटिफिक रिपोट्र्स’ जर्नलमा प्रकाशित भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को एक अध्ययनले नासाको आइससैट–२ उपग्रहको लेजर प्रविधि प्रयोग गरी रामसेतुको पहिलो विस्तृत जलमग्न नक्सा तयार पारेको छ । यस अध्ययनले २९ किलोमिटर लामो यो सेतुको ९९.९८% भाग पानीमुनि रहेको र यसमा ११ वटा साँघुरा च्यानलहरू रहेको देखाएको छ, जसले मन्नारको खाडी र पाल्क स्ट्रेटबीच पानीको प्रवाहलाई सन्तुलनमा राख्न सहयोग गरेको छ । यसैगरी ‘जियोमरिन’ जर्नलमा प्रकाशित एक अनुसन्धानले कार्बन डेटिङ प्रविधिबाट यहाँका चट्टानहरू करिब ७,००० वर्ष पुराना भएको देखाएको छ, जुन समय रामायणको कालखण्ड (लगभग ७,००० ई.पू.) सँग ठ्याक्कै मेल खान्छ । यसले यो संरचना प्राकृतिक भए पनि यसको निर्माणमा मानवीय वा कुनै विशेष घटनाको भूमिका रहेको छ भन्ने सम्भावनालाई जीवित राखेको छ । माथि उल्लेखित गरिएको रामसेतुको पौराणिक वर्णन र वैज्ञानिक तथ्यहरूले यो प्रमाणित गर्दछ कि रामसेतु एक आध्यात्मिक प्रतीक हो जसलाई भगवान् रामको दैवी शक्तिको प्रतीक र धार्मिक आस्थाको केन्द्रको रूपमा मानिन्छ भने अर्कोतिर, विज्ञानले यसलाई लाखौं वर्ष पुरानो भूवैज्ञानिक प्रक्रियाको परिणाम मान्दछ । तर, ७,००० वर्ष पुरानो कार्बन डेटिङको नतिजाले यी दुई दृष्टिकोणबीच एक रोचक सम्बन्ध स्थापित गरेको छ । अन्ततः, रामसेतु धार्मिक विश्वास र वैज्ञानिक तथ्यबीचको एउटा अत्यन्त जीवित प्राकृतिक संरचना रहेछ । यो हाम्रो प्राचीन ज्ञान, सांस्कृतिक धरोहर र भूवैज्ञानिक इतिहासको जीवन्त प्रमाण हो । यसले हामीलाई सिकाउँछ कि विश्वास र विज्ञान सधैं एकअर्काका विरोधी हुँदैनन्, बरु एकअर्काका पूरक बनेर मानव ज्ञानको दायरालाई फराकिलो बनाउन सक्छन् । रामसेतु भौतिक रूपमा भारत र श्रीलंकालाई जोड्ने संरचना मात्र होइन, यो विगतलाई वर्तमानसँग र आस्थालाई तर्कसँग जोड्ने एक अमूल्य सम्पदा हो । सबैको जय होस् ।
